|

बहुप्रतीक्षित मानिएको तेलुगु फिल्म 'आरआरआर'को ट्रेलर भर्खरै सार्वजनिक भएको छ।

'बाहुबली' निर्देशक एसएस राजामौलीको लेखन तथा निर्देशन एवम् जुनियर एनटिआर र रामचरणजस्ता दक्षिण भारतका लोकप्रिय अभिनेता एउटै पर्दामा देखिने भएकाले यो फिल्मलाई बहुप्रतीक्षित मानिएको छ। 

पिरियड एक्सन ड्रामा जनरामा निर्मित फिल्मको बजेट ४ सय करोड (भारू) भन्दा बढी छ। 

एनटिआर र रामचरणसँगै फिल्ममा आलिया भट्टले पनि अभिनय गरेकी छन्।

धेरै फिल्ममा केन्द्रीय पात्रको भूमिका निर्वाह गरेकी आलियाको भूमिका 'आरआरआर'मा निकै छोटो छ। फिल्ममा उनी जम्माजम्मी २० मिनेट देखिने बताइएको छ। 

तर, उक्त रोलका लागि आफैंले राजमौलीसँग आग्रह गरेको आलियाले बताएकी छन्। बिहीबार ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले सो कुरा खुलाएकी हुन्। 

आलियाले भनिन्, 'हैदराबाद एयरपोर्टमा राजामौली सरलाई भेट्दा मैले सर हजुरको फिल्म खेल्न मन छ, त्यसको लागि जे गर्नुपरे पनि गर्छु भनेकी थिएँ। अनि यो साँच्चिकै एउटा सपना सत्य भएजस्तो भयो जब उहाँले भन्नुभयो, मसँग तिमीले गर्नसक्ने एउटा रोल छ। त्यसपछि मैले आरआरआरमा सीताको भूमिका पाएँ।'

उनले आफ्नो लागि सबैभन्दा ठूलो चुनौती भनेको तेलुगुमा रहेको संवाद याद गर्नु रहेको पनि बताइन्।

तर, एक वर्ष लगाएर आफूले सबै डाइलग याद गरेको र लवजमा पनि काम गरेको उनले बताइन्।

सन् २०१२ मा 'स्टुडेन्ट अफ द इअर'बाट बलिउड प्रवेश गरेकी आलिया यतिवेला बलिउडकी सबैभन्दा बढी रुचाइएकी अभिनेत्रीमध्ये पर्छिन्।

तर, उनले कुनै पनि दक्षिण भारतीय फिल्ममा काम गरेकी थिइनन्। 

आफ्नो पहिलो तेलुगु फिल्मको लागि निकै उत्साहित रहेको पनि उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.