|

काठमाडौं : पछिल्लो समय राजीनामा दिने सामुदायिक विद्यालयका शिक्षकको संख्या ह्वात्तै बढेको छ। राष्ट्रिय किताबखाना(शिक्षक)का अनुसार दुई सातामा चार सय जना शिक्षकले राजीनामा दिएका छन्।

दैनिक निवृत्तिसहित ४० देखि ५० जनाको राजीनामा फाइल आउने गरेको किताबखाना (शिक्षक)का कायम मुकायम उप-महानिर्देशक रामराज खकुरेलले जानकारी दिए। उनले भने,‘हामीकहाँ राजीनामा दिएको फाइल संख्या दुई सातादेखि बढेको छ।’

राजीनामा दिनेको संख्या बढेसँगै कामको चाप पनि बढेको छ। जसकारण समस्या थपिएको उनले बताए। उनका अनुसार किताबखाना(शिक्षक)मा ३३ जनाको दरबन्दी छ। पाँच जनाको पूर्ति हुन सकेको छैन्। ‘कम कर्मचारी छौँ, दैनिक ५० वटा फायल आउँदा मिलाउनै समस्या छ, कर्मचारी मर्कामा परेका छन, अर्कोतर्फ बजेट पुग्दैन,’ उनले समस्या सुनाए।

किन बढ्याे राजीनामा दिनेकाे संख्या ? 

विभिन्न राजनीतिक पार्टीको महाधिवेशन सुरु भएसँगै धेरै सामुदायिक विद्यालयका शिक्षक पार्टीमा क्रियाशील हुन थालेका छन्। यसको व्यापक विरोध भएको थियो। उच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न आदेश पनि जारी गरेको थियो।

अदालतले गत मंसिर १९ गते निवेदक अजित भण्डारी र विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं समेत भएको उत्प्रेषणको रिट निवेदनमा त्यस्तो आदेश भएकाे थियो। त्यसपछि गत २३ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ती आदेश कार्यन्वयन गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तह निकायलाई निर्देशन दिएको थियो।

यही नैतिक दबावले पनि शिक्षकले राजीनामा दिने गरेको किताबखाना(शिक्षक)का कायम मुकायम उप-महानिर्देशक खकुरेलले बताए। राजनीतिक दल सम्बन्धी ऐन २०७३,निजामति सेवा ऐन,शिक्षा ऐनमा सरकारी सेवामा संलग्न हुने कर्मचारी सम्बन्धी विभिन्न ऐन मा सार्वजनिक दलमा बहाल रहेका व्यक्तिहरुले राजनीतिमा भाग लिन नपाइने प्रावधान छ।

उनले भने,‘अहिले पनि महाधिवेशन चलिरहेको छ, फेरि स्थानीय चुनाव पनि आउँदै छ त्यसैले शिक्षक पेसा छाडेर राजनीति गर्नलाई पनि राजीनामा दिएको पाइयो।’ उनका अनुसार राजनीतिक पाटोसँगै राजीनामा दिनुपर्ने अरु पनि कारण छन्।

‘सरकारले छोड्न चाहनेलाई छुट पनि दिएको छ,सेवा अवधि सकिन लागेकालाई एकमुष्ट सेवा सुविधा दिने गरेको छ, यस कारणले पनि छोडेका छन्,’ उनले भने। अहिले सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यामबाट पढाइ हुन थालेको छ।

यी माध्यामबाट पढाउन नसक्नाले पनि शिक्षकले जागिर छोडेकाे उनले सुनाए। त्यस्तै,दरबन्दी मिलानामा एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने भएकाले पनि राजीनामा दिएको खकुरेलले बताए। 

२०४८ सालमा स्थायी भएका शिक्षकको सेवा अवधि ३० वर्ष राखेको थियो। यही सालले ३० वर्ष भयो। ‘उनीहरूले पेन्सन पाउँछन,’ उनले भने,‘त्यसैले पनि छोडेका छन्।’ उनका अनुसार देशभर एक लाख सात हजार ८ सय ६० शिक्षक छन्। यो वर्ष २७ सय शिक्षक सेवा विवृत हुने छन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.