झापा : जंगली हात्तीको उपद्रोले झापावासी आतंकित छन्। रैथाने जंगली हात्तीको बथानले वनजंगल आसपासका खेतीसँगै गाउँबस्तीमा जनधनको क्षति पुर्याउँदै आएको छ।
हात्तीले अन्नबालीमा गर्ने क्षतिका कारण कृषकहरू बढी चिन्तित छन्।
दशकौँ अघिदेखि जंगली हात्तीको समस्या झेल्दै आएका भारतीय सीमावर्ती नाकासँग जोडिएको साबिक बाहुनडाँगी गाविस हाल मेचीनगर नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ का कृषकहरूको आम्दानीको मुख्य स्रोत नै धान, मकै, गहुँ, कोदोलगायत अन्नबाली थियो।
तर, उनीहरू हाल ती अन्नबालीको विकल्पमा अन्य खेतीतर्फ आकर्षित बनेका छन्।
हात्तीले खेतमा लगाएको धान, मकै, कोदोलगायत अन्नबाली खाएर र कुल्चेर सखाप पारिदिने क्रम नरोकिएपछि यहाँका किसान व्यक्तिगत तथा सामूहिक रुपमा चिया, सुपारी, मरिचलगायत बाली लगाउन थालेका छन्।
गाउँमै प्रशोधन कारखानाले किसानलाई सजिलो
'हात्तीले गर्दा पाकेको अन्नबालीसमेत घर भित्र्याउन यहाँका कृषकहरू समस्या झेलिरहेका थिए,' स्थानीय कृषक हरि भट्टराईले भने, ‘गाउँमै सहकारी चिया प्रशोधन कारखाना स्थापना भएपछि यहाँका चिया किसानहरू हरियो पत्ती बिक्री गर्दा राम्रै आम्दानी पाइरहेका छन्।’
मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित शुभ चिया किसान सहकारी संस्थाले ३ वर्षदेखि हरियो चिया पत्ती प्रशोधन कारखाना स्थापना गरी यहाँका चिया कृषकलाई प्रोत्साहन गरिरहेको छ।
‘गाउँमै कारखाना हुँदा हामीलाई हरियो पत्ती बिक्री गर्न टाढा जानुपर्ने समस्या छैन,’ स्थानीय कृषक सविता पौडेलले भनिन्, ‘हात्तीले अन्नबाली खाने समस्या पनि छैन, चिया खेतीले पनि राम्रै आम्दानी दिइरहेको छ।’
'सहकारीमार्फत स्थापना भएको चिया कारखानाले चिया पत्तीको मूल्य तोकिए अनुसार दिइरहेको छ,' उनले भनिन, ‘त्यसैले यहाँका चिया कृषकहरू सन्तुष्ट छन्।’
किसानको जीवनस्तर उकास्न र कृषिमा आत्मनिर्भर बनाउन सरकार र सम्बन्धित निकायले आवश्यक समन्वय र सहयोग गर्ने हो भने कृषि पेसाबाट पनि राम्रै आम्दानी हुने किसानहरू बताउँछन्।
कृषि सहकारीहरूले पनि अझ प्रभावकारी ढंगले किसान र कृषि क्षेत्रमा आफ्नो दायित्व वहन गर्नुपर्ने स्थानीय चण्डीप्रसाद नेपालले बताए।
सहकारीमार्फत ७८ कृषक चियाखेती गर्दै
हात्तीले अन्नबाली नष्ट गर्न थालेपछि विसं २०५७ देखि सहकारी र बैंकमार्फत कर्जा लिएर यहाँका कृषकहरूले चिया खेती गर्न थालेका हुन्।
सरकारले हरियो चियापत्तीको उचित मूल्य कायम नगर्दा कृषकहरूको लगानी डुब्ने भएपछि बाध्य भएर चिया उद्योगीलाई हरियो पत्ती सस्तो मूल्यमा बेच्नु परेको शुभ चिया किसान सहकारी संस्थाका अध्यक्ष शम्सेरबहादुर खड्काले बताए।
‘एकातिर हात्तीको आतंक र अर्कातिर उचित मूल्य नपाएर पीडित बनेका चिया कृषकहरूले पटक-पटक आन्दोलन पनि गर्यौं,’ उनले भने, ‘त्यसपछि सहकारीमार्फत चिया प्रशोधन कारखाना स्थापनाका लागि सरकारले ५० प्रतिशत अनुदान दिने निर्णय गर्यो, अनि कारखाना स्थापना भयो।’
सहकारी संस्थामार्फत ७८ जना कृषकले १० कट्ठादेखि ५ बिगहासम्म जमिनमा चिया बगान लगाएर अहिले हरियो चियापत्ती बिक्री गरिरहेको उनले बताए।
धेरै मेहनत गरेर उत्पादन गरेको वस्तुले बजार र उचित मूल्य नपाउँदा यहाँका किसान निराश बनिरहेको अवस्थामा अहिले सहकारीले हरियो पत्ती खरिद गर्न थालेपछि यहाँका चिया किसानलाई सहज भएको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।