|

विश्वमा सबैभन्दा बढी मन पराइएका फिल्ममा मार्वलका सुपरहिरोका कथामा आधारित फिल्म पर्छन्। धेरैलाई थाहा छ 'स्पाइडर म्यान', 'आइरन म्यान', 'हल्क', 'डक्टर स्ट्रेन्ज' लगायत दर्जनौँ सुपरहिरोका पिता स्टेन ली हुन्। 

स्टेन लीकै पात्रमा आधारित फिल्म 'स्पाइडर म्यानः नो वे होम' भर्खरै प्रदर्शनमा आएको छ। जसले विश्वभर उत्साहजनक प्रदर्शन गरिरहेको छ।

सुपरहिरोमा पनि सर्वाधिक मन पराइएको सुपरहिरोमध्ये 'स्पाइडर म्यान' अगाडि नै आउँछ। 

केही वर्षअघि उनले 'स्पाइडर म्यान' कसरी लेखियो भनेर युनिभर्सिटी अफ क्यालिफोर्नियाले आयोजना गरेको एउटा कार्यक्रममा बताएका थिए। त्यहाँ उनले भनेका थिए, 'हामीले फेन्टास्टिक फोर, एक्स म्यान जस्ता सुपरहिरोको कथा लेखिसकेका थियौँ। एकदिन प्रकाशक आए र मलाई भने, 'स्टेन, म चाहन्छु तिमी अब अर्को सुपरहिरोको कथा लेख। अनि मैले हुन्छ भनेँ र घर गएँ।'

प्रकाशकले नै गर भनेपछि मलाई राम्रो गर्नुपर्ने थियो, किनकि मलाई आफ्नो जबको पनि ख्याल राख्नुपर्थ्यो। 

त्यसपछि मैले सोचेँ, अब म के लेख्न सक्छु? अनि सुपरहिरोभन्दा पहिले सुपर पावरको कुरा आउँथ्यो। सुपरपावर पाएपछि अरु कुरा त्योसँगै आउँथ्यो। 

अब नयाँ केटोलाई के पावर दिउँ भनेर सोच्न थालेँ। त्यति नै वेला एउटा माखा भित्तामा हिँडिरहेको देखेँ। मेरो दिमागमा आयो, 'भित्तामा टाँसिन सक्ने, हिँड्न सक्ने एउटा सुपरहिरो भयो भने कस्तो हुन्छ?' म आफूलाई नै रमाइलो लाग्यो। 

मैले सुपरपावर पाएँ, अब त्यसलाई नाम दिनुपर्‍यो। के नाम राख्दा ठिक हुन्छ? फ्लाई म्यान? मस्क्युटो म्यान? अनि दिमागमा आयो स्पाइडर म्यान।

'स्पाइडर म्यान...' यो ड्रामेटिक पनि सुनिन्थ्यो। अब मसँग मेरो हिरो थियो, त्यसको पावर थियो, नाम पनि थियो। त्यसपछि रमाइलोको लागि मैले उसलाई आफ्नो पर्सनल प्रब्लम दिएँ। अनि त्यसलाई एउटा किशोर बनाइदिएँ। त्यतिबेलासम्म कुनै किशोर सुपरहिरो थिएन। 

त्यसपछि आफूले बनाएका, बुनेका सबै कुरा लिएर उत्साहित हुँदै प्रकाशक कहाँ गएँ र आफ्नो नयाँ सुपरहिरो चिनाएँ।

​त्यतिवेला प्रकाशकको रियाक्सन थियो, 'स्टेन, यो मैले जिन्दगीमा सुनेको सबैभन्दा बेकार आइडिया हो।' 

उनी निकै तार्किक र बौद्धिक मान्छे थिए। उनी मलाई आफ्नो कुरा सुनाउन थाले, 'सबैभन्दा पहिले मान्छेहरू स्पाइडर मन पराउँदैनन्। त्यसैले स्पाइडर नामको सुपरहिरो हुन सक्दैन। अनि तिमी उसलाई एउटा टिनएजर बनाउन चाहन्छौ? टिनएजरहरू सुपरहिरोको साथी मात्र हुन सक्छन्।' 

'अनि उसलाई पर्सनल प्रब्लम दिन चाहन्छौ? स्टेन, तिमीलाई थाहा छैन सुपरहिरो भनेको के हो? उनीहरूको कुनै व्यक्तिगत समस्या हुँदैन।' 

त्यसपछि म निरुत्साहित हुँदै अफिसबाट निस्किएँ। तर, पहिलेको भन्दा विचारशील भएर। 

मैले स्पाइडर म्यानलाई आफ्नो दिमागबाट हटाउन सकिरहेको थिइनँ।

म्यागजिनको बिक्री एकदमै घटेको थियो, लगभग बन्द हुने अवस्थामा पुगेको थियो। हामी अन्तिम पटक छाप्दै थियौँ। जब तपाईं कुनै म्यागजिनको अन्तिम अंक छाप्नुहुन्छ, भित्र के छ भनेर कसैलाई वास्ता हुँदैन। 

आफ्नो दिमागबाट निकाल्नको लागि मात्रै मैले स्पाइडर म्यान म्यागजिनमा पठाएँ। कभर फोटोसहित स्पाइडर म्यान छापियो। अनि मैले त्यसलाई बिर्सिदिएँ। 

त्यसको एक महिनापछि कति बिक्री भयो भनेर म्यागजिनको तथ्यांक आयो। प्रकाशक दौडँदै मेरो अफिसमा आए र भने, 'स्टेन, स्टेन, तिमी सम्झिन्छौ त्यो क्यारेक्टर जो हामी दुवैलाई एकदमै मन परेको थियो? स्पाइडर म्यान?' 

साँच्चि भनेको हो? 

उनले उत्साहित हुँदै भने, 'ल त्यसको सिरिज गरौँ।' 

म यो सबै किन भन्दैछु भने, यदि तपाईंसँग आइडिया छ जुन तपाईंलाई साँच्चिकै लाग्छ त्यो राम्रो छ। कुनै मूर्खलाई आएर बिथोल्न नदिनुहोस्।'

सन् १९२२ मा अमेरिकाको न्युयोर्कमा जन्मेका लीको सन् २०१८ नोभेम्बरमा ९५ वर्षको उमेरमा निधन भएकाे  थियाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.