|

म्याग्दी : आवाससहितको पुर्वाधार निर्माणपछि पर्यटकीयस्थल टोड्केमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमामा रहेको पर्यटकियस्थलमा निजि ब्यवसायीले बस्ने खाने सुविधासहितको होटल निर्माणले आन्तरिक पर्यटकको चहलपहल दिनदिनै बढ्दै गएको हो।

समुन्द्र सतहदेखि दुई हजार ५ सय मिटर उचाइमा रहेको टोड्केबाट सुर्योदयसंगै धवलागिरी, अन्नपुर्ण निल गिरी लगायतका एक दर्जनभन्दा बढी हिमालहरूको दृष्य अवलोकन गर्न पर्यटक आउने गरेको टोड्के हिल रिसोर्टका संचालन भिम शेरचनले बताए। 

दैनिक एक सय जना भन्दा बढी बस्ने आवाससहितको पुर्वाधार निर्माण भएपछि पोखरा, काठमाण्डौ, बेनी र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको समुह बस्ने गरी आउन थालेको जानकारी दिए।

धवलागिरि सेञ्चुरी पद मार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा पर्यटकको चहलपहल बढाउन ऐतिहासिक स्वर्गद्वारी आश्रम, शिव मन्दिरको जीर्णोद्धार गर्न पुरातत्व विभागमा प्रस्ताव पेश गरिएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

पर्यटकीय गाउँ झिँमा उद्यान बैगचा, झिँदेखि टोड्केसम्म पदमार्ग, सडकको स्तरोन्नती, उच्चस्थानको खेलमैदान निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले जानकारी दिए।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्सी (नाटा) को टोलीले पर्यटन सम्भावना बोकेको टोड्केमा मौलिकता जोगाएर पर्यटन व्यवसायलाई अघि बढाउन स्थानीयलाई आग्रह गरेका छन्। विदेशबाट पोखरा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउन र नयाँ गन्तव्य पहिचान गर्न टोड्केलाई रोजेको नाटाका अध्यक्ष सञ्जय कान्त सिग्देलले बताए।

उनले पर्यटकको लागि उपयुक्त गन्तव्य टोड्के रहेको बताउदै प्रचारप्रसार र सडक, पदमार्ग लगायतका पुर्वाधार पर्यटकको आकर्षण गर्ने किसिमले निर्माण गर्न सिग्देलले आग्रह गरेका थिए।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक नविन पोखरेलले गाउँपालिका, स्थानीयबासी, होटल संचालकहरुको जागरुताले पर्यटन व्यवसायलाई आर्यआर्जनको रुपमा विकास गर्न सकिने बताए।

उनले जनप्रतिनिधि, होटल ब्यवसायी र स्थानीय मिलेर पुर्वाधार लगायतको क्षेत्रमा सहकार्यलाई प्रस्ताव लिएमा सहयोग गर्ने प्रतिवद्धता जनाउदै सडक स्तरोन्नती र पदमार्ग निर्माण गर्दा, चौतारी, बगैंचा, सार्वजनिक शौचालय लगायतका पुर्वाधार निर्माणमा ध्यान दिन गाउँपालिकालाई सुझाव दिएका थिए।

१ करोड लागत गरिएको झिँ गाउँदेखि टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माणको जिम्मा ५८ लाखमा योजना खुशी होम बिल्डर्स प्रा.लीले साउनदेखि लिएको छ। उकालो बाटोमा करिव ४२५ मिटर पदमार्ग, दुईवटा प्रतिक्षालय र दृष्य अवलोकन गर्नेस्थल सहितको उद्यान बगैंचा निर्माण भइरहेको वडानम्वर ५ का वडाअध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिए। 

टोड्‍का आउने पर्यटकलाई लक्षित गरेर झिँमा होमस्टेपनि संचालन रहेको छ। बेनीदेखि अथुङ्गे, तोरापानी पात्लेखेत झिँ हुदै टोड्‍के, धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गरेर घतान पात्लेखेत, झिँ हुदै टोड्के र बेनी पुलाचौर डडुवा, पुर्णगाउँ हुदै सडक सुविधा प्रयोग गरेर करिव साढे दुइ घण्टामा पर्यटक त्यहाँ पुग्न सक्छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.