|

झापा : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दुईतिहाइको केपी शर्मा ओलीको तत्कालीन सरकारले खेल र खेलाडीमा कुनै परिवर्तन नल्याएको आरोप लगाएका छन्।

झापाको दमकमा सोमबार आयोजित नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले भने, 'जनताले मत दिएर दुईतिहाइको सरकार बनाएका थिए। त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओली थिए। ओली सरकारले खेल र खेलाडीमा खासै परिवर्तन नल्याउँदा देशको खेल क्षेत्र फस्टाउन नसकेको हो। यसको मुख्य दोषी ओली नै हुन् प्रधानमन्त्री ओली नै हुन्।'

यस्तै, कार्यक्रममा कुर्सीमा बस्नेहरूले देशका लागि कुनै चिन्तन मनन नगरेको बरु आफूले मात्र लाभ लिने काम गरेको उनको आरोप छ।

‘हामी भन्थ्यौँ राणा र राजा शासनले देशको विकास गर्ने दिएन, राणापछि राजा शासन जनआन्दोलनबाट फालेर देशमा लोकतन्त्र र गणतन्त्र स्थापना भयो,’ मुख्‍यमन्त्री राईले भने,
‘ लोकतन्त्र र गणतन्त्र स्थापना हुँदा पनि देशमा केही परिवर्तन आएन, जो कुर्सीमा बस्यो उसले र उसको वरिपरि हुनेहरूको मात्र परिवर्तन भयो।’

खेलकुद क्षेत्रमा कुनै परिवर्तन नआउँदा खेलाडीहरूलाई विकाससँगै उन्नति र खुसी दिन सकिरहेका छैनौँ। ‘खेल क्षेत्र परिवर्तन गर्न नसकेको देशमा लोकतन्त्र र गणतन्त्रको के अर्थ छ?’ उनले प्रश्‍न गरे।

देश सङ्घीय प्रणालीमा गए पनि त्यसको अभ्यास प्रदेश सरकारले गर्न नपाइरहेको बताउँदै उनले भने, ‘अधिकार र बजेट सबै केन्द्रीय सरकारको कब्जामा छ। बजेट र अधिकारबिना प्रदेश सरकारले यहाँका जनताका लागि कसरी काम गर्ने सक्छ?’

त्यसैले खेलकुदसँगै अन्य क्षेत्रको विकासका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनुपर्ने उनले बताए। वर्तमान गठबन्धनको सरकारमा प्रधानमन्त्री बन्न पार्टी अध्यक्ष नेपाललाई धेरै आग्रह गरिएको भए पनि उनले नमानेर नैतिकताको राजनीति गर्ने पात्र बनेको उनले दाबी गरे।        

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.