०७८ मंसिर २४ गते नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनमा एउटा अद्भूत संयोग जुट्न पुग्यो जहाँ देशका वर्तमानसहित चार पूर्व-प्रधानमन्त्रीहरू एक मञ्चमा उपस्थिति थियो। पछिल्ला दिनमा त्यो घटनालाई दुर्लभ घटना मान्न सकिन्छ।
किनभने गतवर्ष जब नेकपा भन्ने पार्टी अदालतबाट अलग भएर पूर्व-एमाले र माओवादी केन्द्र बन्यो। त्यसैक्रममा एमालेले १४ जना सांसदहरूलाई कारबाही गर्न र सांसद पद खारेज गरिदिन पत्र लेखेपछि माधव नेपाल समूहले एकीकृत समाजवादी नामक नयाँ पार्टी यहि भाद्र महिनामा गठन गरेपछि एउटै पार्टीमा रहेका तीन पूर्व-प्रधानमन्त्रीहरू एकैमञ्चमा देखिएको सम्भवत यो पहिलो अवसर थियो।
उहाँहरूले त्यहाँ नेपाली कांग्रेसलाई शुभकामना मन्तव्य दिनुभयो। तर, भावनात्मक रुपमा उहाँहरूका विचारमा असरल्ल बिमतिहरू स्पष्ट रुपमा महसुस गर्न सकिन्थ्यो। उहाँहरू तिनै जना एउटै हसिँया हथौडा अंकित झण्डाको ‘इर्दगिर्द’ राजनीति गरेतापनि उहाँहरूको भाषणमा स्पष्ट विरोधाभाष थियो।
तापनि त्यहाँ कसैले कसैको नाम लिएर विरोध गर्नू भएन। तर भावभंगीमाबाट बुझ्न सकिन्थ्यो कुन शब्द को प्रति लक्षित छ। यति हुँदा पनि एउटा कुरामा उहाँहरूको कठोर मतैक्यता देखियो।
यो प्रसंग, नवनिर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका केही शब्दले जुटाएको थियो। ति शब्दप्रतिरोधमा ओली, प्रचण्ड र नेपालले स्पष्ट बुझिने भाषामा एउटै विचार राख्नुभयो। सम्भवतः आज यि नेताको एकैश्वरले गर्दा नेपालमा एउटा परिस्थिति जन्मिन पुग्यो। त्यो ज्यादै दुरगामी प्रभावको छ।
हुन त यो लेख नेपाली कांग्रेस महाधिवेशनको गुरुत्वभित्र लेखिँदै छ। तर, यसमा मिसाइएको तीन नेताको वैचारिक मसलाले समग्र नेपालका ठूला पार्टीको एउटा साझा दृष्टिकोण प्रष्ट्याउन सहयोग गरेको छ। आम व्यक्ति जे सुकै बोलोस, त्यसको कुनै अर्थ रहदैन तर नेताले के बोल्यो त्यसको व्यापक अर्थ रहने रहेछ। के बोलियो भन्नेभन्दा को बोल्यो भन्ने कुराले ठूलो असर राख्ने गर्छ।
सानोमा घरमा मुसाले साहै दूःख दिँदा बिरालो पालिन्थ्यो त्यसले ‘म्याउँ’ मात्र गरे पनि मुसा भागिहाल्थे बिरालोले मुसा नमरी दूध नै खाएर बसे पनि घरमा शान्ति हुन्थ्यो। तर कहिलेकाहीँ बिरालो नहुँदा हामी आफैँले उस्तै आवाज बनाएर म्याउँ म्याउँ गर्दथ्यौँ, यो मुसाले चाल पाएर सताइहाल्थ्यो।
को बोल्यो; भन्ने कुरा मुसाले त चाल पाउँछ भने राजनीतिमा त झनै व्यापक असर हुने नै भयो। यो मंसिर महिना २०७८ मा ३ पार्टीको महाधिवेशन भयो जसले ३ अलग वैचारिक धारको राजनीति गर्छन्।
प्रत्येक महाधिवेशनमा आश्चर्यजनक घटना घट्न पुगे। पहिलो थियो एमालेको चितवनको महाधिवेशन जसमा केपी ओली अध्यक्ष बन्नुभयो।
अर्का अध्यक्षका उम्मेदवार भीम रावलले १० प्रतिशत मत ल्याउनु र ३९ मत तटस्थ रहे। यो परिणाम आश्चर्यजनक थियो किनकि रातो पाकेको लिचीमा स्ट्रबरी कसरी मिसियो। त्यत्तिकै आश्चर्यजनक थियो राप्रपाको महाधिवेशनमा कमल थापाले हारेर राजेन्द्र लिङ्देनले जित्नुमा।
लिङ्देनको यो जितको पछाडि निर्मल निवासको हात रहेको हल्ला राप्रपामा व्यापक छ। नेपाली कांग्रेसको यो महाधिवेशनलाई शुभकामना दिँदा नवनिर्वाचित राप्रपा अध्यक्षले नेपालमा सरकार ठिकसँग चल्न सकेन, संसद् राम्रोसँग चल्न सकेन र अदालत राम्रोसँग चल्न सकेन।
आजकल कुनै ठाउँमा कुनै नेता प्रमुख अतिथी वा अतिथि बनेर गएमा जनताले ‘कुन चोर’ आयो भन्छन्। भन्नु भएको थियो।
लिङ्देनको भाषणको प्रतिउत्तरमा तीन पूर्व-प्रधानमन्त्रीहरूले लगभग एकैस्वर र एकैलयमा प्रतिवाद गरे। उनको यो भनाइ प्रकारान्तरले गणतन्त्र र नेताभन्दा राजतन्त्र र राजा ठिक हो भन्ने पार्न नेताहरू माथि गरिएको दुष्प्रचार हो भन्ने सन्दर्भमा बोलियो भन्ने अनुमान भयो। तर जनता वास्तवमा के भन्छन् भन्ने तर्फ सोच्नु खोज्नु र बुझ्नु चाँहि जरुरी छ।
यससन्दर्भमा पुष्पकमल दाहालले स्पष्ट शब्दमा यो राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने भ्रम नपाल्न चेतावनी दिइरहँदा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजालाई सम्मानित भएर बस्न वा अर्को कुनै पार्टी खोल्न चुनौती दिनुभयो।
दाहाल, नेपाल र ओली राजतन्त्रको सम्भावित पुन:स्थापनाको सम्भावनाका सन्दर्भमा पूरै नकारात्मक देखिए। स्मरण रहोस् राजतन्त्रको विषयमा प्रधानमन्त्री देउवाले त्यहाँ नबोले पनि हालसालै विरोधमा बोलिसक्नु भएको छ। यसरी नेपालका प्रमुख चार शक्ति राजाको पुन:सत्तारोहणको विपक्षमा देखिएका छन्।
नेपाली कांग्रेसको निमन्त्रणा स्वीकारेर भाजपा अध्यक्ष जेपी नड्ढा र भारतका प्रम नरेन्द्र दामोदर दास मोदीका दूत बनेर आएका हर्षबर्धनले राजतन्त्रको बिषयमा केही बोलेर राजालाई हरियो कार्पेट विच्छ्याउनुभयो कि भन्ने सन्दर्भमा वाक्य केलाउने प्रयास पनि सबैतिरबाट भयो।
भारतबाट आएका अर्का पाहानु भारतीय राष्ट्रिय कांग्रेसका महासचिव मुकुल वास्विक तथा हर्षबर्धन दुवैले राजतन्त्रको उच्चारण पनि गरेको पाइएन।
यसैबीच के स्पष्ट भयो भने छिमेकी देश भारतले नेपाललाई असल छिमेकी, परस्पर हिताभिलाषि, यशस्वी देश भनेर प्रशंसा गरे र पार्टीलाई शुभकामना दिएर बिदा भए। त्यो समारोहमा चीनले कोही प्रतिनिधि पठाएको थिएन। सम्भवतः चीनले कांग्रेसको निमन्त्रणालाई बेवास्ता गरेको बुझियो। चीनबाट शुभकामना पत्र आएको थियो जुन जर्मनी चान्सलर र बंगलादेशका प्रधानमन्त्रीबाट पनि आएको कुरा मञ्चमा पढेर सुनाइएको थियो।
यो अधिवेशनमा जो नेता जसरी बोले त्यसको पहिलो संकेत राजतन्त्रको बारेमा देश तयार छैन। धर्मनिरपेक्षताको बारेमा कांग्रेस महामन्त्री शशांकले मात्र कुरा उठाउनु भयो अरू कसैले यो कुरा उठाएको सुनिएन। यसरी देश तत्काल राजाको विषयमा नकारात्मक नै देखियो। लिङ्देनलाई नयाँ बाच्छो बढी दौडन्छ र लड्छ भन्ने ‘हिदायत’ पनि दिइयो।
यसबाहेक प्रचण्डले कांग्रेससँग मिलेर जान चाहेको संकेत गर्नुभएको थियो। प्रधानमन्त्रीको भाषणले अब सबै स्थानीय तह, प्रदेश र संघमा नेपाली कांग्रेसले सरकारले बनाउँछु भनी गरेको घोषणाभित्र माओवादीको सहयोग अपेक्षित छ वा छैन बुझ्न सकिएन।
यसै कुरामा ओलीले प्रचण्डलाई सरकार गुम्ने त्रासले कसैलाई सताइरहेको छ भनी बेनामी टिप्पणी गर्दा जनसमुदायले ताली बजाए सम्भवत: यो भनाइ माधव नेपालको एकीकृत समाजवादीलाई पनि व्यंग्य हानिएको प्रष्ट बुझ्न सकिन्छ।
भाषणमा कांग्रेसले सबैसँग सहकार्य गरोस्। तर, नेतृत्व आफ्नो नीतिमा भन्ने सुझाव पनि ओलीको तर्फबाट आएको थियो। यद्यपि, आवधिक चुनाव र संसदीय व्यवस्था विश्वेश्वरप्रसाद कोइरालाकै नीतिअनुरूप भएकोले; अन्य झिना मसिना मुद्दा जो जसका भ एपनि मूलरूपमा देशको, राजनीति, अर्थनीति कांग्रेसकै गाइड लाइन हो भन्नेमा कांग्रेस लाइन निश्चिन्त थियो।
अधिवेशनमा कांग्रेस ढुक्क, माओवादी–एकीकृत समाजवादी संघर्षशील र एमाले पहिला जस्तै मिश्रित प्रणालीमा देखियो। उपेन्द्र यादव र महन्थ ठाकुरले बनीबनाऊ मधेश मुद्दालाई जोड दिए।
यी सबै कुराहरूको बीच कांग्रेसको शिक्षा नीति, विदेश नीति, पुँजीवाद र बिपीको प्रजातान्त्रिक समाजवादको अन्तरसम्वन्ध, कृष्णप्रसाद भट्टराई र बिपीको राजतन्त्रसम्बन्धी दृष्टिकोण, देशको कृषि, भूमिसुधार जस्ता विषयमा कुनै छनक पाइएन। सम्भवतः यी विषयहरू नवनिर्वाचित कार्यसमितीले सानेपाबाट नै गर्दै जाला।
बढ्दो चुनावी खर्च, बढ्दो बेरोजगारी, बाढी पहिरो र दुर्घटना समस्या, महँगी, बलात्कारपछि हत्याका घटना, न्याय सम्पादनका समस्याबीच नेपाली कांग्रेसले राजनीतिक कार्यान्तरणलाई युग सुहाउँदो बनाओस् भन्ने आम धारणा भृकुटीमण्डपमा उपस्थितहरूको थियो।
सिपी मैनालीले देशमा व्यवस्था फेरियो जनताको अवस्था फेरिएन भनी लगाएको आरोपलाई कांग्रेसले परिवर्तन गरोस्। कांग्रेसमा हाल ५ जना सभापतिका उम्मेदवार चुनावी मैदानमा छन् सम्भवतः सबैभन्दा धेरै सभापति अभिलाषी रहेको पार्टी पनि कांग्रेस नै देखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।