|
फाइल तस्वीर

धनगढी : सुदूरपश्चिमबाट कोरोना भाइरस संक्रमितहरुको स्वाब नमूना परीक्षण गर्न राजधानी काठमाडौं पठाउन थालिएको छ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण भए नभएको परीक्षण गर्न संक्रमितको स्वाब काठमाडौं पठाउन थालिएको हो।

संक्रमण पुष्टि भएपछि पनि भेरिएन्ट पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाउनुपर्ने बाध्यता रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिए।

उनका अनुसार कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण पनि पुष्टि भएपछि भेरिएन्ट पत्ता लगाउन स्वाब काठमाडौं पठाउन थालिएको हो।

१३ जनाको स्वाब पठाइयो काठमाडौं

हालसम्म सुदूरपश्चिमबाट कोरोना भाइरसको संक्रमण पुष्टि भएका १३ जनाको स्वाब भेरिएन्ट पत्ता लगाउन काठमाडौं पठाइएको छ।

कञ्चनपुरको गड्डाचौकी नाकामा संक्रमण पुष्टि भएका ३ जना र सेती प्रादेशिक अस्पतालमा संक्रमण पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाडौं पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

नाकामा नियमित परीक्षण, संक्रमितको संख्या बढ्दै

सुदूरपश्चिमसँग जोडिएका सीमानाकाबाट स्वदेश फर्किनेको त्यहीं नियमित कोरोना परीक्षण गरिँदै आएको छ।

नाकामा रिपोर्ट पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्ने र नमूना संकलन गरी काठमाडौं पठाउन थालिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै प्रदेश प्रयोगशाला प्रमुख ओझाले सीमानाकामा पोजेटिभ देखिएकाको नमूना संकलन गरेर परीक्षणका लागि पठाउन सबै ठाउँमा सर्कुलर गरिएको जानकारी दिए।

‘त्रिनगर, गड्डाचौकीलगायत सीमानाकामा एन्टिजेन पोजेटिभ आएकाको नमूना सुरक्षित राख्न भनेका छौं। ती नमूना थप परीक्षणका लागि काठमाडौं पठाइनेछ,’ उनले भने।

भारतमा नयाँ भेरिएन्ट देखापरेपछि सीमानाकामा समेत थप कडाइ गरिएको उनले बताए।

सुदूरपश्चिममा केही समय शून्यमा झरेको कोरोना संक्रमण फेरि देखिन थालेको छ।

करिब एक महिनाअघि दैनिक संक्रमण दर शून्यमा झरेको कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा पछिल्लो समय दैनिक ३-६ जनासम्म संक्रमित देखिन थालेका छन्।

एक महिनाअगाडि संक्रमित देखिन छाडेकोमा पछिल्लो २ सातादेखि भने संक्रमित देखिन थालेको अस्पतालका सूचना अधिकारी नारद भट्टले बताए।

यता, प्रदेशको अस्थायी राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पनि दैनिक ५/७ जनामा संक्रमण पुष्टि भइरहेको छ।

तीमध्ये कुनै दिन औसतमा कम्तीमा एक जना गम्भीर संक्रमित आउने गरेको अस्पतालले जनाएको छ।

ओमिक्रोन परीक्षणको व्यवस्था छैन, काठमाडौंकै भर

कोरोना संक्रमितमा नयाँ भेरिएन्ट हो कि होइन पत्ता लगाउन भने परीक्षण गर्ने व्यवस्था नभएकाले समस्या भइरहेको सुदूरपश्चिमका चिकित्सकले बताएका छन्।

भेरिएन्ट पत्ता लगाउन काठमाडौंकै भर पर्नुपरेको र स्वाब रेफर गर्ने गरेको उनीहरुको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.