२० सिटको क्षमतामा ५० यात्रु, पैसामा बिक्छन् प्रहरी

|

जुम्ला : कर्णाली राजमार्ग दैलेख सडक खण्डको केही भाग कालोपत्रे नहुँदा यात्रुलाई सास्ती भएको छ। कर्णाली राजमार्गको दैलेख सडक खण्डको झण्डै  १० किलोमिटर सडक कालोपत्रे भएको छैन।

कर्णाली राजमार्गको सडकको अवस्था ठिक नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानी तथा आपूर्तिमा समस्या भएको छ। सडक डिभिजन कर्यालय सुर्खेतले १३२ किलोमिटर हेर्ने जिम्मा छ।

बाँकी सय किमि जुम्लाले हेर्दै आएको सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनियर तुलाराम शर्माले बताए। उनले भने, '७३ किलोमिटर सडक तत्काल स्तरोन्नतिको काम भएको छैन। समयमै काम नगर्ने ठेकेदारका कारण केही ढिला भएको हो। इन्जिनियर शर्माले भने, 'राकमदेखि मेलतोलीसम्मको सडकको स्तरवृद्धि गरिएको छ।'

कर्णाली राजमार्ग कतिपय स्थानमा वर्षायामको पहिरोले सडक पुरिएको छ। सडक पुनर्निर्माण गर्ने बहानामा बर्सेनि मोटो रकम खर्च हुने गरेको छ। तर, सडकको अवस्था फेरिएको छैन । कर्णाली राजमार्गको सुर्खेतदेखि गमगडीसम्मको सय किलोमिटर लामो सडकखण्डमा पहिरोको जोखिम अत्यधिक छ।

पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा पनि पन्छाउने उपकरण नहुँदा यात्रुले सास्ती व्यहोर्नुपरेको छ। यो राजमार्गको ट्र्याक खुलेको दशक बढी भइसकेको छ। तर, हालसम्म पनि यो राजमार्गमा ढुक्कसाथ यात्रा गर्ने बाटो बनेको छैन।

पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने भए पनि राजमार्ग स्तरोन्नतिका लागि राज्यको ध्यान पुग्न नसकेको कर्णालीवासीको गुनासो छ।

सडक डिभिजन कार्यालय जुम्लाले प्रत्येक वर्ष दर्जनौं ठाउँमा पहिरो गए पनि पन्छाउने काम मात्रै गर्दै आएको छ। सडक स्तरोन्नतिको काम भने खासै भएको देखिँदैन। ​​​

मृत्युमार्गका नाममा परिचित कर्णाली राजमार्गमा अझै पनि दुर्घटनामा कमी आएको पाइँदैन। कर्णालीका नागरिक जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य छन्।

साँघुरो सडक भएका कारण सवारी ओहोरदोहोर गर्न कठिन हुने गरेको ट्रकचालक जनक सिंहले बताए। उनले भने, 'कर्णाली राजमार्ग उसै पनि जोखिममा छ। सडक स्तरोन्नति नहुँदा जोखिमपूर्ण अवस्थामा गाडी गुडाउनुपर्ने बाध्यता छ। कर्णाली राजमार्गमा मालबाहक गाडी चालक सिंहले भने, ’अझै पनि सडकको अवस्था राम्रो छैन, गाडी एक आपसमा पास गर्ने ठाउँ साँघुरो छ। कतिबेला नदिनमा खस्छ थाहै नहुने स्थिति छ।’

स्तरोन्नतिका नाममा बजेट स्वाहा

मृत्युमार्गका नाममा परिचित कर्णाली राजमार्गमा दुई वर्षयता सवारी दुर्घटनाका घटना बढ्न थालेका छन्। त्यसैमाथि जोखिमपूर्ण रूपमा यात्रा गर्नुपर्ने बाध्यता छ।

जुम्लादेखि ९३ किलोमिटरको नाग्म गमगडी सडक खण्डमा ०७७/७८मा मात्रै २१ करोड ७८ लाख रकम सकिएको सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनियर सन्तोष भण्डारीले बताए। दुई वर्षयता मात्रै गरेको नाग्म गमगडी सडकखण्ड २१ करोड ७८ लाख रुपैयाँ खर्च भइसकेको छ। बजेटअनुसार स्तरोन्नति शून्य छ।

२० सिटको क्षमताको गाडीमा ५० जना यात्रु

कर्णाली राजमार्गमा दैनिक सवारी चापले पनि सडकको अवस्था बिग्रँदै गएको छ। भने अर्कोतर्फ दुर्घटना बढ्ने गरेका छन्। जुम्लाबाट सुर्खेत, नेपालगञ्ज जाने लामो दूरीका सवारीले क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेका छन्।

सवारीसाधनले भार थाम्न नसक्ने गरी यात्रु बोक्ने गाडीवालालाई कुनै कारबाही भएको देखिँदैन। कारबाही नहुनुको कारण हो बिलबुकभित्र प्रहरीको लागि छुट्याइएको ५० रुपैयाँ।

एकजना सवारी चलकले नाम नलेख्‍ने शर्तमा भने, 'गाडीमा बढी सवारी राखे पनि नराखे पनि एक चेकिङ पोष्टमा ५० रुपैयाँ दिनैपर्छ। आज नदिएर हिँडे भोलि प्रहरीले बिनासिद्धी निहुँ खोजेर दु:ख दिन्छ।'

त्यही भएर हामीले चेकपोष्ट आउनुभन्दा अगाडी नै बिलबुकमा ५० रुपैयाँ प्रहरीको लागि तयारी हुन्छ। उनले भने, 'यो मेरो मात्रै बाध्यता होइन, कर्णाली राजमार्गमा गाडी चलाउने सबैले यसरी नै बिलबुकमा पैसा राखेका हुन्छन्।

यसकारणले कर्णाली राजमार्गमा मापदण्डभन्दा दोब्बर मान्छे बोकेर सवारीसाधन गुड्ने गरेका छन्। नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष नेत्रबहादुर शाहीले भने कर्णाली राजमार्ग सेवामुखी नभई सास्तीमुखी भएको बताए। उनले भने, 'सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राख्दासमेत नियमन गर्ने निकाय मौन बसेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.