|

बैतडी : सोमबार साँझ भएकाे जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। यस्तै छ जना घाइते भएका छन्।

पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार थलीमा करिब ६ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटना परी मृत्यु हुनेहरूमा पाटन नगरपालिका-१ सकारका १३ वर्षीय विनोद विक,७२ वर्षीया रमा भट्टराई, सुर्नया-४ का २४ वर्षीया प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेकाे इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज राजेश शाहीले जानकारी दिए।

प्रेम र मनिषा नवविवाहित दम्पती हुन्। उनीहरु घरबाट माइती फर्कदै गरेको खुलेकाे प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पाटन नगरपालिका-१ सकारकै ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दिपक भट्टराई,मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक घाइते भएका छन्।

मृतक र घाइते सबैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। जिपमा चालकसहित ११ जना सवार थिए। दुर्घटनाग्रस्त जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ।

चालक पाटन-५ बसन्तपुरका खेमराज पाण्डेय फरार रहेकाे प्रहरीले जनाएकाे छ। कच्ची चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.