|

वासिङटन : नासाको अन्तरिक्ष यान द पार्कर सोलार प्रोब पहिलोपटक सूर्यको माथिल्लो वायुमण्डल (कोरोना) मा प्रवेश गरेको छ।

अमेरिकी जिओफिजिकल यूनियनको बैठकमा नासाका वैज्ञानिकहरूले यो उपलब्धि घोषणा गरेका हुन्।

वास्तवमा पार्कर सोलार प्रोब अप्रिल महिनामा सूर्यको नजिकैबाट आफ्नो आठौं यात्राका क्रममा कोरोनाबाट पार भएको थियो।

वैज्ञानिकहरूले यो प्रोबले भेला गरेको तथ्यांक प्राप्त गर्न र त्यसको पुष्टि गर्न धेरै महिना लागेको बताए।

‘यो निकै चाखलाग्दो छ’, जन हप्किन्स विश्वविद्यालयका यस परियोजनाका वैज्ञानिक नोउर रावउफीले भने।​

प्रोबले सूर्यको वायुमण्डल (कोरोना) र त्यहाँका कणहरू र चुम्बकीय क्षेत्रको नमुना लिएको पनि जानकारी दिइएको छ।

यो नयाँ कार्य एउटा ठूलो कदम र सौर्य विज्ञानको लागि ठूलो छलाङ भएको उनीहरूको कथन छ।

चन्द्रमामा अवतरणले वैज्ञानिकहरूलाई यो कसरी बन्यो भनेर बुझ्न सजिलो भएजस्तै सूर्य जुन चिजबाट बनेको हो त्यही वस्तु(कोरोना) लाई छुँदा वैज्ञानिकहरूलाई हाम्रो सबैभन्दा नजिकको तारा र सौर्यमण्डलमा पर्ने यसको प्रभावको बारेमा महत्वपूर्ण जानकारी पत्ता लगाउन मद्दत गर्ने रावउफीले बताए।

यो प्रोबलाई सन् २०१८ मा पठाइएको थियो। पार्करले पहिलोपटक सौर्य वायुमण्डल र आउँदै गरेको सौर्य वायु पार गर्दा ऊ सूर्यको केन्द्रबाट १ करोड ३० लाख किलोमिटर मात्र टाढा थियो।

यो क्रममा ऊ तीनपटक कोरोनाभित्र प्रवेश गरेको थियो। यो अवधिमा हरेक पटक प्रवेश गर्न निकै सजिलो भएको वैज्ञानिकहरुले बताएका छन्।

मिशिगन विश्वविद्यालयका जस्टिन कास्परले पार्कर निकै तीव्र गतिमा भ्रमण गरिरहेको र त्यस क्रममा उसले निकै लामो दूरी पार गरेको बताए।

यस क्रममा उसको गति प्रतिसेकेन्ड सय किलोमिटर थियो।

सूर्यको कोरोना सोचेभन्दा बढी धुलोले भरिएको कास्परले बताए।

भविष्यमा पठाइने अरु कोरोना मिसनले वैज्ञानिकहरूलाई सौर्य वायुको उत्पत्तिबारे बुझाउन मद्दत गर्नेछ।

यसका साथै यो कसरी तातो हुन्छ र अन्तरिक्षमा कसरी फैलिन्छ भन्ने पनि थाहा हुनेछ।

प्रारम्भिक तथ्याङ्कले पार्कर अगस्टमा आफ्नो नवौं भ्रमणका क्रममा कोरोनाभित्र गएको बताउँछ तर वैज्ञानिकहरूले थप विश्लेषण आवश्यक रहेको बताएका छन्।

पार्करले गत महिना सूर्यको नजिक आफ्नो दशौँ यात्रा पूरा गरेको छ। 

पार्करले नजिकबाट सूर्यको वरिपरि भ्रमण गरिराख्नेछ र सन् २०२५ मा उसको कक्षमा प्रवेश गर्नेछ।

पृथ्वीको जस्तो सूर्यको कुनै ठोस सतह हुँदैन। तर यसमा गुरुत्वाकर्षण र चुम्बकीय बलद्वारा बाँधिएको सौर पदार्थबाट बनेको अति तातो वायुमण्डल छ। 

‘पार्कर सोलार प्रोब ‘सूर्य छुने’ सौर्य विज्ञानका लागि एक महत्त्वपूर्ण क्षण र उल्लेखनीय उपलब्धि हो’, वासिङटनमा नासा मुख्यालयमा विज्ञान मिशन निर्देशालयका उपप्रशासक थोमस जुर्बुचेनले भने‚ ‘यो उपलब्धिले हामीलाई हाम्रो सूर्यको विकास र यसले हाम्रो सौर्यमण्डलमा पार्ने प्रभावबारे गम्भीर दृष्टिकोण मात्र प्रदान गर्दैन, हाम्रो आफ्नै ताराको बारेमा सिकेका सबै कुराले हामीलाई ब्रह्माण्डका बाँकी ताराहरूबारे थप सिकाउनेछ।’

सन् २०१९ मा पार्करले सौर्य हावामा 'स्विचब्याक' भनिने बांगाटिंगा चुम्बकीय संरचनाहरू, सूर्यको नजिक प्रशस्त भएको पत्ता लगाएको थियो।

तर तिनीहरू कसरी र कहाँ बन्छन् भन्ने तथ्य अझै रहस्यमय नै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.