विराटनगर : कामको गति सुस्त भएको आरोप खेप्दै आएका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पछिल्लो समय मन्त्री नै नभएको मन्त्रालयमा कार्यकर्तालाई स्वकीय सचिवको जिम्मेवारी दिएको भन्दै विवादमा तानिएका छन्।
पाँचदलीय गठबन्धनको समर्थनमा गत कात्तिकमा मुख्यमन्त्री नियुक्त भएको महिना दिन बितिसक्दा समेत मन्त्रिपरिषद विस्तारका साथै अन्य काममा अलमलिएका मुख्यमन्त्री राईले भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ४ जनालाई सचिवमा नियुक्त गरेका हुन्।
मन्त्री राईले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रमुख स्वकीय सचिवमा निर्मल भण्डारी र स्वकीय सचिवमा रोहित गौतमलाई नियुक्त गरेका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रमुख स्वकीय सचिवमा किसन भगत र स्वकीय सचिवमा उदय यादवलाई नियुक्त गरेका छन्।
स्वकीय सचिव मन्त्रीले नियुक्त गर्ने पद भएपनि मन्त्री नै नभएको मन्त्रालयमा सचिव नियुक्त हुँदा यतिवेला प्रदेश १ को राई नेतृत्वको सरकार विवादित बनेको छ।
चिठ्ठीपत्र आदानप्रदान र अल्पकालीन व्यवस्थाका लागि स्वकीय सचिव नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिँदै मन्त्री नियुक्ति भएसँगै अनुकूल नभए स्वकीय सचिव फेरिने बताएको छ।
मुख्यमन्त्री राईसँगै आर्थिक मामिला तथा योजनामन्त्रीमा ईन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकासमन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केदार कार्की, सामाजिक विकासमन्त्रीमा जयराम यादव र सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फे नियुक्त भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।