|

बझाङ :  २० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका ७ सुवेडा घर भएका ३९ वर्षीय प्रकाश राना पक्राउ परेका हुन्।

उनी  धनगढी उपमहानगरपालिका ८ मोतीचोकमा  लुकछिपी बस्दै आएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीसँगको सहकार्यमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।

उनी ०६६ साल चैत २२ गते जिल्ला अदालत बझाङले २० वर्ष कैद सजाय सुनाएपछि फरार रहेका थिए।

२०६२ असोज २३ गतेको जयपृथ्वी नगरपालिका ७ सावीक सुवेडा गाबिस ८  ज्वाडाका प्रकाश रानासहित मंगल राना, वीरेन्द्र राना, रामदेवी राना र हिरादेवि रानाले घरेलु हतियार कुटो, हँसिया, बन्चरो प्रयोग गरी निर्मम तरिकाले सोही ठाउँ बस्ने मीनबहादुर भण्डारीको हत्या गरेका थिए।

उक्त घटनामा संलग्न फरार व्‍यक्तिको खोजी भइरहेको भए पनि झण्डै १२ वर्षपछि प्रकाश रानालाई पक्राउ गरिएको र अन्यको खोजी कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

विशेष सूचनाको आधारमा जिप्रका कैलालीसँगको समन्वयमा मंसिर २० गते पक्राउ गरी २१ गते जिल्ला अदालतमा पेश गरेको डिएसपी विष्टले बताए। उनलाई मंसिर २२ गते कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.