|

काठमाडौं : प्रहरीले काठमाडौंका बिभिन्न मेनपावर कम्पनीका सञ्चालकहरूसँग रकम अशुली गर्ने गिरोहका दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मिलन जोशी र रवीन्द्र बस्नेत छन्। महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई मित्रपार्कबाट पक्राउ गरेको हो।

महाशाखाका अनुसार उनीहरूले पानीपोखरीमा रहेको युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई यस क्षेत्रको दादा हौं भन्दै विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तिमा प्रतिव्यक्ति २५ हजारका दरले कमिशन दिनुपर्ने भन्दै धम्क्याएको तथा हातपातसमेत गरेका थिए।

कमिशन नदिए मेनपावर चलाउन नदिने भन्दै उक्त गिरोहले हालसम्म ९० लाख २५ हजार रुपैयाँ लिएको प्रमाण समेत पेस भएको महाशाखाले जनाएको छ।

हाल लकडाउनको कारण मेनपावर चल्न नसकेको अवस्थामा पनि उनीहरूले कमिशन तथा दशैँ खर्च समेतको एकमुष्ट रकम सञ्चालक सँग माग गरी पटक पटक धम्की दिदै आएको खुलेको छ।

पछिल्लो पटक मंसिर १६ गते उनीहरूले मेनपावर कम्पनीका सञ्चालक, सञ्चालकको श्रीमती र कर्मचारीहरू समेतलाई ज्यान मार्ने धम्की दिई थप रकम नदिएको भन्दै हातपात समेत गरेको महाशाखामा उजुरी परेको थियो।

उक्त गिरोहले अन्य मेनपावर व्यवसायीहरूसँग समेत रकम असुल गरेको बारे अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.