|

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार लिभरपुलले न्युक्यासलसँग सहज जित निकाल्दा अर्को दाबेदार चेल्सी भने एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको छ।

जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग पुनः अग्रता १ अंकमा झारेको छ। बिहीबार राति न्युक्यासललाई ३-१ ले पराजित गर्दै लिभरपुलले आफ्नो उपाधि होड कायम राखेको हो।

खेलमा अग्रता भने न्युक्यासलले लिएको थियो। सातौं मिनेटमै जान्जो शेल्वेले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाए। तर‚ २१ औं मिनेटमा डियोगो जोताको गोलमार्फत लिभरपुल खेलमा फर्कियो। २५ औं मिनेटमा सलाहले गोल गर्दे लिभरपुललाई अग्रता दिलाउँदा तेस्रो गोल भने ८७ औं मिनेटमा अलेक्सेन्डर अर्नोल्डले संभव बनाएका थिए। लिभरपुलको जितमा स्टार स्ट्राइकर मोहमद्ध सलाहले गरेकव गोल सिजनमा आफ्नो २२ औं गोल हो।

चेल्सी एभरटनसँग रोकियो

उपाधि होडमा बलियो दाबेदारी दिंदै आएको चेल्सी भने एभर्टनसँग अप्रत्यासित रुपमा १-१ गोलको बराबरीमा रोकिएको छ। उपाधि होडमा शीर्ष तीन टिमबिचको तीव्र प्रतिस्पर्धा रहिरहँदा चेल्सीको बराबरीले सिटी र लिभरपुललाई केही राहत मिलेको छ। चेल्सीले भने तेस्रो स्थानमा साँघुरो अग्रता बनाउने अवसर भने चुकायो।

इंग्ल्यान्डका मिडफिल्डर मेसन मोउटले ७० औं मिनेटमा रिस जेम्सको पासलाई सदुपयोग गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए। तर‚ एभर्टनले चार मिनेटपछि नै बराबरी गोल फर्कायो। १९ वर्षीय डिफेन्डर जराड ब्राथवेटले लिगमा आफ्नो पहिलो उपस्थितिमा नै एन्थोनी गोर्डनको फ्रिकिकलाई सदुपयोग गर्दै गोल गरे।

जितपछि लिभरपुलको १७ खेलबाट ४० अंक जोडेर दोस्रो स्थानमा छ। शीर्ष स्थानको सिटीको समान खेलबाट ४१ अंक छ। बराबरीपछि पनि चेल्सी ३७ अंकका साथ तेस्रो स्थानमा कायम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.