|

काठमाडौं : काठमाडौं महानगरपालिकाको २७ औं महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटबल खेल भएको छ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गरेका जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेतृत्व गरेका कर्मचारीको टिमबीचको खेल ३-३ गोलको बराबरीमा टुंगिएको हो। 

दशरथ रंगशालामा सोमबार भएको खेलको सुरुमा कर्मचारीको टीम हावी भएको थियो। खेलको सुरुवातमै कर्मचारीका तर्फबाट सीमन केसीले पहिलो गोल गरेर अग्रता दिलाएका थिए।

त्यसको केही समयपछि जनप्रतिनिधिका तर्फका खेलाडीले डी एरियाभित्रै ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कर्मचारी टोलीका सुन्दर हमालले गोलमा परिणत गरेपछि कर्मचारीको टिमले २ गोलको अग्रता लिएको थियो।

खेलको पहिलो हाफमा मैदान प्रवेश गरेका वडा–६ का अध्यक्ष दीपेन्द्र लामाले जनप्रतिनिधिका तर्फबाट पहिलो गोल गरेका थिए।

त्यसलगत्तै वडा–३ का सदस्य प्रेम थापाले जनप्रतिनिधिका लागि दोस्रो गोल गरेपछि खेल पहिलो हाफमा बराबरीमा पुगेको थियो।

दोस्रो हाफको सुरुवातमै फेरि कर्मचारीका तर्फबाट सीमन केसीले तेस्रो गोल गर्दै अग्रता बढाएका थिए।

खेलको अन्त्यतिर जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले तेस्रो गोल गरेपछि खेल बराबरीमा टुंगियो। 

खेल सुरु हुनुअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मैत्रीपूर्ण खेलका लागि फुटबल महानगरपालिकाका प्रमुख शाक्यलाई हस्तान्तरण गरेका थिए।

खेल सकिएपछि प्रमुख शाक्यले जनप्रतिनिधि र कर्मचारीबीच खेलमा जस्तै महानगरपालिकाका विकास निर्माणका काममा मैत्रीपूर्ण सम्बन्ध रहँदा सेवा प्रवाहमा सहज हुने बताए।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले पनि जनप्रतिनिधि र कर्मचारीबीच नङमासुको सम्बन्ध रहनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.