|

रुकुम पूर्व : रुकुम पूर्वमा शुक्रबार (आज) बृहत् कृषि प्रदर्शनी मेला आयोजना गरिएको छ। जिल्लाको सिस्ने गाउँपालिका–६ स्थित छिप्रिदहमा शुक्रबार जिल्लास्तरीय बृहत् कृषि प्रदर्शनी मेला आयोजना गरिएको हो। 

निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक खेतीमा रूपान्तरण गर्नुका साथ कृषि उपज उत्पादनमा कृषकको प्रतिस्पर्धी खेतीपाती गर्नमा टेवा पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्व, सिस्ने गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय र हुरेड–कार्स रुकुम पूर्वले संयुक्त रूपमा बृहत् कृषि प्रदर्शनी मेलाको आयोजना गरेका हुन्।

पहिलो दिन बिहीबार (हिजो) मेलामा भाग लिने कृषकको नाम दर्ता गरिएको थियो। कृषि प्रदर्शनी मेलाका लागि जिल्लाका १ सय ९८ जना कृषकले आफ्नो नाम दर्ता गरेका थिए। ती प्रतिस्पर्धीबाट ७६ जना कृषकलाई प्रमाणपत्रका साथै नगदले पुरस्कृत गरिएको हो। 

कृषकको उत्पादनलाई ११ वटा विधामा राखेर पुरस्कारका लागि मूल्याङ्कन गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका पशुपन्छी शाखा अधिकृत छविलाल घर्ती मगरले जानकारी दिए।

नगदे बाली, तरकारी बाली, फलफूल बाली, खाद्यान्न बाली, दलहन, रैथाने बाली, तेलहन बाली, मौरी, माछा, पशुपन्छी र मसला लगायत बालीलाई छुट्टाछुट्टै मूल्याङ्कन गरिएको थियो।

यी ११ विधामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने कृषकलाई प्रमाणपत्र सहित क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँले पुरस्कृत गरिएको थियो। राम्रो काम गरेकालाई पुरस्कृत गरिने र अन्यलाई पनि काम गर्नुपर्दो रहेछ भन्ने भावना जगाउनु मेलाको मुख्य उद्देश्य रहेको थियो। 

जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले कृषि मेलाको उद्घाटन गरेका थिए। जसमा जिल्ला स्थित गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायत जिल्लास्थित सरकारी एवं गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले मेला अवलोकन गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.