|

म्याग्दी : पहिरोले बगाएको लघु जलविद्युत् परियोजनाको संरचना मर्मत नहुँदा म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ। 

गत भदौ २० गते बाढीले बगाएको लघु जलविद्युत् परियोजना मर्मत नहुँदा सिंगो वडावासी अन्धकारमा दैनिकी कटाउन बाध्य छन्।

लमसुङस्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजना बाढीले बगाएको थियो। 

दरखोलामा आएको बाढीले लघु जलविद्युत् परियोजनाको विद्युत् गृह, कुलो र पोल बगाएपछि विद्युत् अवरुद्ध भएपछि स्थानीय बासिन्दा रातको समयमा सोलार र टुकीको जोहो गर्न बाध्य भएका छन्।

बाढीले विद्युत् गृहसँगै चारवटा पोल र मुहानको केही बाँध तथा कुलो बगाएको लघु जलविद्युत् परियोजनाका सचिव लालबहादुर खड्काथोकीले बताए।

बाढीले विद्युत् गृहमा रहेका जेनेरेटर लगायत सबै उपकरण खोलाले बगाएको छ। विद्युत् आपूर्ति बन्द हुँदा वडा नम्बर २ स्थित खोरिया, लुलाङ, लमसुङ लगायतका ३५४ घरधुरी प्रभावित भएका छन्। 

लघु जलविद्युत् परियोजना मर्मत नहुँदा विद्युत्‌बाट चल्ने चारवटा मिल, फर्निचर, बेकरी उद्योग, मासु पसल, मोबाइल सेवा समेत प्रभावित भएका छन्।

स्थानीय बासिन्दासँगै विद्यार्थीलाई समेत पठनपाठनमा समस्या भएको स्थानीय प्रविना बिकले जानकारी दिइन्।

यसअघि २०७३ मा पहिरोले जुगेपानीस्थित २५ किलोवाट क्षमताको विद्युत्‌ गृह बगाएपछि सोही परियोजनालाई २०७५ मा मरेनीको फेदीमा स्थानान्तरण गरिएको हो।

गाउँपालिकाको ५० लाख र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको ८६ लाख रुपैयाँ तथा स्थानीयको श्रमदानमा मरेनीको फेदीमा २०७५ देखि पुनर्निर्माण सुरु गरिएको परियोजना २०७६ कात्तिकमा सम्पन्न भई विद्युत् सञ्चालन गरिएको थियो।

विद्युत् पुनर्निर्माण भएको साढे दुई वर्ष नबित्दै बाढीले विद्युत्‌ गृह बगाएपछि स्थानीयवासी थप चिन्तित बनेका हुन्।

विद्युत् गृह, कुलो, बाँध र पोल बगाउँदा १ करोड ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

परियोजना मर्मत तथा पुनर्निर्माणका लागि भौगोलिक अवस्थाबारे सर्भे गरिएको छ। परियोजनाको पुनर्निर्माण ओसिएन कम्पनीले गरेको थियो।

गाउँपालिकाबाट दश लाख र प्रदेश सरकार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख गरी २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले बताइन्।

‘मर्मतका लागि निरन्तर प्रयास भइरहेको छ, अब थप सुरक्षित हुने गरी मर्मत गरिनेछ’‚ अध्यक्ष पुनले भनिन्।

परियोजना पुनर्निर्माणका लागि १८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। आगामी दुई महिनाभित्र परियोजना पुनर्निर्माण गरेर विद्युत् सुचारु हुने गाउँपालिकाले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.