|

जुम्ला : २०१९ डिसेम्बर ३१ मा चीनको बुहान प्रान्तबाट सुरु भएको कोराना भाइरस कोभिड-१९ का कारण विश्वभर महामारी फैलियो।

उक्त महामारीमा विश्वको मानवीय र आर्थिक क्षति धेरै भयो। मानवीय क्षतिका कारण विश्व तहसनहस हुन पुग्‍यो। आर्थिक रूपमा पनि विश्व अझै तंग्रिन सकेको छैन।

त्यसयता पनि विभिन्न भेरियन्टका कोराना भाइरस फैलिइरहेका छन्। अहिले फेरि नयाँ भेरियन्टको कोरोना भाइरस फैलिएको छ।  जसकारण अफ्रिका र युरोप तहसनहस भएको छ।

यसरी विश्वव्‍यापी फैलिएको कोरोना महामारीले नेपाल पनि अछुतो रहन सकेन। लामो समय लकडाउन गरिनुका साथै विभिन्न वैदेशिका नाका बन्द गरिनुका साथै क्वारेन्टाइनको व्यवस्था नेपाल सरकारले गर्‍यो। विस्तारै कोभिडविरुद्धका विभिन्न खोप आउन थालेपछि यहाँका नागरिकहरूलाई केही राहत महसुस भएको छ।

कोरोना भाइरसको जोखिममा कुनै उमेर, लिंग, वर्ग छुट्याएन। यस्तो महामारीले विश्वलाई नै चपेटामा पारे पनि केही समूहका मानिसहरू अरूभन्दा बढी जोखिममा परेका छन्।

जसमा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, असक्त, दीर्घरोगी, गर्भवती तथा सुत्केरी र शिशुसमेतलाई निकै प्रभावमा पारेको छ। दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरूलाई पनि सारै अप्ठेरो परेको छ।

अपांगता भएका व्यक्ति बढी प्रभावित

कोरोना महामारीमा अपाङगता भएका व्यक्तिहरूलाई बढी प्रभावित बनायो। जसलाई यसै पनि सहज रूपमा बाँच्न अप्ठेरो थियो। त्यही समूहका व्यक्तिहरूलाई कोरोना भाइरसले झनै दुःख खप्न बाध्य बनायो। महामारी फैलिएपछि उनको अवस्था कस्तो होला कल्पना गर्दा पनि कहाली लाग्छ।  

कोरोना भाइरस कोभिड १९को मारमा जुम्ला जिल्लाका ३ हजार २ सय ४८ जना अपांगता भएका व्यक्ति परेका छन्। उनीहरू कोरोना भाइरसको मार भोग्न बाध्य छन्।

८३ वर्षीया सांघेफुटिङ लामा साहराविहीन महिला हुन्। उनी पछिल्ला चार पाँच वर्षदेखि सडकमै बास बस्ने गर्छिन्। उनलाई लाउन खान पनि समस्या छ। उनी दिनभर हात जोडेर खाना माग्दै हिड्छिन्।

उनको स्थायी बास मुगु जिल्लाको डोल्फुगाउँ पर्छ। उनको दिनचर्या मागेर नै जुम्ला सदरमुकाम खलंगामा बित्छ। उनी कान सुन्दिनन्। शारीरिक रुपमा पनि कमजोर छन्।

लामालाई सिविएम नेपालको सहयोगमा आईएनएफ नेपालले राष्ट्रिय अपांग महासंघ नेपालसँग साझेदारीले ६० केजी चामल, दाल १५ केजी, खाने तेल ५ लिटर, नुन १ किलो, जिरा एक प्याकेट, चिनी ४ किलो, खुर्सानी १ प्याकेट, बेसार एक प्याकेट र सावुन २ वटा  राहत दियो।

लामाको नत कुनै अपांगताको  परिचय खुल्ले परिचतपत्र छ। नत उनीसँग नेपाली नागरिकता नै छ। अपांग पुन:स्थापना तथा विकास केन्द्र  राहत पाउने लाभग्राही कार्ड  दिएको छ।

त्यस्तै, चन्दननाथ नगरपालिका २ डाँडाकोटकी हरिशोभा कामी पनि अपांगता भएकी महिला हुन्। उनको शरीरको तल्लो भाग चल्दैन। उनलाई पनि ६० केजी चामल, दाल १५ केजी, खाने तेल ५ लिटर, नुन १ किलो, जिरा एक प्याकेट, चिनी ४ किलो, खुर्सानी १ प्याकेट, बेसारलगायत राहत  दिइएको छ।

अपांगता भएका व्यक्तिका बारेमा सरकार बेखबर 

अपांगता भएका व्यक्तिकाबारेमा सरकारले कुनै ध्यान दिएको छैन। सरकार अपांगता भएका व्यक्तिहरूको अभिभावक बन्नुपर्ने हो तर सरकारले पनि नहेरेपछि उनीहरू उनीहरू अभिभावकविहीन बनेका छन्। महामारीका बेला अपांगता भएकाहरूप्रति राज्य मौन बस्यो।

जुम्लामा  कुनै पनि  स्थानीय सरकार महामारीमा अपांगता भएका व्यक्तिका लागि अभिभावक बन्न सकेनन्।

विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरसको असरले  सबैभन्दा बढी प्रभावित अपांगता भएका व्यक्ति भए। उनको जनजीवन अस्तव्यस्त बनाएको छ। सर्वव्यापी स्वास्थ्य अधिकार र सुरक्षित रुपमा जीवन बाँच्न पाउनु मानव अधिकार हो।

खोपसमेत पाएका छैनन्

अहिले कोरोना महामारीविरुद्ध लड्दै गर्दा मानव अधिकारका विश्वव्यापी सिद्धान्तहरू, मौलिक अधिकारको रक्षा र परिपूर्ति गर्ने कुरामा सरकार संवेदनशील बन्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख बृद्धनारायण साहनीले बताए। उनले भने, ‘उल्लेखित जोखिममा परेका समूह र अझै बढी अपांगता भएका व्‍यक्तिहरू समस्यामा रहेका छन्।’

यस्ता, कुरालाई सरकारले ध्यानमा राखी उक्त समूह र व्यक्तिको पहिचान गरी यथाशीघ्र स्वास्थ्य चेक जाँच कार्यक्रम लागू गर्न आवश्य छ।  उनले भने, ‘अपांगता भएका व्यक्तिको जनजीवन अस्तव्यस्त छ। अपांगता भएका व्यक्तिले कोरोनाको खोपसमेत पाएका छैनन्। सरकारले अपांगता भएका व्यक्तिलाई कोरोनाको खोपको पहुजमा पुर्‍याउनका लागि  निश्चित मापदण्ड बनाउन आवश्यक  रहेको छ।’

अपाङ्गमैत्री भौतिक पूर्वाधार नहुँदा झन् समस्या

 नेपालमा अपांगता भएकाहरूको संख्या ३ लाखभन्दा बढी छ। जुम्लामा मात्रै २०६८ को जनगणनाअनुसार ३ हजार २ सय ४८ जना अपांगता भएका व्यक्ति छन। तर, अपाङ्गमैत्री भौतिक पूर्वाधार नहुँदा अपाङ्गता भएकाहरूको पहुँच हरेक क्षेत्रमा कमजोर छ।

विद्यायल, बैंक तथा वित्तीय संस्था ,स्थानीय तह सहित विभिन्न खाले संघसंस्था र कार्यालयहरूको भौतिक संरचना अपाङ्गमैत्री नहुँदा अपांगता भएकाहरू समस्यामा परिरहेका छन्। अपाङ्गमैत्री भौतिक संरचना बैंक तथा वित्तीय संस्थाका सबै शाखा र कार्यालयहरू अपाङ्गमैत्री भइसकेका छैन।

जुम्लाका बैंकको कारोबार माथिल्लो तलामा हुने हुँदा दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरूलाई असहज हुने हुँदा समस्या भोग्दै आएका छन्। अब बन्ने भौतिक संरचनाहरू अपाङ्गमैत्री हुनुपर्ने र बैंकमा कार्यरत कर्मचारीहरूको व्यवहार पनि राम्रो हुनुपर्ने अपाङ्ग पुन:स्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धिताल बताउँछन्।

आगामी दिनमा बैंक तथा वित्तीय संस्थाले भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

सहयोगमा जुटेको सिबिएम

सिबिएम नेपालको सहयोगमा आइएनएफ नेपालले राष्ट्रिय अपांग महासंघ नेपालसँग साझेदारी गर्दै कोरोनाले प्रभावित पारेका अपांगता भएका व्यक्तिलाई राहत वितरण गरेको छ। चन्दननाथ नगरपालिकाका १० वटै वडा र कनकासुन्दरी दुवै स्थानीय तहमा ५ सय ४५ जनालाई राहत वितरण गरेको छ।

अपांग पुन:स्थापना तथा विकास केन्द्र जुम्लाका अनुसार कोरोना महामारीमा सिबिएमले राहत वितरण गरेर अलिकति भए पनि अपांगता भएका व्यक्तिलाई राहत भएको छ। 

अपांगता भएका व्यक्तिलाई महामारीले झन सकस भएको भन्दै राहत दिइएको  आईएन एफ नेपाल जुम्ला समावेशी कोभिड १९ तयारी तथा प्रतिकार्य योजनाका कार्यक्रम संयोजक फालुराम चौधरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.