|

कञ्चनपुर : शिक्षाको गुणस्तर बढाउन शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको छ।

शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारूप शिक्षक डायरीमा उल्लेख गरिएको छ।

शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्न सघाउ पुर्‍याउने उद्देश्यले शिक्षक डायरी विकसित गरिएको हो।

शिक्षण कार्यलाई सरल, सहज र रुचिकर बनाउने तथा शिक्षकको पेशागत विकासका लागि विद्यालयमा अनिवार्य रूपमा शिक्षक डायरी लागू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रप्रसाद भट्टले बताए।

‘वर्षभरि अध्यापन गर्ने विषयवस्तुको शैक्षणिक योजना बनाई प्रभावकारी रूपमा तोकिएको समय सीमाभित्र सम्पन्न गर्न शिक्षक डायरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ’, उनले भने, ‘नियमित रूपमा शिक्षक डायरी प्रयोग गर्दा शिक्षकमा हरेक शैक्षिक सूचनाको खोज गर्ने बानीको विकास हुन्छ।’

उनका अनुसार डायरीमा उल्लेख गरिएका विभिन्न मूल्याङ्कनका साधनको प्रयोग गर्न सहज भई शिक्षकको पेशागत दक्षता हासिल हुन सक्छ। वर्तमान पाठ्यक्रमले व्यवस्था गरेको निर्माणात्मक (निरन्तर) सारांश समेत डायरीमा उल्लेख छ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको क्षमता र चाहनाअनुसार परामर्श दिनेसँगै विद्यार्थीको कमजोरी बेलैमा सुधार गर्न मद्दत पुर्‍याउँछ।

डायरीमा शिक्षकले अध्यापन गराउने सबै कक्षाका विद्यार्थीको सम्पूर्ण अभिलेख आफूसँगै रहने भएकाले शिक्षकका लागि यो आफैँले तयार गरेको कामको एउटा दस्तावेजका रूपमा रहेको प्रमुख प्रशासकीय अधिकृत भट्टको भनाइ छ।

‘शिक्षक डायरीको विकास पहिलोपटक गरिएको हुँदा यसले के कति सहयोग पुर्‍यायो भन्नेबारे समीक्षा समेत गर्ने व्यवस्था गरेका छौं’, उनले भने। 

यरीअनुसार शिक्षकले कक्षा कोठामा प्रवेश गर्दा पाठयोजनासहित प्रस्तुत हुने भएकाले विद्यार्थीको पढाइ उपलब्धिमूलक हुने कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक राघवप्रसाद अवस्थीले बताए।

‘शिक्षकले अध्यापनको कार्य गराउँदा विभिन्न शैक्षिणिक विधिको प्रयोग गर्नुपर्ने हुन्छ’, उनले भने, ‘यसबाट शिक्षकको क्षमता बढ्छ नै। विद्यार्थीको पढाइप्रतिको मोहलाई बढाउन सकिन्छ। शिक्षकको मूल्याङ्कन समेत हुने भएकाले अध्यापनको कार्यलाई कसरी गुणस्तरयुक्त बनाउन सकिन्छ भनेर शिक्षकले अब मिहिनेत समेत गर्छन्।’

विद्यालयमा अध्यापनको कार्य गर्दै आएका सबै शिक्षकलाई नगरपालिकाले उपलब्ध गराएको शिक्षक डायरी नियमित प्रयोगका लागि प्रदान गरिएको उनले बताए। 
डायरीमा पेशाप्रति समर्पित कर्तव्यनिष्ठ शिक्षकले पालना गर्नुपर्ने महत्त्वपूर्ण जानकारी संग्रह गरिएको श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक राजेन्द्रप्रसाद पाण्डेयले बताए।

‘कक्षा १ देखि कक्षा १२ सम्मका पाठ्यक्रमका विषयगत पाठ घण्टा, पूर्णाङ्क, वार्षिक पाठयोजना, दैनिक पाठयोजना शिक्षकका लागि नौला होइनन्’, उनले भने, ‘शिक्षकले पाठयोजना सहित प्रस्तुत नहुँदा पाठ्यक्रमको मर्मअनुसार पठनपाठन हुन सक्दैन। डायरीमा यिनै कुरा दर्शाइएको छ। जसले शिक्षकलाई कर्तव्यप्रति इमान्दार हुन मद्दत पुर्‍याउँछ।’

‘डायरीमा उल्लेख गरिएका कुरा महत्त्वपूर्ण रहे पनि विद्यालयमा शिक्षक डायरी लागू गर्नुअघि शिक्षकलाई पुनर्ताजगी तालिम दिइएको भए यसको सार्थकता अझै बढ्थ्यो’, उनले भने।

विद्यालयमा शिक्षक डायरी लागू गरी शैक्षिक गुणस्तर हासिल गर्नका लागि अघि बढेको उल्लेख गर्दै नगरप्रमुख दिलबहादुर ऐरले यसले शिक्षकको दक्षता बढाउने विश्वास व्यक्त गरेका छन्।

डायरीमा विद्यार्थीको वैयक्तिक विवरण राख्ने व्यवस्था समेत गरिएको छ।

जसमा विद्यार्थीको नाम, जन्म मिति, आमाबुवाको नाम, अभिभावकको नाम, ठेगाना र सम्पर्क फोन नम्बर राख्ने व्यवस्था गरिएको छ।

विद्यालयमा पढाइ भएको दिन, विद्यार्थीको उपस्थितिको विवरणसँगै अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थीको विवरण राख्नका लागि डायरीमा व्यवस्था गरिएको छ।

डायरीमा शिक्षकको समय तालिका, शैक्षिणिक योजनाहरू बनाउनका लागि समेत स्थान उपलब्ध गराइएको छ।

विद्यालयमा हुने एकाइ परीक्षाको अभिलेख राख्ने, त्रैमासिक, अर्ध वार्षिक र निरन्तर मूल्यांकनको अभिलेख र निरन्तर मूल्यांकन फारम समेत डायरीमै राखिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.