|

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कक्षा १० मा अध्ययनरत ४ विद्यार्थीले बिजुलीबाट चल्ने सवारीसाधन बनाएर सडकमा गुडाएका छन्।

धनगढीस्थित एक्सिस विद्याश्रमका ४ जना छात्रले सारअल्फा नामको विद्युतीय चारपाङ्ग्रे कार बनाएर गुडाएका हुन्।

विद्याश्रमका ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी र सक्षम रेग्मीले कोरोनाको दोस्रो लहरमा लगाइएको लकडाउनमै कार बनाउने निर्णय गरेका थिए।

करिब ४ महिना लगाएर करिब डेढ लाख रूपैयाँको लागतमा सारअल्फा निर्माण गरेको ऋषिकेष थापाले बताए।

घरपरिवार र विद्यालयको सहयोगबाट आफूहरूले सो कार निर्माण गरेको उनको भनाइ छ।

‘लकडाउनलाई सदुपयोग गरौँ भन्ने सोचले हामीले यो कार्य शुरु गरेका थियौं,’ थापाले भने, ‘यो अवधिमा धेरै समस्या पनि आए, त्यही पनि हामीले घरपरिवार र विद्यालयबाट आर्थिक सहयोग पायौं। करिब ४ महिना लाग्यो बनाउन। अहिले पनि निर्माण जारी छ।’

कारमा चाहिने सामाग्रीहरू विभिन्न ठाउँबाट जुटाएर कार निर्माण गरेको उनको भनाइ छ।

कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले पढाइसँगै आफूहरूको क्षमतालाई पनि बाहिर ल्याउन आफूहरू पढाइसँगै यो क्षेत्रमा लागेको उनीहरूको भनाइ छ।

कारमा ४ वटा ब्याट्री प्रयोग गरिएको छ।

उक्त कारको लोड क्षमता ७ क्विन्टल छ। त्यसलाई अन्य गाडीहरू जस्तै बजारमा ल्याउने गरी काम गरिरहेको उनीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.