|

हेटौंडा : बिहान र बेलुकाको दुई छाक टार्नकै लागि कुनै बेला दैनिक जंगलमा कन्दमुल खोज्न जाने मकवानपुरको राक्सिराङ गाउँपालिकाका सन्तबहादुर प्रजा नेपालको पहिलो चेपाङ मन्त्री बनेका छन्।

प्रजा बागमती प्रदेशको भौतिक पुर्वाधार राज्यमन्त्री नियुक्त भएसँगै चेपाङ समुदायको नेपालकै पहिलो मन्त्री बन्ने अवसर पाएका हुन्। नेपालमा नै लाेपोन्मुख र पछाडि परेका समुदायको नेतृत्व गर्दै मन्त्री बनेका प्रजा कुनै समयमा मकवानपुरको विकट गाउँदेखि बागमतीका विभिन्न जिल्लामा काेदोसँग नाङ्लो र डोको साट्न पुग्थे।

मकवानपुरको कर्णाली भनेर चिनिने चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकाबाट नेपाली कांग्रेसको राजनीतिमा उनी संलग्न छन्।

यस्तो छ प्रजाको जीवनी

वि.स. २०३२ सालमा मकवानपुरको साविक काँकडा गाविसको धिराङमा जन्मिएका प्रजाको बाल्यकालल निकै नै कष्टकर बित्यो। गरिबी र अभावको चपेटामा हुर्किएका उनको दैनिकी बिहान र बेलुका हातमुख जोड्नको लागि गिठ्ठा, भ्याकुर र कदन्मुल खोज्न जंगल धाउँदैमा बित्ने गर्थ्याे। उनलाई अझैपनि त्यो समय झलझली याद आउछ।

त्यो बेला उनले २२ दिनसम्म अन्न खान नपाएको दुखद् अनुभव संगालेका थिए। २०४५ सालमा बुवाको मृत्यु भएपछि प्रजा परिवारको थप दुखका दिन सुरु भए। बुवाको मृत्यु भएपछि उनी विद्यालय कम जंगल र मेलापातमा बढी धाउथे। उनी मेलापात गरेर परिवार पाल्न चितवनसम्म पुग्थे।

अलि ठूलो भएपछि नाङ्लो र डोको बनाउन सिकेका प्रजा उक्त सामान बिक्री गर्न मकवानपुरसहित चितवन र धादिङसम्म पुग्थे। ती सामानलाई मकै, कोदो, धान र तरकारीसँग साटेर ल्याउने गरेको उनले सुनाए। बाल्यकाल जंगलको बीचमा रहेको झुपडीमा बिताएका उनको राजनीतिक यात्रा २०४८ सालदेखि सुरु भयो।

गाउँमा विद्यालय नहुनु, दक्ष जनशक्ती नहुनु र घरको अभावले गर्दा पढ्ने समय नहुँदा उनले ५ कक्षामा ५ पटकसम्म पढे। गाउँमा ८ कक्षासम्मको मात्रै पढाइ हुने भएकोले जेनतेन उनले त्यतिसम्म मात्रै अध्ययन गरेका छन्। तर, त्यतिबेला गाउँमा ८ कक्षा पढ्नु भनेको पनि सामान्य कुरा थिएन।

परिश्रमी र गाउँको अलि टाठोबाठो भएकोले पनि उनलाई राजनीतिमा चेपाङ समुदायले रुचाए। ०४८ सालमा गाउँ इकाई सदस्य बनेका प्रजा ०५३ सालमा पार्टीको वडा सभापति बने। ०५४ सालको स्थानीय चुनावमा प्रचारप्रसार संयोजकको जिम्मेवारी पाएका उनी एमालेको यातनाको सिकारसमेत बनेका थिए।

०५६ सालमा नेपाल तरुण दलको काँकडा इकाई सभापति भएका उनी ०६२ सालदेखि ०६७ सम्म पार्टीबाट सर्वदलीय संयन्त्रको संयोजक भएका उनले ०६४ मा पहिलो संविधानसभाको निर्वाचनमा प्रचारप्रसारका क्रममा माओवादीबाट यातना भोगे।

नेपाल चेपाङ संघको जिल्ला अध्यक्ष तथा पार्टीको कार्यसमिती सदस्यसमेत बनेका प्रजा कांग्रेसको १२ औं महाधिवेशनमा मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं.४ को सभापतिका प्रत्यासी बने।

१३ औं र १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधी बनेका उनी राक्सिराङ गाउँपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भए। पछि प्रदेशसभा निर्वाचनमा कांग्रेसले उनलाई समानुपातिक कोटामा प्रदेशसभा सदस्य चयन गरेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.