|

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन्।

पाण्डेले नेकपा एकीकृत समाजवादीबाट इन्द्रमाया गुरुङ, वसुन्धरा हुमागाईं र वसन्त मानन्धरलाई मन्त्री बनाउँदै छन्। हालसम्म मन्त्री बन्नेहरूको नाम टुंगो लागे पनि को–को केके मन्त्री बन्दै छन् भन्ने जानकारी नआएको हुमागाईंले बताए।

उनले भने, ‘आज मन्त्रिपरिषद् विस्तार हुन लागेको र म पनि मन्त्री बन्न लागेको जानकारी आए पनि कुन मन्त्री बन्न लागेको र कतिवेला शपथग्रहण हुँदै छ भन्ने जानकारी आएको छैन।’

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाललाई मन्त्री बन्ने पक्का भएको जनाइएको छ।

नेपाली कांग्रेसले भने अझै महाधिवेशन नसकिएकाले अहिलेको मन्त्रिपरिषद् विस्तारमा सहभागी नहुने जनाएको छ। मंगलबार नियुक्त हुन लागेका ६ जना मन्त्रीमा केही मन्त्री र केही राज्यमन्त्री बन्ने स्रोतले जनाएको छ।

कांग्रेसको स्रोतले जनाएअनुसार अर्को पटक कांग्रेसको ३ जना मन्त्री र दुईजना राज्यमन्त्री बन्ने गरी पुनः मन्त्रिपरिषद् विस्तार हुनेछ। मुख्यमन्त्री पाण्डेले गठबन्धनमा भागबण्डा मिलाउन हालै मन्त्रालय संख्या ८ बाट बढाएर १४ पुर्‍याएका थिए।

मुख्यमन्त्री पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेर साँझ ५ बजे शपथग्रहण गराउने तयारी गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.