वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु

|
फाइल तस्बिर

काठमाडौं : कोभिड-१९ ले बिथोलिएको शैक्षिक सत्र विस्तारै लयमा फर्किदै गएको छ। सरकारले २०७९ को नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु गर्नेे भएपछि लयमा फर्किने देखिएको हो।

कोभिड-१९ ले २०७६ सालबाटै विद्यार्थीको पढाइसँगै शैक्षिक क्षेत्रमा असर पुगेको थियो। सरकारले ०७७ सालको शैक्षिक सत्र लम्ब्यायो।

वैशाखबाट सुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याइएकाे थियो। ०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनाको मात्रै बनाइएको थियो।

शैक्षिक सत्र घटाएर असार १ गते सुरु भई चैत मसान्तसम्म कायम गरियो। यो समयमा सबै कोर्स सकिने भएपछि ०७९ को शैक्षिक सत्र वैशाखबाटै सुरु गर्ने निष्कर्षमा पुगेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले बताए।

‘तोकिएको समयमा सबै कोर्स सकिन्छ कि सकिँदैन भनी विज्ञ र शिक्षकसँग पनि छलफल र अध्ययन  गरेका थियौँ, कोर्स सकिने भएपछि वैशाखबाट नयाँ शैक्षिक सत्र थाल्ने योजना बनायौँ’‚ उनले भने।

उनका अनुसार नयाँ शैक्षिक सत्र वैशाखबाट सुरु गरी चैत मसान्तसम्म अर्थात् १२ महिनाकै रहनेछ। त्यसपछि कोरोनाले असर पारेको पढाइ पुरानै लयमा फर्किनेछ।

८० लाख पाठ्यपुस्तक छापियो, एक करोडभन्दा बढी बाँकी

सरकारले नयाँ शैक्षिक सत्र वैशाखबाटै थाल्ने भएपछि यतिखेर तीव्र रूपमा नयाँ पाठ्यपुस्तक छाप्ने काम भइरहेको छ। सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले छपाइको काम थालेर पनि हालसम्म ८० लाख थान नयाँ पाठ्यपुस्तक छापिसकेको जानकारी दिए।

उनका अनुसार अब कक्षा १ देखि १२ सम्मको एक करोड २० लाख थान मात्रै छाप्न बाँकी छ। कक्षा १ देखि ९ सम्म रंगीन पाठ्यपुस्तक छापिएको छ भने १० देखि १२ सम्मको ब्ल्याक एण्ड ह्वाइटमा पुस्तक छापिएको छ।

‘शैक्षिक सत्र सुरु हुन अझै तीन महिना जति छ’, उनले भने, ‘बाँकी यही समयमा सबै छपाइ सकिन्छ।’

समयमा पुग्ला नयाँ पाठ्यपुस्तक ?

नयाँ शैक्षिक सत्र सुरु भएको पाँच महिना बितिसक्दा पनि नयाँ पाठ्यपुस्तक विद्यार्थीहरुको हातहातमा नपुग्ने वर्षौदेखि समस्या देखिँदै आएको छ। ०७८ मा पनि जुम्ला, हुम्ला लगायत विकट जिल्लामा समयमा पुस्तक पुगेको थिएन। जसले गर्दा विद्यार्थीले पढ्न पाएनन्।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी सरकारको बदमासीले सम्बन्धित ठाउँमा वर्षेनि नयाँ पाठ्यपुस्तक नपुग्ने गरेको बताउँछन्।

उनले भने, ‘शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नेता होस् या शिक्षा मन्त्रालयका पदाधिकारी समयमा पुस्तक पुग्छ भन्छन् तर सुरु भएको ५,६ महिनामा पनि पुग्दैन। यो सरकारको बदमासी र हेलचेक्रयाइँ नै हो।’

विकट जिल्लामा मात्र नभई काठमाडौं उपत्यकाभित्रका कतिपय स्कुलले समेत पुस्तक नपाएको अनुगमनमा भेटिएको बताए। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी आचार्य भने समयमै पुस्तक पुग्ने दाबी गर्छन्।

उनका अनुसार जनक शिक्षाको धनगढी, नेपालगञ्ज लगायत ९ ठाउँमा प्रादेशिक कार्यालय छ।

‘यहाँबाट त्यहाँ पुस्तक पठाउँछौँ, ६ वितरण कार्यालयमा त अहिले पनि छाप्दै पठाउने गरेका छौँ। यो हाम्रो नियमित काम नै हो। यसपालि समयमै पुस्तक पुग्छ’, उनले भने। 

   (यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.