|

भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरले सूर्यविनायक नगरपालिका–३ बालकोटका स्थानीय युवक राजु भन्ने राजन श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई बिहीबार सार्वजनिक गरेको छ।

प्रहरीले सार्वजनिक गरेका आरोपीमा सूर्यविनायक नगरपालिका–३ वडा कार्यालय नजिकै बस्ने २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङका हाल सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३० वर्षीय प्रेम विश्वकर्मा छन्।

अनुसन्धानका क्रममा हेमन्तलाई बुधबार बिहान पौने ६ बजे मध्यपुर थिमि-४ शंखधरचोकस्थित मध्यपुर अस्पताल नजिकबाट र प्रेमलाई बुधवार बिहान पौने १० बजे काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए।

हेमन्त र प्रेमले राजनलाई मंगलबार राति करिब पौने १० बजे सूर्यविनायक नगरपालिका–२ बालकोट बसिटोलस्थित हनुमन्ते खोलानजिकै खरिबोटदेखि हनुमन्ते खोलाको फलामे पुलतर्फ जाने बाटोमुनि खाली जग्गामा कुटपिट गरी हत्या गरेको प्रनाउ पाण्डेले जानकारी दिए।

घटनाका हेमन्त मुख्य योजनाकार र प्रेम योजनाअनुसार राजनलाई प्रहार गर्ने देखिएको उनले बताए।

प्राप्त सूचनाअनुसार हेमन्त र राजन एकै स्थानका मिल्ने साथी हुन्। सानैदेखि सँगै खेल्दै हुर्केका दुई साथीबीच केही समय अघिदेखि आर्थिक लेनदेन हुँदै आएको थियो।

राजनले हेमन्तलाई दिएको सापटी रकम फिर्ता गर्ने विषयमा दुई जनाबीच केही दिनयता विवाद र मनमुटाव हुँदै आएको थियो।

यसैक्रममा मंगलबार राति करिब ८ बजे घरमा परिवारसँगै बसिरहेका राजनलाई हेमन्तले फोन गरी पैसा लिन गठ्ठाघर आउन आग्रह गरे।

हेमन्तको फोनपछि राजन आफ्नो गाडी लिएर गठ्ठाघर पुगे। गठ्ठाघरस्थित बर्गर हाउसमा दुवै जनाले चिया खाई लेनदेनको विषयमा छलफल गरे।

छलफलकै क्रममा हेमन्तले राजनलाई हनुमन्ते खोला पारी दाइ पैसा लिएर आएको छ, त्यहाँसम्म जाउँ भनी बहाना बनाई आफ्नो मोटरसाइकलमा चढाई हनुमन्तेको फलामे पुलसम्म लगे।

त्यहाँबाट दुवै बालकोट जाने बाटोतर्फ पैदल हिँड्न थाले। अँध्यारो ठाउँमा पुग्नेबित्तिकै पूर्वयोजनाअनुसार एक्कासी पछाडिबाट प्रेमले काठको फर्माले राजनको टाउकोमा प्रहार गरे। राजन जमिनमा ढले।

त्यसपछि हेमन्त र प्रेम दुवैले राजनको टाउकोमा र अनुहारमा पटक–पटक प्रहार गरेर घाइते बनाए।

सोही अवस्थामा घटनास्थलनजिकै बस्ने स्थानीयले थाहा पाई कराउन थालेपछि हेमन्त र प्रेम फरार भए।

ती स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेर राजनलाई नजिकैको मध्यपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ पाण्डेले बताए।

मुख्य योजनाकार अनुसन्धानमा प्रहरीसँगै

घाइते राजनलाई चिकित्सकले मृत घोषणा गर्ने बित्तिकै प्रहरीले घटनाको अनुसन्धान तीव्र पारे।

घटनास्थलमा तत्काल महानगरीय प्रहरी प्रभाग बालकोटका प्रहरी नायव निरीक्षक (प्रनानि) अम्बरबहादुर शाही नेतृत्वको टोली पुगेर राजनलाई उद्धार गरी मध्यपुर अस्पताल पुर्‍याएका थिए।

त्यसपछि महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक नरहरि रेग्मी नेतृत्वको टोलीले अनुसन्धान अघि बढायो।

प्रहरीले राति नै तालिमप्राप्त कुकुरसमेत परिचालन गरे। कुकुरले सबैभन्दा पहिले मृतकको गाडी पत्ता लगायो।

प्रहरीले गाडीमा रहेको सवारीचालक अनुमतिपत्रको आधारमा मृतकको नाम, थर र वतन पत्ता लगाए। प्रहरीले आफन्तलाई खबर गरे। आफन्तसँगै मृतकका साथीहरू अस्पताल पुगे।

मृतकको पहिचानसँगै प्रहरीले अनुसन्धानलाई तीव्रता दिँदै नाकाहरूमा जाँच कडा गरे। प्रहरीको अनुसन्धानलाई स्थानीय, आफन्त र साथीहरूले पनि सघाए।

मध्यपुर अस्पतालमा जम्मा भएका स्थानीयले हत्याको सम्भावित कारण र संलग्न व्यक्तिको अनुमान लगाउँदै एकले अर्कोसँग सोधखोज गर्न थाले।

यसै क्रममा राजनको हेमन्तसँगको आर्थिक कारोबारबारे चर्चा भयो र हेमन्तको खोजी भयो।

त्यतिखेर रातको करिब १२ बजिसकेको थियो। हेमन्तको खोजी गर्दा उनी घरमा रहेको पत्ता लाग्यो। उनलाई अस्पताल बोलाइयो।

​स्थानीय र राजनका आफन्त र साथीहरूले हेमन्तसँग सोधपुछ गर्दा केही जानकारी नभएको जवाफ दिए। त्यसपछि उनी पनि स्थानीय र प्रहरीसँगै घटनाको सत्यतथ्य पत्ता लगाउन सँगसँगै हिँड्न थाले।

अनुसन्धान क्रममा गठ्ठाघरमा मृतकको गाडी फेला परेको स्थाननजिकको सिसी क्यामरामा हेमन्तको मोटरसाइकलमा राजन सवार भएर गएको देखियो। त्यसपछि हेमन्तलाई सोधपुछ गर्दा केही तलसम्म पुर्‍याएको र त्यसपछि थाहा नभएको जवाफ दिए।

त्यसबेलासम्म मुख्य आरोपी हेमन्त स्थानीय र मृतकका आफन्तसँगै बसी गफगाफ गरी चिया पिएको मृतकका आफन्त भाइकाजी श्रेष्ठले बताए।

सबै कोणबाट शंकाको बाण हेमन्ततर्फ सोझिएपछि स्थानीयले हेमन्तलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाए। प्रहरीले हेमन्तसँग सोधपुछ गरेपछि उनकै बयानका आधारमा प्रेमलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गर्न प्रहरी सफल भयो।

केही दिनअघि नै योजना तयार

अनुसन्धानको क्रममा घटनाको केही दिनअगाडि नै राजनको हत्या गर्ने योजना बनेको खुल्न आएको छ।

सोही योजनाअनुसार मंगलबार राति ८ बजे हेमन्तले राजनलाई फोन गरी गठ्ठाघर बोलाएको प्रनाउ पाण्डेले बताए।

घटनाको सत्यतथ्य छानबिन गर्न माग

यसैबीच स्थानीय र मृतकका आफन्तले घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न माग गरेका छन्।

उनीहरुले घटनामा अरु पनि संलग्न भएको हुनसक्ने आशंका गर्दै घटनाको अनुसन्धानको दायरा थप फराकिलो गर्नुपर्ने मागसहित महानगरीय प्रहरी वृत्त थिमिमा बिहीबार दिनभरजसो धर्ना दिए। सयौंको संख्यामा उपस्थित स्थानीयले केहीबेर नाराबाजीसमेत गरेका थिए।

उनीहरुले घटनास्थलको करिब एक सय मिटर पर रहेको एउटा घरको कम्पाउण्डभित्र विभिन्न स्थानमा देखिएको रगतको टाटाबारे प्रहरीले निष्पक्ष छानबिन र अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।

मृतकको शारीरिक बनावटका कारण पनि दुई जनाले मात्र राजनको हत्या गरेको हुन नसक्ने पीडित पक्षको दाबी रहेको छ।

यसैगरी राष्ट्रिय युवा संघ नेपालले पनि राजन श्रेष्ठको हत्याको पारदर्शी र प्रभावकारी अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ।

युवा संघ भक्तपुरले बिहीबार मध्यपुर थिमिमा पत्रकार सम्मेलन गर्दै घटना जुनसुकै कारणले भएको भएपनि सत्य तथ्य सार्वजनिक हुनुपर्ने माग गरेको हो।

संघका जिल्ला अध्यक्ष पुष्पराज बस्नेतले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्दै हत्या जुनसुकै बहानामा गरिएको भएपनि तत्काल दोषीमाथी कडा सजाय हुनुपर्ने माग गरे। 
‘हत्या जे र जुनसुकै बहानामा गरिएको भए तापनि तत्काल दोषीलाई कडाभन्दा कडा कारवाहीको लागि संघ सरकारसँग जोडदार माग गर्दछ, अन्यथा राष्ट्रिय युवा संघ जस्तोसुकै कदम उठाउन बाध्य हुनेछ। जसको जिम्मेवारी सरकारले लिनुपर्ने छ,’ विज्ञप्तिमा उल्लेख छ।

संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले विभत्स र क्रुर हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजे देशभर आन्दोलन चर्काउने चेतावनी दिए।

पत्रकार सम्मेलनपछि संघले हत्यारालाई कारवाहीको माग गर्दै मध्यपुर थिमि शंखधरचोकस्थित अरनिको राजमार्गमा प्रदर्शन गरी केहीबेर सडक अवरुद्ध गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.