|

विराटनगर : साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य लगानीकर्ता भनिएका काले उर्फ कृष्णगोपाल अग्रवाल दुई लाख धरौटीमा छुटेका छन्।

मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजलाशले अग्रवाललाई मंगलबार दुई लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिए।

उनका अनुसार अदालतको आदेशपछि तोकिएको धरौटी रकम बुझाएर अग्रवाल रिहा भएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुनको लगानीकर्ता अग्रवाल रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

हराएको साढे ३३ किलो सुन खोज्ने क्रममा तस्करी प्रकरणका नाइके चुणामणि उप्रेती ‘गोरे’को समूहले यातना दिने क्रममा भरिया उर्लाबारीका शनम शाक्यको हत्यासमेत गरेको थियो।

हत्या अभियोगमा गोरेसहित ८ जनालाई कैद फैसला भएको छ। तर सुन तस्करी प्रकरणमा भने उनीहरूले उन्मुक्ती पाएका छन्। इन्टरपोलको सहयोगमा यूएइबाट नेपाल डिपोर्ट भएका उनलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो।

गोरेसहितका व्यक्तिविरुद्ध दायर भएको ‘आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दा’मा उनी प्रतिवादी थिए। पक्राउ परेका अन्य प्रतिवादीहरूले सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन्।

यो मुद्दामा ७७ जनालाई प्रतिवादी बनाएको मध्ये ५६ जनाको हकमा मात्र मोरङ अदालतले यसअघि फैसला सुनाएको छ। ५६ जना प्रतिवादी मध्ये कर्तब्य ज्यान मुद्दामा जोडिएका ८ जना प्रतिवादीलाई अदालतले दोषी ठहर गरेको छ भने ४८ जना प्रतिवादीलाई सफाइ दिएको थियो।

सफाइ पाउनेमा प्रहरीका उच्च तहका प्रहरीका अधिकारीहरू पनि थिए। जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरिर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो।

मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.