|

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि तोकिएको समयभन्दा करिब तीन घण्टा ढिला गरी मतदान सुरु भएको छ। आज बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि केहीबेर अघि मात्र मतदान सुरु भएको छ।

पहिलो मतदान पूर्व-महामन्त्री कुलबहादुर गुरुङले  गरेका छन्। मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन्। 

प्राविधिक कारण मतदान समयमै सुरु हुन नसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतपत्र छपाइमा केही बिलम्ब भएका कारण मतदान सुरु हुन नसकेको बताइएको छ। 

समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेस विधानअनुसार १६७ कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ।

कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ। मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ।

प्रधानमन्त्री, पार्टीका शीर्ष नेता, गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा प्रभावकारी बनाइएको हो। भृकुटीमण्डप परिसरमा पार्टी, सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजासहित प्रचारप्रसार गरेर मत मागिरहेको दृश्य देख्‍न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.