अस्ट्रेलिया र इङल्यान्ड बिच जारी एसेस सिरिजको पहिलो टेस्टमा अस्ट्रेलियाले दोस्रो दिन १९६ रनको विशाल अग्रता बनाएको छ।
पहिलो दिन इङल्यान्डलाई १४७ रनमै समेटेको घरेलु टोली अस्ट्रेलियाले दोस्रो दिन आफ्नो सानदार ब्याटिङ गर्यो।
अस्ट्रेलियाको विशाल योगफलमा मध्यक्रमका ब्याटर ट्रविस हेड शतकीय इनिङ खेल्दै अविजित रहे।
दिनको खेलको समाप्तिमा अस्ट्रेलिया ७ विकेट गुमाएर ३ सय ४३ रनको स्कोरमा रहेको छ। समग्रमा अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ९६ रनको अग्रता बनायो।
अस्ट्रेलियाका बायाँ हाते ब्याटर ट्रेविस हेड ९५ बलमा १२ चौका र २ छक्कासहित १ सय १२ रनको विष्फोटक इनिङ खेल्दै क्रिजमा छन्। उनलाई मिचेले स्टर्कले १० रनमा साथ दिइरहेका छन्।
हेडले ८५ बलमै शतक प्रहार गरेका थिए। टेस्ट करिअरको हेडको यो तेस्रो तथा एसेसमा पहिलो शतक हो। एसेस सिरिजमा हेडको शतक छिटो शतकको तेस्रो नम्बरमा समेत रहन सफल भयो।
अस्ट्रेलियालाई ओपनर डेविड वार्नरले सानदार सुरुवात दिए।
उनले १ सय ७६ बलमा ११ चौका र २ छक्कासहित ९४ रन बनाएर आउट भए। दोस्रो विकेटका लागि वार्नर र मार्नस लाबुसेनले १ सय ५६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि अस्ट्रेलिया बलियो बनेको थियो।
लाबुसेन ७४ रनमा आउट भए। तर त्यसपछि मध्यक्रम लगातार विकेट पतनको सिकार भयो तर हेडले आफूलाई समाल्दा अस्ट्रेलिया लयमा देखियो।
त्यसअघि ब्रिसबेनमा टस हारेर पहिले ब्याटिङ गरेको इङल्यान्डले पहिलो दिन १ सय ४७ रनमा अल आउट भएको थियो। उसका लागि जोस बटलरले ५८ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३९ रन बनाउनु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।