|

काठमाडौं : नेपाललगायत नेपालीका श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको प्रकोप बढ्दै थियो। देशको अर्थतन्त्र धानेका युवा विदेशमा पसिना बगाइरहेका थिए। विश्वभरी नै कोरोना महामारी बनेपछि नेपाली श्रमिक समस्यामा परे।

कतिपय आफ्नै खर्चमा फर्किए भने कतिपयलाई सरकारले उद्धार गरी स्वदेश ल्यायो। सरकारले वैदेशिक रोजगारीमा समस्यामा परेकालाई सहयोग गर्ने भन्दै सोही समय पुनःएकीकरण योजना अगाडि सारेको थियो।

विदेशी भूमिमा समस्यामा परेका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने भयो भन्दै सरकारको निकै प्रशंशासमेत भएको थियो। 

निर्देशिका समयमै स्वीकृत भएको भए कोभिड महामारीले समस्यामा परेर फर्केकालाई ठूलो राहत पुग्ने थियो।

तर, महामारीको दोस्रो लहर पनि सकिएर फेरि नयाँ भेरिएन्टको संक्रमण फैलन लाग्दासमेत निर्देशिका पारित हुन सकेको छैन।  

सो योजना अगाडि सारेको २ वर्ष बित्नै लागे पनि कार्यान्वयनमा आउन सकेको छैन।

वैदेशिक रोजगार बोर्डले सो योजना अर्थात निर्देशिकाको खाका मन्त्रालय पठाएको नै वर्ष दिन बितिसक्यो तर,कार्यान्वयनमा आउन सकेको छैन।  

बोर्डले निर्देशिकाको खाका तयार गरी मन्त्रालयमा पेस गरेको धेरै समय भइसक्दा पनि मन्त्रिपरिषदबाट स्वीकृत नभएको वैदेशिक रोजगार बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।

मन्त्री फेरिए, पारित भएन निर्देशिका 

कोभिड महामारीका कारण विदेशबाट ठूलो संख्यामा श्रमिकहरू समस्यामा परेर फर्किए।

यस्तो अवस्थामा निर्देशिकाले अन्तिम रूप पाउने र अप्ठ्यारोमा परेकालाई सम्बोधन गर्छ भन्ने अपेक्षा थियो। 

मन्त्रालयमा हाकिम मात्र फेरिए। कहिले मन्त्री फेरिन्छन्, कहिले सचिव त्यो निर्देशिकाको खाका मन्त्रालयमै थन्कियो। 

बोर्डले सो निर्देशिका पेस गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा रामेश्वर राय यादवले सम्हालेका थिए। निर्देशिका स्वीकृत नहुँदै उनी मन्त्रालयबाट बाहिरिए। 

उनीपछि गौरीशंकर चौधरी, विमलकुमार श्रीवास्तवको कार्यकालमा पनि निर्देशिका स्वीकृत हुन सकेन।

हाल मन्त्रालयको जिम्मेवारीमा कृष्णकुमार श्रेष्ठ ‘किसान’ छन्। तर, सो निर्देशिकाले पूर्णता पाउन सकेको छैन।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार सो निर्देशिकाबारे मन्त्रालयमा छलफल भइरहेको छ।

कोभिडमा कुन देशबाट कति स्वदेश फर्किए?

कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का अनुसार महामारीका कारण वैदेशिक रोजगारीबाट समस्यामा परेर ५ लाख ७२ हजार ५ सय ७१ नेपाली फर्किएका छन्।

सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई)बाट १ लाख ६० हजार ४ सय ७० जना फर्किए।

त्यसपछि कतारबाट १ लाख ४८ हजार ७ सय ९० जना (रोजगारी गुमाएर तथा बिदामा) फर्किएका तथ्यांकमा उल्लेख छ।

मलेसियाबाट ६१ हजार बढी, साउदीबाट ५२ हजार ७ सय ८६, कुवेतबाट २९ हजार ५ सय ८२, जापानबाट १४ हजार ५३ फर्किएको तथ्यांकले देखाउँछ।

त्यसैगरी फिलिपिन्स, म्यानमार, कम्बोडिया, बंगलादेश, अफगानिस्तान, अस्ट्रेलिया, सिंगापुर, दक्षिण कोरिया, क्यानडा, नर्वेलगायत ३१ बढी मुलुकबाट समस्यामा परेर फर्किएका थिए।

तर उनीहरूमध्ये कति फेरि वैदेशिक रोजगारीमा फर्किए र कति नेपालमै छन् भन्ने तथ्यांक सरकारसँग छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.