|

कक्षा पाँचमा पढ्दा कथा लेखेर स्थानीय पत्रिकामा छाप्न त्यसको कार्यालयमा पुगेका थिए कथाकार केशवराज ज्ञवाली। सम्पादकले दुई रूपैयाँ लिएर कथाको फोटोकपी गरेर फिर्ता दिएका थिए।

त्यसबेला उनको उमेर थियो १० वर्ष। त्यसबेला उनलाई लागेको थियो‚ सायद छाप्ने भनेको यही हो। फोटोकपी मेसिनबाट तातो कागजमा काला–काला अक्षरहरू ताँती लागेर निस्किँदा खुसीले  सास रोकिएला जस्तो भएको थियो रे उनलाई!

त्यसपश्चात् उनले कथा लेखनलाई निरन्तरता दिइरहे। काठमाडौं आएपछि कथा सँगसँगै कविता लेखनलाई पनि अगाडि बढाए। व्यस्त दैनिकीबीच पनि साहित्यका विभिन्न विधामा कलम चलाउने उनै ज्ञवालीको कथा संग्रह शनिबार सार्वजनिक हुँदैछ। किस्ता-किस्तामा लेखिएका कथामध्ये १४ कथा उनले संग्रहमा समावेश गरेका छन्। कथाभित्रको विषयवस्तु, कथा लेखनको अनुभवबारे थाहाखबरका लागि राजु पौडेलले कथाकार ज्ञवालीसँग बुझ्ने प्रयास गरेका छन्।

कथा लेख्नुको यात्रा रोमाञ्चक र पीडा छुट्टै छ। कथालाई पुस्तककै रुपमा ल्याउन गरिएको  यात्रा कस्तो रह्यो?

सुरु गर्दा पुस्तकको कल्पना थिएन। शब्दको, हरफको र पत्रको थुँगा गाँस्दै जाने रमाइलोले लेखाइरह्यो। एउटा विन्दुमा पुगेपछि पुस्तकको सम्भावना उघ्रियो। त्यसपछि सबै कथाहरूको पुन: पठन र आवश्यकता अनुसार पुन: लेखनको काम भयो।  तपाईंले भन्नुभए जस्तै यात्रा रोमाञ्चक र कतिपय ठाउँमा र प्रशंगमा केही पीडाका अनुभव पनि भए।

लेखकीय जीवन र वास्तविक जीवनबीचमा पाइने भिन्नताबारे तपाईंले कसरी प्रस्तुत गर्नुभएको छ?

मेरा लागि दुवै जीवन वास्तविक नै हुन्।  हो‚ लेखकीय जीवनमा केही फरक अनुभव अवश्य हुन्छ। लेखकीय जीवनमा  आफूले बाँचेको भन्दा अन्य जीवनको पनि नजिक पुग्ने प्रयत्न हुन्छ। अनुभूतिका हिसाबले  बाँकी वैयक्तिक जीवन अलि एकांगी हुन्छ।  

यी कथाहरू केशवराज ज्ञवालीका होइनन्। मसी मात्र उसको हो। कथा त अरुकै। झण्डै सबैजसो कथा, वरिपरिको समाज र मान्छेका व्यवहारका बाछिटाबाट आएका हुन्। जुन कुरा आफ्नो होइन, त्यो किन आफैँसँग राखिराख्नु। यो कथा जहाँबाट टिपिएको हो, त्यतै फर्काउने कोसिस गरेको छु,भनेर भूमिकामा लेख्नुभएको छ। अरूका कथा लेख्नै पर्ने बाध्यताको पोयो चाहिँ के थियो?

बाध्यता होइन। कथा भन्नु मेरो रुचिको कुरा हो। मानौं कसैले गीत गाउँछ भने त्यो उसको रुचि हो। मेरा सबैजसो कथाको परिवेश र पात्र हाम्रो वरिपरिको समाजबाट टिपिएको हो। त्यसैले यी कथा मेरा होइनन् भनेको हो। यो कथा पाठकसम्म पुर्‍याउँदै गर्दा लागेको अर्को कुरा के हो भने पात्र र पाठक दुवै एउटै  समाजमा छन्। अब यी कथा समाजमा लैजाँदा आफ्नो मूल थलोमा फर्केको अनुभूति गरिरहेको छु। 

कथाको खास धर्म के हो?

कथा साहित्यको महत्वपूर्ण विधा हो। यसका बहुआयाम छन्। परापूर्वकालदेखि लेखनभन्दा पनि अघिदेखि कथा भनिँदै आएको हो।  कथाको अर्थ नै कथ्नु वा भन्नु हो। यस अर्थमा कथाले भनिएको समयको चित्र, अनुभूति बोकेको हुन्छ। कतिपय सन्दर्भमा ज्ञानको पुस्तान्तरण पनि गर्छ। सफल कथाको धर्म, कथाकारले कथेको पात्र वृत्तान्त पाठक वा श्रोतासम्म पुर्‍याउनु हो।

नेपाली साहित्यमा उपन्यासको बाढी छ। लेखकले उपन्यासबाट पनि धेर-बहुत पैसा पनि कमाइरहेका छन् भन्ने सुनिन्छ। तपाईं भने कथा संग्रह बोकेर आउनुभयो। मान्छेहरू नेपाली साहित्यका कथा लेखन त जोखिमपूर्ण यात्रा पो हो भन्छन्?

सबै विधामा आ-आफ्ना जोखिम अवश्य छन्। तर‚ लेखकले के लेख्ने भन्ने कुरा बजारले भन्दा बढी लेखकले रोज्ने कुरा हो। मलाई यो समयको कथा भन्न मन लाग्यो। अनि लाग्यो छोटा कथाहरू उपयुक्त विधा हो जस्तो लाग्यो।  छोटा कथाहरूले एक खालको स्वतन्त्रता पनि दिए, एउटै पुस्तकमा विविध विषयमा बोल्न। उपन्यास भएको भए सम्पूर्ण पुस्तक एउटा पात्र र त्यसको वरिपरिको संसारमा केन्द्रित हुन्थ्यो होला। यो पुस्तकमा भनिएका कथाको लागि, कथाहरू नै उपयुक्त विधा लागेको हो मलाई।

कथा संग्रहको शीर्षक अर्को भोरनै राख्नुको केही विशेष कारण?

मलाई यो कथा संग्रहका सबैजसो कथाहरूमा, पात्रहरूले परिवर्तन र उज्यालो खोजिरहे जस्तो लागेको छ।  भोर अर्थात् बिहान, रातबाट दिनतर्फ, अँध्यारोबाट उज्यालोतर्फ र एउटा परिवर्तनको बिम्ब हो भन्ने लागेकाले यो शीर्षक चयन भएको हो।

कथा लेखन रहर मात्र रहेछ कि सामाजिक रूपान्तरणको एउटा यात्रा रहेछ?

लेखनको प्रथम प्रेरणा रहर नै हो।  तर‚ कथा लेख्नसक्छु जस्तो लागेपछि के कस्तो कथा लेख्ने र आफ्नो लेखकीय शक्तिलाई कसरी प्रयोग गर्ने भन्ने कुरा लेखकका रोजाइ हुन्। यसरी हेर्दा हरेक लेखकको उद्देश्य फरक फरक हुन सक्छन्।  मेरा लागि कथा वा समग्र साहित्य अनुभूतिको इतिहास हो। अहिलेको समयको अनुभूतिहरूलाई लेख्दा लेखनले सामाजिक रुपान्तरण  सजिलो बनाउँछ भने त्यो अझ स्वागत योग्य कुरा हो।

हामीकहाँ लेखिएका कथाहरूबारे सुझाव दिनु पर्यो भने नि?

लेखक आफ्नो लेखनप्रति र पात्रप्रति इमान्दार हुनु जरुरी छ।  बजारमा ‘के बिक्छ वा बिकिरहेको छ’ले लेखनलाई  गाइड गर्नु हुँदैन।  लेख्नु भनेको प्रसस्त पढ्नु पनि हो। निरन्तरता र अथक परिश्रम नै लेखकलाई अझ  बलियो बनाउँछ।

नेपाली साहित्य मन पराउने र लेख्ने विश्वभर रहे पनि हाम्रो साहित्यले गरेको यात्रा साह्रै दुःखदायी अवस्थामा छ। के कारण रहेछ?

लेखन र प्रकाशनकै हिसाबले त हिजो आज निक्कै राम्रो भए जस्तो लग्छ।  दैनिकजस्तो नै नयाँ पुस्तक आइरहेका छन्। तर‚ लेखन र प्रकाशनभन्दा बाहिर निस्केर हेर्‍यो भने समग्र साहित्य अत्यन्तै उत्साहजनक भने छैन। मलाई लाग्छ- कमजोर पठन संस्कृतिले कमजोर पाठक र कमजोर लेखक जन्माउँछ। नेपाली भाषाको पठन पाठकनै कमजोर भएको जस्तो लाग्छ।  साहित्य बलियो हुन भाषा बलियो हुनु  आवश्यक छ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.