|

विराटनगर : कोभिड १९ विरुद्धको खोपका लागि आवश्यक सुई नहुँदा प्रदेश १ मा तीन लाख खोप थन्किएको छ।

केन्द्रबाट थप सुई (सिरिन्ज) नआए प्रदेश १ मा कोभिडविरुद्धको खोप कार्यक्रम प्रभावित हुने भएको छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले विराटनगरमा बाँकी सिरिन्ज सकिन लागेको जानकारी गराएको छ।

२८ मंसिरमा प्रदेशका लागि ३ लाख ७७ हजार ८ सय ५० मात्रा भेरोसेल खोप आएको थियो। आएको खोपका लागि सोही बराबरको सुई चाहिने भए पनि केन्द्रबाट अहिलेसम्म सिरिन्ज नआएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका निमित्त कार्यालय प्रमुख शम्भु शाहले जानकारी दिए।

उनका अनुसार अहिले आपूर्ति केन्द्रमा मौज्दात ६० हजार मात्र सिरिन्ज रहेको छ। ३ लाख १७ हजार ८ सय ५० खोपका लागि सोही संख्यामा सिरिन्ज आवश्यक पर्ने कार्यालय प्रमुख साहले बताउँदै उनले भने, ‘एक सातामा केन्द्रबाट सिरिन्ज नआए खोप प्रभावित हुनसक्छ।’

उनका अनुसार मौज्दात सिरिन्ज ३‚ ४ वटा जिल्लामा वितरण गर्दा सकिन्छ। केन्द्रमा सिरिन्ज अभाव भएकाले प्रदेशमा नआएको कार्यालय प्रमुख साहले बताए।

तीन लाखभन्दा बढी खोप थन्कियो

सिरिन्ज अभावका कारण प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ लाख १७ हजार ८ सय ५० मात्रा भेरोसेल खोप थन्किएको छ।

सिरिन्ज अभाव भएको कारणले ठूलो संख्यामा आएको भेरोसेल खोप समयमै लगाउनबाट प्रदेशका नागरिक वन्चित भएको साहले बताए। उनले सिरिन्ज सकिएको विषयमा केन्द्रलाई जानकारी गराइसकेको बताए।

प्रदेशमा आएको मोडर्ना खोपका लागि पर्याप्त सुई भए पनि भेरोसेल खोपका लागि अभाव देखिएको बताउँदै उनले भने, ‘हामीले केन्द्रमा जानकारी गराएपछि केन्द्रले सिरिन्ज पठाउने मौखिक जानकारी दिएको छ।’
 
३२ लाखभन्दा बढीले लगाए कोभिडविरुद्धको खोप

प्रदेश १ मा पुस ४ गतेसम्म ३२ लाखभन्दा बढी व्यक्तिले कोभिड १९ विरुद्धको खोप पाएका छन्। खोपको पहिलो मात्रा १७ लाख २९ हजार १ सय १९ जनाले लगाएका छन् भने दुवै मात्रा १४ लाख ८८ हजार ७ सय ५५ जनाले लगाएको जिल्ला स्वास्थ्य सूचना प्रणाली प्रविष्टमा उल्लेख छ।

कोभिसिल्ड खोपको पहिलो मात्रा ३ लाख ५० हजार ४ सय ८५ जना र दोस्रो मात्रा २ लाख ७३ हजार ९ सय ५ जनाले लगाएका छन्।

यस्तै भेरोसेल खोपको पहिलो मात्रा १० लाख ७६ हजार २ सय ८१ जनाले लगाएका छन् भने दोस्रो मात्रा ७ लाख ५२ हजार ७ सय ७७ जनाले लगाएका छन्।

यस्तै आस्ट्राजेनको पहिलो मात्रा २ लाख ९६ हजार ३ सय ८४ जनाले लगाएका छन् भने दोस्रो मात्रा २ लाख १२ हजार ७ सय ९२ जनाले लगाएका छन्।
यस्तै फाइजरको पहिलो मात्रा ५ हजार ९ सय ६९ र दोस्रो मात्रा ३ हजार ८ सय १६ जनाले लगाएका छन्।

यस्तै जन्सन २ लाख ४५ हजार ४ सय ६५ जनाले लगाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.