|

काठमाडाैं: लामो समयदेखि सुनसान रहेको नेपाली फिल्म उद्योग बिस्तारै चलायमान हुने प्रयासमा छ। सरकारले असोजमै हल खोल्ने अनुमति दिए पनि दर्शक नआउने डरले नेपाली फिल्म प्रदर्शनमा आएनन्।

दीपावलीको अवसर पारेर प्रदर्शन भएको बलिउड फिल्म 'सूर्यवंशी'ले नेपालमा पनि उत्साहजनक प्रदर्शन गर्यो। फिल्म हलमा दर्शकको त्यो उपस्थिति देखेर नेपाली निर्मातालाई पनि सास आयो। दर्शकले बाटो भुलेका रहनेछन् भनेर ढुक्क भए। 

त्यसपछि कोरोनाले गर्दा रोकिएका फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्न थालियो। जसमध्ये 'चपली हाइट ३' पनि हो। 

२०७६ चैत २८ मा प्रदर्शन हुने भनिएको फिल्म कोरोनाका कारण रोकिएको थियो। कोरोनाका दुई लहर, दुई वटा लकडाउन पछि 'चपली हाइट ३' पुष २ गते प्रदर्शनमा आउने तयारी रहेको छ। 

हिन्दी फिल्म हेर्न गए पनि नेपाली फिल्ममा कति दर्शक आउँछन् एकिनका साथ भन्न सकिने अवस्था छैन। साथै सोही मितिमा अल्लु अर्जुनको तेलुगु फिल्म पुष्पा पनि प्रदर्शनमा आउने भएपछि चपली हाइट-३ को लागि चुनौती थपिएको छ। 

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्माता अर्जुन कुमारले सोही दिन 'पुष्पा' प्रदर्शन हुने भएमा 'चपली हाइट' को प्रदर्शन रोक्ने बताएका छन्। 
हिन्दी फिल्म तथा हिन्दीमा डब गरिएका दक्षिण भारतीय फिल्मका बारेमा आफूले दिँदै आएको प्रतिक्रियाका बारेमा पनि उनले स्पष्टिकरण दिएका छन्। साथै आफूले हिन्दी फिल्म नेपालमा ल्याउनै पाइँदैन भनेर नभनेको उनले बताएका छन्। 

उनले भनेका छन्, 'मलाई यो प्यान्डामिकमा फिल्म लगाउने कुनै रहर थिएन। करोडौँ लगानी गरेको सिनेमा, अहिलेको अवस्थामा नेपाली सिनेमा चलायमान होस् भनेर लगाउन खोजेको हो।'

चलचित्र संघ, निर्माता संघ तथा प्रदर्शकहरू सबै मिलेर आफूहरूले गर्नुपर्ने सहयोग गर्ने भन्दै फिल्म प्रदर्शन गर्न लगाएको तर अहिले उक्त सम्झौता अनुसार काम नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।  

'फिल्म लगाउँदा कमसेकम १५ दिन कुनै नेपाली फिल्म नलगाइदिनु, अनि त्यो दिन कुनै पनि हिन्दी सिनेमा ल्याएर नजुधाइदिनु भन्दा ओके भनेर हिँडेका मान्छे हुन्।' उनले भनेका छन्, 'तिनै मान्छेले आज एक डेढ लाखमा हिन्दी डब फिल्म ल्याउने अनि नेपाली फिल्मलाई घोचिरहने? टर्चर दिइरहने?' 

'पहिले उचाल्ने अहिले आएर पछार्न खोज्ने? अहिले सिनेमा जतिपनि छ भन्दैमा प्रदर्शकहरूले हामीलाई हेप्नी? नेपाली फिल्मलाई हेप्नी?' साथै यसरी ल्याइएका फिल्मका कारण नेपाली फिल्म उद्योगको अस्तित्व नै संकटमा परेको उनले जिकिर गरेका छन्।

यो प्रवृत्तिले दयनिय अवस्थामा रहेको नेपाली फिल्म उद्योगलाई पतनको बाटोमा लैजाने पनि उनले जनाएका छन्। उनले भनेका छन्, 'यदी सँधै यसरी डब फिल्म आइरहने, नेपाली फिल्मलाई टर्चर दिइरहने हो भने नेपाली सिनेमा उद्योग पनि पाकिस्तानको जस्तै कोल्याप्स हुन्छ।' 

कानुनी रुपमा त्यसरी फिल्म ल्याउन पाइने भएपनि नेपाली फिल्म उद्योग चलायमान बनाउनको लागि आफूहरूले पहिले नै लिखित सम्झौता गरेको र आपसी समझदारीमा गरेको उक्त सम्झौता कार्यान्वयन हुनुपर्छ भन्ने आफ्नो भनाइ रहेको उनले बताएका छन्। 

त्यस्तै फिल्मकी अभिनेत्री स्वस्तिमा खड्काले भने विदेशी फिल्मकाे प्रदर्शनलाई लिएर निर्माता कुमारको भन्दा फरक मत राखेकी छन्। 

'कोभिड अगाडी पनि त्यही भोग्दै आएको हो। अस्ति हिन्दी फिल्म नहुँदा चाहिँ हिन्दी फिल्म कुरेर बसिरहेका थियौँ। अहिले हिन्दी फिल्म आउँदा हामीसँग जुध्ने भयो भनेर टेन्सन लिइराछौँ।' उनले भनेकी छन, 'भोलि मैले पनि कुनै फिल्म प्रोड्युस गरेँ भने मलाई पनि त्यो इन्सिक्युरिटी भइहाल्छ। योसँग जुधिरहेको छ अब मैले लगानी उठाउन सक्छु कि सक्दिनँ भनेर।'

'तर, त्यतातिर लाग्नु भन्दा पनि अब चाहिँ नेपाली फिल्म कसरी बेटर बनाउने भन्ने तिर लाग्नुपर्छ सो त्यसकारण जुनै इन्टरनेशनल फिल्म आए पनि हामी चाहिँ त्यो भन्दा बेटर छौँ है या अडियन्सले चाहिँ हामीलाई पत्याउनुहुन्छ हामीलाई फर्स्ट प्रायोरिटीमा राख्नुहुन्छ भन्ने होस्।'

आफू शाहरुख खान, सलमान खान, अल्लु अर्जुन, अक्षय कुमारसँग भिड्न नसक्ने निर्माता कुमारले बताएका छन्। चपली हाइट प्र संकेत गर्दै उनले भनेका छन्, 'यदि त्यो फिल्म आयो भने म मेरो फिल्म नै लगाउँदिनँ। मैले मात्र होइन म सबै नेपाली मेकरलाई अहिलेको लागि नेपाली फिल्म स्थगित गरौँ भनेर अभियान नै चलाउँछु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.