|

काठमाडौं :  गत शुक्रबार नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति  भयो। १७ वर्षदेखि पुनरावलोकन हुन नसकेको श्रम सम्झौता एक वर्षपछि कतारमा हुने विश्वकप फुटबललाई मध्यनजर गर्दै कतारले श्रम सम्झौता पुनरावलोकन नीति कानुन परिवर्तन गर्दैछ। 

कतारबाट नेपाल भ्रमणमा आएको एउटा टोलीले आगामी वर्षभित्रै सम्झौता परिमार्जन गरिसक्ने सहमति जनाएको छ। नयाँ सम्झौताको मस्यौदा बनाउन नेपाली पक्षलाई आग्रह गरेको छ। कतारसँग श्रम सम्झौता परिमार्जन भएसँगै कतार जाने नेपाली कामदारहरूले मलेशियामा जस्तै सामाजिक सुरक्षाका सुविधाहरु पाउने तथा कतार प्रहरी र सुरक्षा निकायमा नेपालीलाई रोजगारीको नयाँ बाटो खुल्ने छ।

एक वर्षपछि विश्वकप फुटबल खेलका लागि  कतारले आप्रवासी श्रमिकको हितका लागि आफ्ना श्रम तथा अध्यागमन नीति र कानुन परिवर्तन गरे पनि नेपालसँगको श्रम सम्झौता पुरानै थियो। नेपाल–कतार संयुक्त समितिको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने विषयमा सहमति भएको हो। 

कतार नेपालले पहिलो श्रम सम्झौता गरेको रोजगार गन्तव्य मुलुक हो। जहाँ  रोजगारीको शिलशिलामा करिब चार लाख नेपालीले श्रम गरिरहेका छन्। सम्झौता पुनरावलोकन भएसँगै नेपाली कामदारलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ। 

जसबाट रोजगारीको खोजीमा कतार पुगेका नेपालीले सुरक्षाको प्रत्याभुति गर्न पाउने श्रम मन्त्रालयले जनाएको छ। श्रमिकलाई दिइने सेवा सुविधालाई थप गर्ने भएको छ। मलेसियाले सुरु गरेको सामाजिक सुरक्षा सुविधा कतारले उपलब्ध गराए नेपाली कामदारले राहत पाउने छन्।  

लामो समयदेखि नेपालीलाई कतार प्रहरीमा रोजगारीको चर्चा चल्दै आएको थियो। यसअघि कतार प्रहरीमा नेपालीलाई भर्ती गर्नका लागि कतारको आन्तरिक मन्त्रालयले नेपाली दूतावासलाई पत्राचार गरेको थियो। तर,श्रम सम्झौता नभएको भन्दै  पठाएको थिएन। हाल सो सम्झौता पुनरावलोकन भएसँगै नेपाली श्रमिकले कतार प्रहरीमा रोजगारी पाउने भएका छन्। 

कतार रोजगारीमा गएका घरेलु कामदारको हिंसा, श्रम शोषण र मानवाधिकारको हनन भएको भन्दै सरकारले विसं २०७२ पछि कतारमा घरेलु कामदारलाई श्रम स्वीकृतिमा रोक लगाएको छ।  कतारले घरेलु कामदारको सुरक्षाको विषयलाई सम्बोधन गर्दै घरेलु कामदार लैजाने भएको छ।  समस्या  सम्बोधन गर्न कतार तयार देखिएकाले घरेलु कामदार कतार जाने बाटो छिट्टै खुल्ने नेपाली अधिकारीहरूले विश्वास गरेका छन्।

राजदूत नहुँदा समस्या

वैदेशिक रोजगारीको खोजीमा नेपालीहरु विश्वका विभिन्न मुलुकमा पुग्ने गरेका छन्। नेपालीको श्रम गन्तव्य मुलुकमा राजदूत नहुँदा समस्या कुटनीतिक विषयमा छलफल हुन सकेको छैन भने अर्काे तर्फ कामदारका समस्या पनि समाधान हुन सकेको छैन। 

अधिकांश नेपालीको श्रम गन्तव्य मुलुकमा यतिबेला राजदूत छैनन्। जसका कारण नीतिगत,श्रमिकका समस्या सम्बोधन हुन नसकेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। ३२ देशमा नेपाली दूतावास रहेको थियो।  जसमा हाल २३ देशमा राजदूत पद रिक्त रहेको मन्त्रालयले जनाएको छ। 

विशेषगरी नेपालीको मुख्य श्रम गन्तव्य मुलुक मलेसिया, कतार, ओमान, बहराइन, दक्षिण कोरिया, जापान, इजरायल र दक्षिण अफ्रिका हुन्। रोजगारीको खोजीमा यी देशमा रहेका नेपाली विशेषगरी समस्यामा पर्ने गरेको  वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताए।

श्रम गन्तव्य मुलुक कतार, दक्षिण अफ्रिका, बंगलादेश, जापान, मलेसिया, इजरायल, स्पेन, ओमनका राजदूतलाई ५ असोजमा फिर्ता बोलाएको थियो। त्यस्तै साउदी अरबमा पनि राजदूत नियुक्त हुन सकेको छैन। ४ महिनाअघि नै साउदीको लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुत आफ्नो कार्यकाल सकेर स्वदेश फर्किएका थिए।

जसका कारण कामदारका समस्या, अलपत्र परेकाहरूको उद्धार, रोजगारीका क्रममा ज्यान गुमाएकाको शव ल्याउन तथा बिरामी भएकाहरूको उद्धारमा  समस्या देखिएको वैदेशिक रोजगार विभागले जनाएको छ। सरकारले शुक्रबार कतारसँग पुनः श्रम सम्झौता गर्ने सहमति गरेको छ। तर, राजदूत नहुँदा श्रम सम्झौताको मिति र अन्य व्यवस्थापनमा समस्या देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.