काठमाडौं : कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को डकुमेन्ट्री फिल्म '१४ पिक्स: नथिङ इज इम्पोसिबल' नेटफ्लिक्सको सबैभन्दा धेरै हेरिएको फिल्मको सूचीमा परेको छ।
गत नोभेम्बर २९ मा सार्वजनिक भएको '१४ पिक्स' साताभरिमा सबैभन्दा बढी पटक हेरिएका फिल्मको सूचीमा शीर्ष ५ भित्र परेको हो।
साथै '१४ पिक्स' लाई सिएनएन, बिबिसी, गार्डियन, एबिसी न्युज, द न्युयोर्क टाइम्स जस्ता विश्वका प्रतिष्ठित सञ्चारमाध्यमले हेर्नैपर्ने फिल्मको सूचीमा राखेका छन्।
'१४ पिक्स'लाई चर्चित मुभी रिभ्यु साइट 'रोटन टम्याटो'ले ८८ प्रतिशत रेटिङ दिएको छ भने आइएमडिबीमा यसको रेटिङ ८ दशमलव ४ छ।
'१४ पिक्स'सँगै उक्त फिल्ममा निम्स दाइले बोलेका संवादहरू यतिबेला विश्वभर चर्चित भइरहेका छन्।
फिल्ममा निम्स दाइले एक ठाउँमा भनेका छन्, 'तपाईं जहाँ भए पनि, जस्तो अवस्थामा भए पनि सपना देख्न डराउनु हुँदैन।'
'१४ पिक्स'मा निम्स दाइ र उनको समूहले गरेको हिमाल आरोहणको कथा छ।
८ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमालको कीर्तिमानी आरोहण '१४ पिक्स' मा देख्न पाइन्छ।
निम्स दाइ र उनको समूहले सन् २०१९ मा ती १४ हिमाल मात्र ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।
त्यसभन्दा पहिले ८ वर्षमा ती १४ हिमाल आरोहण गरेको कीर्तिमान थियो।
विश्वका सर्वोच्च १४ शिखर सबैभन्दा कम समयमा आरोहण गरेसँगै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा निम्स दाइका एक दर्जन कीर्तिमान छन्।
जसमा जाडोयाममा विना अक्सिजन 'किलर माउन्टेन'को नामले परिचित माउन्ट के-टू आरोहण, ४८ घण्टामा विश्वको पहिलो, चौथो र पाँचौँ अग्ला हिमाल सगरमाथा, ल्होत्से र मकालु आरोहण पनि रहेका छन्।
'१४ पिक्स'मा निम्स दाइले भनेका छन्, 'हिमालले तिमी कालो, गोरो, बलियो, कमजोर केही भन्दैन। त्यहाँ एउटा मात्रै नियम लाग्छ। हिम्मत हार्यौ, तिमी मर्यौ।' यो संवाद पनि अहिले औधी चर्चित भएको छ।
'१४ पिक्स' सार्वजनिक भएसँगै हिमाल आरोहणको कथा रहेको निम्स दाइको पुस्तक 'बियोन्ड पसिबल'को माग पनि बढेको छ।
अंग्रेजीमा रहेको उक्त पुस्तक स्पेनिस, फ्रेन्च, जर्मनलगायत विभिन्न २० भाषामा अनुवाद हुँदै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।