|

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुन:स्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाइ र अनुभवहरूको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेकी हुन्।

राष्ट्रपति भण्डारीले सो विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र पुन:स्थापनाका क्रममा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाइहरू अन्तर्राष्ट्रिय समुदायका लागिसमेत अनुकरणीय हुने विश्वाससमेत व्यक्त गरिन्।

बुधबारबाट काठमाडौंमा सुरु भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेजहरु विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षेत्रमा लागि पर्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानको भण्डारका रुपमा रहने स्पष्ट पारिन्।

राष्ट्रपति भण्डारीले भावी पुस्ताले समेत सो भूकम्पपछिको पुनर्निर्माण कार्य अनुकरण गर्न लायक रहेको बताइन्। भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरु अझ बलियो बनेको उल्लेख गर्दै उनले त्यस कार्यमा सहयोग गर्ने अन्तर्राष्ट्रिय समूदायप्रति आभारसमेत व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले सो कार्यलाई तीव्रताका साथ अघि बढाउन तीनै तहको सरकारको सहयोग उल्लेखनीय रहेको पनि स्मरण गराइन्। उनले भनिन्, ‘पुनर्निर्माण तथा पुन:स्थापनाको यस कार्यलाई हिजोभन्दा अझ बलियो, भूकम्प प्रतिरोधी एवं हाम्रा भावी सन्ततिहरूले समेत उपयोग गर्न सक्ने गरी सम्पादन गर्न सफलता हासिल

गरेकोमा म प्राधिकरणको नेतृत्व, सम्पूर्ण प्राधिकरण परिवार र उक्त कार्यमा सहयोग पुर्‍याउने तीनै तहका सरकार, जनप्रतिनिधिहरू, निजी क्षेत्र, सञ्चारकर्मीहरु, भूकम्प प्रभावित क्षेत्रका सम्पूर्ण जनसमुदाय एवम् प्रत्यक्ष वा परोक्ष रुपले पुनर्निर्माण कार्यमा संलग्न हुनुहुने, हुनु भएका सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।'

राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पले नेपाली जनतालाई आहात पारेका बेला अन्तर्राष्ट्रिय समुदायले दिएको बलियो साथको पनि पटक-पटक स्मरण गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.