पटक–पटक बजेट विनियोजन तर रंगीन पाठ्यपुस्तक छापिएन

|
फाइल तस्बिर

काठमाडौं : सरकारले आधारभूत तहसम्म निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएकोमा चालु २०७८/७९ मा कक्षा १२ सम्मलाई निःशुल्क वितरण गर्ने घोषण गर्‍याे।

गत जेठमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निःशुल्क पाठ्यपुस्तक र प्याड वितरणका लागि ४ अर्ब ७९ करोड बजेट विनियोजन गरेको घोषणा गरेका थिए।

तर नीति तथा कार्यक्रम घोषणा भएको ६ महिना बित्दा पनि यो नीति लागु हुन सकेको छैन। त्यसैले गर्दा विद्यार्थी आफैंले पुस्तक खरिद गरेर अध्ययन गरिरहेका छन्।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले निःशुल्क पाठ्यपुस्तक दिने नीति बनाए पनि अझै वितरण नभएको बताए।

उनका अनुसार पहिलादेखि वितरण गर्दै आएको पुस्तक कक्षा १० सम्म मात्र निःशुल्क दिइँदै आएको छ। ‘कक्षा ११ र १२ को पठनपाठन सुरु भइसक्यो तर ती विद्यार्थीले निःशुल्क दिने भनिएका पुस्तक पाएका छैनन्’‚ उनले भने।  

समयमा १० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्दैन

महासंघका अध्यक्ष भण्डारीले सरकारले नीति बनाए पनि कार्यान्वयनमा अनेक बहाना बनाउने गरेको बताउँछन्।

उनले भने, ‘सरकारले योजना ल्याउँछ तर भनेको समयमा कार्यान्वयन हुँदैन र गर्दैन पनि। समयमा सबै क्षेत्रमा पुस्तक पुर्‍याउने भन्छ तर नयाँ शैक्षिक सुरु भएको पाँच ६ महिनासम्म पनि १० प्रतिशत विद्यालयमा पुगेको हुँदैन।’

उनले शिक्षा क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि यस्तै गरी नीति तथा कार्यक्रम प्रभावकारी नभएको बताए।

‘कृषि क्षेत्रमा पनि हेरौँ, किसानले बालीनाली उत्पादन गर्ने बेला बीउ नै पाउँदैनन्’‚ उनले भने, ‘यस्ता समस्या शिक्षा लगायत सबै क्षेत्रमा छ।’ सरकारी पक्षकै लापरबाहीले यी नीति कार्यन्वयन हुन नसकेको उनको भनाइ छ।

पटक–पटक बजेट विनियोजन, तर रंगीन पाठ्यपुस्तक छापिएन

सरकारले रंगीन पाठ्यपुस्तकका लागि वर्षेनि बजेट व्यवस्था गरेको छ। सरकारले आधारभूत तहसम्मको रंगीन पुस्तक छाप्नका लागि २०७६/७७ मा २ अर्ब २१ करोड रकम विनियोजन गरेको थियो।

त्यस्तै २०७७/७८ मा यसैका लागि २ अर्ब ७६ करोड बजेट विनियोजन भयो। यसबाट ७६ लाख छात्रछात्रा लाभान्वित हुने भनिएको थियो तर हालसम्म सबै कक्षाका लागि रंगीन पाठ्यपुस्तक छापिएकाे छैन।

महासंघका अध्यक्ष भण्डारीका अनुसार सरकारले अहिले कक्षा ७ सम्म मात्रै रंगीन पाठ्यपुस्तक दिने गरेको छ।

‘सरकारले रंगीन पाठ्यपुस्तक छाप्ने भनी वर्षेनि अर्बौ बजेट छुट्याउँछ तर हालसम्म श्यामश्वेतमै विद्यार्थी पढिरहेका छन्, त्यो पनि राम्रो क्वालिटीको छापिँदैन’‚ उनले भने।

उनका अनुसार बालबालिका पढ्न आकर्षण गर्नेमध्ये एक रंगीन चित्र पनि हो। ‘तर सबै पाठ्यक्रमको कोर्ष र चित्र श्यामश्वेतमा छापिएपछि पढ्ने आकर्षण नै घट्छ, सबै पाठ्यपुस्तक रंगीन छापिए धेरै सहजता मिल्ने थियो’‚ उनले भने।

मन्त्रालय भन्छ : क्रमिक वितरण गरिरहेका छौँ

यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा कक्षा ११ मा निःशुल्क पाठ्यपुस्तक वितरण गरिरहेको र १२ कक्षालाई पनि वितरण गर्ने योजना रहेको बताउँछन्।

‘नीतिअनुरूप नै कक्षा ११ मा पाठ्यपुस्तक वितरण गरेका छौँ, अहिले पनि भइरहेको छ, कक्षा १२ मा भने नयाँ शैक्षिक सत्रबाट वितरण गर्छौ’‚ उनले भने।

रंगीन पाठ्यपुस्तक छपाइको विषयमा प्रवक्ता शर्माले क्रमिक रूपमा छाप्दै जाने र त्यसपछि देशभरकै विद्यालयमा वितरण गर्ने बताए। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशभर २८ हजार ८ सय ३३ सामुदायिक विद्यालय छन्।

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.