|

काठमाडौं : नाकमा बुलाकी। कानमा च्वाङ्डी, चाँदीका खुटीला अनि चोली लगाएकी। भीडभाडमा पनि पहिरनले उनलाई सजिलै चिनिथ्यो। उनी थिइन् हुम्लाकी न्युमा बुढा।

विकट हुम्लाबाट उनले पहिलो पटक काठमाडौंमा टेकेकी हुन्। यसअघि उनका दैनिकी गाउँमै घरायसी काममा बित्थ्याे।​​तर काठमाडौं सहर हेर्ने उनको रहर नेपाली कांग्रेसको महाधिवेशनले जुरायो।

४५ वर्षीया न्युमाले प्रधानमन्त्री देउवा भनेको सुनेकी छन्। तर, उनलाई प्रधानमन्त्रीको पूरा नाम होइन, ‘देउवा’ मात्र थाहा छ। चिनेकी छैनन्।

त्यसो त उन (प्रधानमन्त्री देउवा) को अनुहार हेर्न  बिहानदेखि नै भृकुटीमण्डपमा मञ्चअगाडि बसिरहेकी छन् उनी।

उनी भन्छिन्, ‘प्रधानमन्त्रीलाई देखेको छैन, आज देख्न पाउँछु।’ उनी कांग्रेस महाधिवेशनमा त्यत्तिकै आएकी होइनन्।

विकट जिल्ला मानिने हुम्लाको दुःख र समस्याहरूको पोको लिएर आएकी छन्। हुम्लामा पनि विकास होस् भन्ने उनको सपना छ।

‘काठमाडौं राम्रो रहेछ, मन पर्‍याे, यहाँको जस्तै पिच सडक हाम्रोमा पनि पुगे कति राम्रो हुन्थ्यो,’ मुसुक्क हाँस्दै उनले भनिन्। 

अहिले आफन्तकहाँ बस्दै आएकी उनी महाधिवेशन सकिएपछि मात्र गाउँ फर्किने सोचमा छिन्।

हुम्लाबाटै आएकी कलसरी रोकाया पनि प्रधानमन्त्रीलाई नै हेर्न आएकी हुन्।

तर उनी प्रधानमन्त्रीलाई हेर्न मात्र आएकी होइनन्, त्यससँगै विकास माग्न पनि आएकी हुन्। खानाकै लागि धौधौ पर्ने ठाउँमा अन्नको भण्डारण होस् भन्ने चाहन्छिन् उनी।

उनले भनिन्, ‘यहाँ  त जताततै गाडी नै गाडी देख्छु, सडक पनि पिच रहेछ, हाम्रो हुम्लामा पनि अहिलेका नेता प्रधानमन्त्रीले यस्तै खालको विकास गरिदिउन्।’ 

हुम्लाको विकास गर्न सक्ने प्रतिनिधि महाधिवेशनमा चुनियोस् भन्ने चाहन्छिन् ६२ वर्षीय कलसरी।

​‘सडक पुगे पनि आधा-आधा पुगेको छ, सबैतिर जोडिएको छैन, विकास त हामीलाई पनि चाहिएको छ,अर्को खानै पनि समस्या छ,’ उनले भनिन्। 


 
यतिखेर भृकुटीमण्डपमा कांग्रेसको १४औँ महाधिवेशन भइरहेको छ। महाधिवेशन २७ गतेसम्म हुँदैछ।

उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्चमा बनाइएको छ।

सभापतिलगायत विभिन्न शीर्ष नेता महाधिवेशनस्थल आइसकेका छन् र आउने क्रम जारी छ। विदेशी प्रतिनिधि पनि आएका छन्।

महाधिवेशन हेर्न पार्टी कार्यकर्ता मात्र नभई विभिन्न जिल्लाबाट सर्वसाधारणसमेत आएका छन्।

बैतडीबाट आएकी छिन् लक्ष्मी विष्ट (६७)। उनी पनि शहरमा मात्र नभई गाउँघरमा पनि सडक, अस्पताल बन्नुपर्ने बताउँछिन्।

उनी पनि काठमाडौं आएको यो पहिलो पटक नै हुो। काठमाडौंको बयान गर्दै उनी भन्छिन्, ‘यहाँ त धेरै भीडभाड रहेछ, मान्छे र ठुल्ठूला घरमात्र देख्छु, हाम्रो तिर नि यसैगरी गाडी गुडेको देख्न पाए हुन्थ्यो।’ 

भ्रष्टाचार नभई विकास गर्ने नेता चाहिएको र मनपर्ने उनले सुनाइन्।

उनका अनुसार बैतडीको पाटन नगरपालिका क्षेत्रमा बस चल्दैन। त्यसैले घण्टौँ हिडेर गन्तव्यमा पुग्ने गरेका छन्।

‘हाम्रोतिर ट्रक मात्रै गुड्छ, बस छैनन्, नेताहरु के भन्छन् भाषण सुन्छु र हाम्रो गाउँठाउँ सडक सञ्जालमा जोडियोस् भन्ने माग पनि गर्छु,’ लक्ष्मीले भनिन्।

तस्वीरहरू : शिला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.