|

अमेरिकाले आफ्ना कुनै अधिकारी २०२२ मा चीनको पेकिङमा हुने शीतकालीन ओलम्पिकमा सहभागी नहुने घोषणा गरेको छ तर, उसले खेलाडीलाई खेलकुद प्रतिस्पर्धामा भाग लिन भने नरोक्ने बताएको छ।

आफ्नो देशमा हुने खेलकुद प्रतियोगिता बहिष्कार गर्नेलाई ‘प्रतिशोधात्मक’ कारबाही गर्ने चीनले चेतावनी दिएका वेला अमेरिकाले यस्तो जानकारी दिएको हो।

नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको मानवअधिकार हनन गरेको  विरोधमा खेलकुदको कूटनीतिक बहिष्कार गर्ने विचार गरिरहेको बताएका थिए।

चीनले राजधानी पेकिङमा ​सन् २०२२ फेब्रुअरी ४ देखि २० सम्म शीतकालीन ओलम्पिक भव्य रूपमा आयोजनाको तयारी गरिरहेको छ।

ओलम्पिक बहिष्कार गरे चीनले अमेरिकालाई कस्तो जवाफ दिने भन्ने प्रश्न उठेको छ।

अमेरिकाले सन् २०२८ मा लस एन्जलसमा ओलम्पिक आयोजना गर्न लागेको छ।

चीनले खेलमा राजनीतिकरणको विरोध गर्ने बताएको छ। 

यसअघि अमेरिकाले अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितालाई राजनीतिकरण गर्न खोजेको भन्दै चीनले बाइडेनको आलोचना गरेको थियो।

यसअघि बाइडेन र सी चिनफिङबीच भएको अनलाइन शिखर वार्तापछि दुवै नेताले एकअर्कालाई सम्मान गर्ने र शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहनुपर्ने बताएका थिए। त्यसको केही सातामै अमेरिकाले यस्तो घोषणा गरेपछि चीनले असन्तुष्टि व्यक्त गर्दै आएको छ।

यो प्रतियोगिता सम्पन्न भए पेकिङ ग्रीष्म र शीतकालीन दुवै ओलम्पिक आयोजना गर्ने विश्वको एक मात्र शहर हुनेछ।

अमेरिका र यूरोपेली यूनियनका सदस्य देशले चीनले सिनच्याङमा उइगर मुस्लिमविरुद्ध व्यापक मानवअधिकार हनन गरेको आरोप लगाएका छन्। 

अमेरिकी राष्ट्रपति बाइडेनले चीनले खेल प्रतियोगिता मानवाधिकारवादी कार्यकर्ता, राजनीतिक विरोधी र अल्पसंख्यकसँगको दुर्व्यवहार छोप्न प्रयोग गरिरहेको बताए।

अमेरिका र यूरोपेली यूनियन हङकङ र तिब्बतको मानवअधिकार अवस्थाको पनि आलोचना गर्छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले हालै भनेका थिए, 'म सिनज्याङको मुद्दा पूर्णतया चीनको आन्तरिक मामिला भएको कुरामा जोड दिन्छु। यसमा कुनै पनि विदेशी हस्तक्षेप अस्वीकार्य छ।'

चाओले अमेरिकाले चीनलाई ‘तथाकथित बँधुवा मजदुर र नरसंहार’ गरेको मिथ्यारोप लगाएको दाबी गरे।

उनले भने, ‘चिनियाँ जनताको नजरमा उनीहरू हाँसोका पात्रबाहेक केही होइनन् र अमेरिकाले लगाएका आरोप नितान्त आधारहीन छन्।’

उनले शीतकालीन पाराओलम्पिक र ओलम्पिक प्रतियोगिता विश्वभरका खेलाडीहरूका लागि साझा मञ्च भएको बताउँदै भने‚ ‘यसको राजनीतिकरणले ओलम्पिक आन्दोलन र सबै खेलाडीहरूको हितलाई मात्र हानि पुऱ्याउँछ।'

साझा प्रयासले विश्वलाई व्यवस्थित, भव्य र सुरक्षित खेलकुद प्रस्तुत गर्ने र ओलम्पिक खेललाई अगाडि बढाउने उनको अपेक्षा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.