|

काठमाडाैं: ०७६ मंसिर पहिलो साता छायांकन सुरु भएको 'चपली हाइट ३' नयाँ वर्षको अवसर पारेर चैत २८ मा प्रदर्शन गर्ने तयारी भइरहेको थियो।

३२ दिनमा छायांकन सकेर फिल्मको पहिलो गीत 'चारआनाको मसला' सार्वजनिक गर्दै निर्माण टोली प्रचारप्रसारमा पनि खटियो। 

ब्राण्ड बनिसकेको नाम, ठूलो बजेट, सस्पेन्स थ्रिलर जनरा आदिका कारण बजारमा 'चपली हाइट ३' को चर्चा राम्रै थियो। निर्माण टोलीले मात्र होइन दर्शकले पनि यो फिल्मबाट राम्रै अपेक्षा गरेका थिए। 

तर, त्यति नै वेला कोरोना भाइरसले विश्वभरी महामारीको रूप लिँदै थियो।

चीनबाट फैलन सुरु भएको भाइरस युरोप, अमेरिकाका विभिन्न देशहरूमा तीव्र गतिमा फैलन थाल्यो। चीनसँग सीमा नै जोडिएकाले नेपालमा यसको जोखिम अझै बढी थियो। 

सोही जोखिमलाई मध्यनजर गर्दै दश वर्षपछि मनाउन लागिएको नेपाल पर्यटन वर्ष २०२० स्थगित गरियो। स्कुल, कलेज, नाटकघर, फिल्म हल सबै बन्द भए।

चैत ११ देखि देश नै लकडाउनमा गयो। अन्य क्षेत्रलाई जस्तै यसको प्रत्यक्ष असर फिल्म क्षेत्रमा पनि पर्‍यो। 

सुरुमा एक साताको लागि गरिएको लकडाउन लम्बिएर ९ महिना पुग्यो। त्यति नै समय फिल्म हल पनि बन्द रहे।

कोरोनाको संक्रमण घटेसँगै जनजीवन पहिलेको अवस्थामा फर्कँदै थियो। फिल्म हल खुल्दै थिए, फिल्मको प्रदर्शन मिति तोकिँदै थियो।

कोरोनाको अर्को लहर आयो र देश फेरि अर्को लकडाउनमा गयो। दोस्रो लकडाउन झण्डै ५ महिना लम्बियो। 

कोरोनाको दुई लहरसँगै भएका दुई लकडाउनले नेपाली फिल्म उद्योग नराम्रोसँग थलिएको थियो।

गत असोज तेस्रो सातादेखि सरकारले फिल्म हल खोल्न अनुमति दियो तर फिल्म लगाइहाल्ने अवस्था भने थिएन।

कोरोनाको संक्रमण दर त घटेको थियो तर दर्शक पहिलेको जस्तै गरी फिल्म हेर्न हलसम्म आउँछन् भन्ने कसैलाई विश्वास लागेको थिएन। 

प्रदर्शनको लागि तयार भएर पनि डेढ वर्षदेखि रोकिएका फिल्म अनुकूल समयको पर्खाइमा अझै केही समय रोकिए। यो बेला सरकारले पनि राहतस्वरुप केही व्यवस्था गर्नुपर्ने भन्दै सरोकारवाला संघहरू मिलेर लामै दौडधुप पनि गरे। 

सामान्य अवस्थामा फिल्म प्रदर्शनको सबैभन्दा उत्तम समय मानिने दशैँ गयो, तिहार गयो तर, नेपाली फिल्म प्रदर्शनमा आएनन्। 

त्यो बीचमा केही विदेशी फिल्म प्रदर्शनमा आए तर, नेपाली निर्मातालाई अब फिल्म प्रदर्शन गर्दा हुन्छ भन्ने लागेन।

किनकि दर्शकको उपस्थिति अझै पनि त्यस्तो उत्साहजनक थिएन। अनि आफैं हलमा फिल्म लगाएर जोखिम मोल्न निर्माता चाहँदैनथे। 

त्यसपछि तिहारको अवसर पारेर प्रदर्शनमा आएको बलिउड फिल्म 'सूर्यवंशी' हेर्न दर्शकको यस्तो भीड उर्लियो कि त्यसले नेपाली निर्मातासमेत उत्साहित भए। कोरोनाकाल सुरु भएपछि त्यस्तो भीड कुनै पनि फिल्ममा देखिएको थिएन। 

त्यसपछि भकाभक नेपाली फिल्मले पनि प्रदर्शन मिति तोक्न थाले।

अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशनमा बनेको 'चपली हाइट ३' ले पुस २ लाई आफ्नो प्रदर्शन मिति तोक्यो। जुन कोरोना महामारीपछि हलमा प्रदर्शन हुन लागेको ठूलो बजेटको पहिलो फिल्म थियो। 

फिल्मको पोस्टरबाट चैत २८ हटाएर पुस २ राखियो र एकपटक फेरि प्रचारप्रसार सुरु भयो। 

सोही मितिमा तेलुगु फिल्म 'पुष्पा' प्रदर्शनमा आउने भएपछि 'चपली हाइट ३' लाई गाह्रो पर्ने देखियो।

अहिले नेपाली फिल्म उद्योग एकदमै संवेदनशील अवस्थामा रहेकाले यतिवेला नेपाली फिल्मलाई प्राथमिकता दिनुपर्ने माग निर्माता अर्जुन कुमारले राखे। 

लकडाउनले आफूहरूलाई पनि असर गरेको र लामो समय बन्द रहँदा ठूलो क्षति बेहोर्नुपरेको र यो स्वतन्त्र व्यवसाय भएकाले आफूहरूले विदेशी फिल्म लगाउन पाउनुपर्ने हलवालाहरूको तर्क थियो। 

निर्माता कुमारले आफ्नो फिल्म पुस २ मै लगाउने र पुष्पा प्रदर्शनमा आउने भए आफ्नो फिल्म नलगाउने बताउँदै आएका थिए। 

'चपली हाइट ३' र 'पुष्पा'सँगै सोही मितिमा हलिउड फिल्म 'स्पाइडर म्यानः नो वे होम' पनि प्रदर्शनमा आउँदै थियो। जसको फ्यान नेपालमा पनि उल्लेख्य छन्। 

दुई वटा ठूला बहुप्रतिक्षीत विदेशी फिल्मसँग प्रदर्शन मिति बाँड्नुको मतलब हुन्थ्यो हलमा स्वतः थोरै शो पाउनु। अनि यसको प्रत्यक्ष असर फिल्मको व्यापारमा पर्न जान्थ्यो। 

यस्तै यस्तै कारणले गर्दा प्रदर्शन मितिभन्दा ४ दिनअघि 'चपली हाइट ३' पुस २ मा प्रदर्शन नगर्ने निष्कर्षमा निर्माता पुगे। 

फिल्म तोकिएको मितिभन्दा दुई साता पछि सर्‍यो। पोस्टरमा फेरि पुस २ हटाएर पुस १५ लेखियो। 

कुरा एउटा नेपाली फिल्म 'चपली हाइट ३' को मात्र होइन सम्पूर्ण नेपाली फिल्म उद्योगको हो।

नेपाली फिल्म प्रदर्शन गर्न विदेशी फिल्म नै कुर्नुपर्ने र विदेशी फिल्मकै कारण नेपाली फिल्म तोकेको मितिमा प्रदर्शनमा आउन नसक्नुले हाम्रा फिल्म र फिल्म उद्योगको अवस्था कस्तो छ भन्ने देखाउँछ।

नेपाली फिल्मको अवस्था यस्तो हुनुको कारण कोरोना मात्र होइन।

कोरोनाकाल सुरु हुनुभन्दा अगाडि पनि नेपाली फिल्म उद्योगको अवस्था यस्तै यस्तै नै थियो। त्यतिवेला खुट्टा कमाएर भए पनि थिरिथिरी गरिरहेको थियो भने अहिले थलिएको अवस्थाबाट उठ्न सकेको छैन।

निर्माता कुमारका अनुसार नेपाली फिल्म उद्योग जतिवेला पनि कोल्याप्स हुनसक्ने अवस्थामा छ। जुन पछिल्ला घटनाक्रमले सत्य सावित गर्छन् पनि। 

यतिवेला फिल्म उद्योगसँग सम्बन्धित हरेक संघ, संस्था तथा व्यक्तिका निर्णयले ठूलो अर्थ राख्छ।

सरोकारवाला सबै एकजुट भएर अघि बढ्नुपर्ने वेलामा निर्माता र हलवालाबीचको असमझदारीले फिल्म उद्योगलाई दीर्घकालीन असर पार्ने देखिन्छ।

नेपाली फिल्म उद्योग कोल्याप्स भयो भने के हुन्छ? 
कथावाचनको सबैभन्दा प्रभावकारी माध्यम फिल्म मनोरञ्जनको साधन मात्र होइन। यसमा समाज रूपान्तरण गर्नसक्ने क्षमता हुन्छ। 

नेपाली फिल्म उद्योग कोल्याप्स हुनुको अर्थ लाखौँको रोजगार खोसिनु त हो नै साथै हाम्रा कथा नआउनु पनि हो। 

ठूला बजेटका, अत्याधुनिक प्रविधिको प्रयोग भएका विदेशी फिल्मले हामीलाई भरपूर मनोरञ्जन र सोच्ने दायरा फराकिलो बनाउन मद्दत गर्छ।

फिल्मका विद्यार्थीका लागि हरेक फिल्म एउटा पाठशाला नै सावित हुन पनि सक्छ। त्यो जरुरी पनि छ। 

तर, सँगै नेपाली फिल्मको विकास पनि जरुरी छ। हाम्रो कथा भन्नको लागि यहीँको कथाकार चाहिन्छ, फिल्ममा यहीँको गन्ध दिनसक्ने निर्देशक चाहिन्छ, यही माटोको कलाकार चाहिन्छ। 

त्यसकारण हाम्रो उद्योग बचाइराख्नु जरुरी छ। र, यससँग सम्बन्धित निर्माता, वितरक तथा सम्पूर्ण फिल्मकर्मी गम्भीर नभएसम्म नेपाली फिल्म उद्योगको विकास असम्भव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.