प्रेमी भनिएकाले ब्ल्याकमेल गर्दै माग्छन् रकम

|

विराटनगर : नेपाल प्रज्ञा-प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’मा ‘प्रेम’को अर्थ यसरी लेखिएको छ- कुनै विषय‚ वस्तु वा व्यक्तिका स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता‚ अनुराग।

तर‚ प्रेमको अर्थ शब्दमा उतार्न सकिँदैन। प्रेमकै कारण संसार चलिरहेको छ। प्रेम नहुँदो हो त मानवता नै रहँदैन। प्रेम छ त्यसैले त सम्बन्ध छ‚ भरोसा छ। तर, यही प्रेमका कारण खोटाङकी २३ वर्षीया पार्वता (नाम परिवर्तन) को भोक, निन्द्रा नै हरण भएको छ।

चार वर्षअगाडि एसईई पास गरेपछि पार्वताले सामाजिक सञ्जाल फेसबुक चलाउन सुरु गरिन्। एसईई पास भएपछि मोबाइल पाएकी पार्वतालाई गाउँकै साथीले फेसबुक एकाउन्ट खोलिदिइन्। सुरुवातका मेसेज कसरी गर्ने भन्ने नै नजानेकी बताउने उनी केही समयपछि साथीको सहयोगले नै फोटो पोष्ट गर्नु, नयाँ, नयाँ साथी बनाउनु र च्याट गर्न सक्ने भइन्।

यसै क्रममा उनी अपरिचित केटा साथी अर्थात् मोरङको पथरीका उमेश (नाम परिवर्तन)सँग फेसबुक साथी बनिन्। मेसेन्जरमा कुराकानी भयो। कुराकानी पछि नजिकिन पुगेको पार्वताले सुनाइन्। दैनिक हुने कुराकानीले उनीहरूबीच एकअर्कामा परिचय साटासाट मात्रै भएन, मन पनि साटियो। अर्थात् उनीहरूबीच प्रेम मौलायो। पार्वता र उमेश प्रेममा बाँधिएको चार वर्ष भएको उनले सुनाइन्।

केही वर्षपछि विवाह बन्धनमा बाँधिने योजना बनाएका उनीहरूको जोडीको यात्रा अहिले दिशाहीन हुन थालेको छ। पार्वतासँगको भिडियो च्याटसँगै निदाउने र पार्वताको स्वरसँगै शुभबिहानी हुने उमेश आजभोलि विस्तारै टाढिन लागेको पार्वताले सुनाइन्। उनीहरूको सम्बन्ध आजभोलि सर्तमा चल्न थालेको छ।

भौगोलिक दूरीले टाढा रहे पनि भावनात्मक रूपमा नजिक भएकी पार्वताले उमेशको प्रेम र भरोसा जित्न प्रेमीले राखेको सबै खालके प्रस्ताव स्वीकार गरेकी थिइन्। उनले प्रेमीको भरोसा जित्न नाङ्गो तस्बिर मात्रै पठाइनन्‚ आफ्नो जागिरबाट आएको साथै गाउँबाट ऋण खोजेर लाखौं रूपैयाँ समेत पठाएको उनले बताइन्।

‘हामी फेसबुकमा कुरा हुन थालेको एक वर्ष भइसकेको थियो, उसले त्यतिञ्जेल मसँग केही डिमाण्ड राखेन। धेरै भरोसा लाथ्यो। उनले दिने माया र साथ मेरो लागि सबैथोक थियो‚’ पार्वताले सुनाइन्, ‘उसको प्रेसरले म स्कुलमा जागिरे पनि भएँ। समय बित्दै गयो‚ उसले मेरो नाङ्गो तस्बिर र पैसा माग्न थाल्यो। भरोसाले मैले उसले भनेको सबै मान्दै गएँ। तर भरोसा यति घातक हुन्छ भन्ने मैले भुलेछु।’

अहिले उमेश बदलिएका छन्। उनीबाट माया होइन‚ दिनहुँ तनाब पाएको पार्वताले बताइन्। उमेशले ‘ब्लाकमेलिङ’ गर्दै आएको उनले बताइन्।

वैदेशिक रोजगारीका लागि जापान जाने भन्दै पार्वतासँग आर्थिक सहयोग माग्ने उमेश न जापान पुगेका छन् न उनको सम्पर्कमै छन्। बेला मौका सम्पर्कमा आए थप पैसा माग्दै ब्लाकमेल गर्ने गरेको उनले सुनाइन्।

‘जापान जान्छु भन्दै उसले मसँग पैसा माग्यो, मैले आफूसँग भएको पैसा र गाउँको छिमेकीसँग मागेर किस्ता किस्ता गरेर १० लाख रूपैयाँ पठाएको थिएँ,’ शुक्रबार विराटनगरमा भेटिएकी उनले सुनाइन्, ‘अहिले जापान पनि गएको छैन, सम्पर्कमा पनि आउँदैन। कहिले काहीँ सम्पर्कमा आए फेरि पैसा पठा नत्र तेरो फोटो सबै भाइरल गर्दिन्छु भन्छ।’

उमेशले आफ्नो फेसबुक, मोबाइल नम्बर ब्लक गरेको तर उसलाई काम पर्दा फोन गरेर पैसा माग्ने गरेको पार्वताले बताइन्। उनले भनिन्, ‘उसलाई काम पर्दा आफैं फोन गर्छ। पैसा माग्दै अश्लिल शब्द प्रयोग गर्छ।’

प्रेमी भनिएकाबाट यसरी ठगिएपछि पाकानुनी उपचारका लागि कानुन व्यवसायी, प्रहरीलगायतसँग परामर्श लिँदै गरेको पार्वताले सुनाइन्।

सुनसरीको धरानकी २८ वर्षीया अनिता (नाम परिवर्तन)को पनि कथा पार्वताको भन्दा फरक छैन। अनिताको आफूभन्दा तीन वर्ष कान्छा झापाका अनिस (नाम परिवर्तन)सँग फेसबुकबाट चिनजान भयो। यसै क्रममा उनी अनिसको प्रेममा परिन्। अहिले उनी प्रेमी दुई महिनादेखि सम्पर्कविहीन भएपछि खोजीमा भौतारिरहेको अनिताले बताइन्।

भोजपुरबाट अध्ययनका लागि धरान आएकी उनी एक निजी अस्पतालमा कार्यरत छिन्। दुई वर्षदेखि अनिससँगको प्रेम सम्बन्धमा रहेकी उनलाई अनिसको घर झापा भन्ने मात्र थाहा छ। तर, परिवारको सदस्यबारे केही जानकार नभएको उनले बताइन्।  

केही वर्ष मेहनतका साथ काम गरेपछि आर्थिकरुपमा बलियो बनाएर विवाह बन्धनमा बाँधिने योजना रहेको बताउने अनिताको सपना सुरु नभई अन्त्य भएको छ। प्रेमी अष्ट्रेलिया जाने तयारी रहेकाले आफूले सात लाख रुपैयाँ जुटाएको उनले बताइन्।

‘ऊ अष्ट्रेलिया जाने तयरीमा थियो, त्यसैका लागि आफूसँग भएको पैसा र घरबाट मागेको पैसा गरी सात लाख रुपैयाँ जुटाएर दिएकी थिएँ,’ उनले सुनाइन्‚ ‘अरु पनि पैसा खोज भन्दै थियो तर, त्यति पैसा लिएर ऊ सम्पर्कविहीन भएको छ।’

यद्यपि‚ अनिसले बेला बेला सम्पर्क गर्ने र पैसा माग्ने गरेको उनले सुनाइन्। ‘कहिले काहीँ सम्पर्कमा आँउछ। तर उल्टै ब्लाकमेल गर्छ‚’ उनले थपिन्, ‘अब प्रहरीमा उजुरी दिने तयारीमा छु।’

सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनुपर्छ : प्रहरी

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेममा परी पैसाको लेनदेनका जस्ता घटना आउने गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी महिला सेल इन्चार्ज प्रहरी निरीक्षक एल्जिना राईले बताइन्। यस्ता खालका घटनाका लागि साइबर क्राइमको मुद्दा चल्ने उनले जानकारी दिइन्।

‘यस्ता खालका घटनाका लागि विद्युतीय कारोबार ऐन भन्ने मुद्दा चल्छ,’ प्रहरी निरिक्षक राईले भनिन्, ‘५ देखि ६ वर्षसम्म कैद सजाय हुन्छ। यसका लागि काठमाडौंमा जाने आफूले जाहेरी र निवेदन दिएपछि साइवर व्युरोले हेर्दिन्छ।’

यसका लागि प्रहरीले आफ्नो काम गर्दै गरेको भए पनि प्रोसेस लामो भएकाले पीडितले तत्कालै न्याय पाउन नसक्ने उनले बताइन्।

‘व्युरोले केस हेर्दैमा उसले न्याय त पाउँदैन, प्रोसेस लेन्दी हुन्छ‚’ उनले भनिन्‚ ‘प्रहरीले आफ्नो ठाउँमा काम गरिरहेको हुन्छ। तर‚ भिक्टिम (पीडित)ले तत्काल न्याय चाहिँ पाउन सकिरहेको हुँदैन।’

यस्ता मुद्दा जटिल खालको हुने भएकाले प्रोसेस लामो हुने प्रहरी निरीक्षक राईले बताइन्। यस्ता घटनाबाट बच्न फेसबुकमा साथी बनाउँदा होस् या प्रयोग गर्दा आफैं सचेत रहनुपर्ने उनको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.