|

पाल्पा : बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित घिमिरे डाँडाका ५० वर्षीय जीवराज घिमिरे पेशाले शिक्षक हुन्। उनी सोही गाउँपालिको वडा नम्बर ९ मा रहेको कालिका आधारभूत विद्यालयमा प्रधानाध्यापक हुन्।

उनी बिहान सबेरदेखि राति अबेरसम्म काम व्यस्त रहन्छन्। जीवराजले बिहान १० देखि दिउँसो ४ बजेसम्मको समय विद्यालयलाई छुट्याएका छन्। त्यसबाहेकको समय बारीमा व्यस्त रहन्छन्। उनले घर छेउको तीन रोपनी बारीमा कुरिलो खेती गरेका छन्। त्यही कुरिलो बारीमा विद्यालय समयबाहेक जीवराज व्यस्त रहन्छन्।

५०० रूपैयाँबाट कुरिलो खेती सुरू गरेका उनले हालसम्म करिब ४० लाख कमाइसकेका छन्। ‘कम लगानी, बढी परिश्रम, बढी आम्दानी हुन्छ‚’ जीवराजले भने‚ ‘कुरिलो खेतीबाट वार्षिक ७ लाख बराबरको कारोबार हुन्छ। ६ लाख शुद्ध नाफा हुन्छ।’

जीवराजले १० वर्षदेखि कुरिलो खेती गर्दै आएका छन्। जेटिए अध्ययनरत उनकी श्रीमती लुमकला घिमिरेले युएसआइडीले सञ्चालन गरेको मागमा आधारित कार्यक्रममा काम गरेकी थिइन्। त्यही क्रममा तत्कालीन कृषि विकास कार्यालय पाल्पाका प्रमुख महेन्द्र कौडालले कुरिलो खेती गर्न सुझाए।

लुमकलाले एक पोका बिउबाट नर्सरी तयार गरिन्। उत्पादन भएका विरुवा घर अगाडिको मकै बारीमा रोपिन्। श्रीमान जीवराजले मकै खेती सखाप हुने भयो भन्दै विरुवा उखेलेर फाले। तर‚ जरा त्यहीँ रहेकाले फेरि विरुवा उम्रे। तरकारी खान मिल्ने गरी उत्पादन भए। यो देखेपछि जीवराज एक पटकलाई उत्पादन लिने सोंच बनाए। उत्पादन राम्रै भएपछि उनी हर्षित देखिए। सुरु सुरुमा कुरिलोको प्रचार प्रसार गर्न गाउँ गाउँमा पुगेर निःशुल्क बाँडे। निकै सस्तोमा बिक्री गरेको लुमकलाले सम्झिइन्।   

पछि माग बढ्दै गयो। किनेर लैजाने मानिस आउन थाले। तानसेन बजारदेखि पनि आउन थाले। मकै खेती नगरी जीवनाथले कुरिलो खेती गर्न थाले। अहिले तीन रोपनीभन्दा बढी बारीमा कुरिलो खेती गरिरहेका छन्। अहिले मागअनुसार पुर्‍याउन हम्मेहम्मे परेको जीवराज बताउँछन्। वर्षमा एक लाख रूपैयाँभन्दा बढीको विरुवा मात्रै बिक्री गर्दै आएको उनले बताए।

कोरोना र डेंगु रोगको औषधि हुने भन्दै घरमै कुरिलो किन्न आउनेको भीड नै लाग्ने गरेको जीवराजले सुनाए। ‘बजारको समस्या छैन। बरु मागअनुसार पुर्‍याउन सकिएको छैन‚’ उनले भने‚ ‘प्रतिकिलो ६०० रुपैयाँसम्म बिक्री हुँदै आएको छ। बेमौसमी उत्पादन गर्न सके प्रतिकिलोलाई २ हजारसम्म बिक्री हुन्छ।’

जीवराजले जापानमा उत्पादन भएको मेरि वासिङ्टन फाइभ हन्द्रेड डब्लु प्रजातिको कुरिलो खेती गरेका छन्। कुरिलो बहुवर्षे बाली हो। ४० वर्षसम्म यसले उत्पादन दिइरहने उनले बताए। खेतीका लागि मल, माटो र पानीको सन्तुलन मिलाउनुपर्छ। यस खेतीको अझै विस्तार गर्ने सोंचमा आफू रहेको जीवनाथले बताए।

जीवनाथ र उनकी श्रीमती लुमकलाले कुरिलो खेतीको स्याहार गर्दै आएका छन्। केही दिन ज्यालादारीमा कामदार लगाउने गरेको उनले सुनाए। बाँदरले नखाने भएकाले यो खेती ग्रामीण भेगका किसानका लागि अति उत्तम भएको जीवनाथको अनुभव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.