|

विदेशमा रहने आफन्तले सामाजिक संजालमा साता अघिदेखि क्रिसमसका लागि बगैंचा, बजार, सडक र पसलका अगाडि सजाइएका क्रिसमस ट्री अगाडि फोटो खिचेर राखेको देख्दा लाग्दैन क्रिसमस इशाइको मात्र पर्व हो। क्रिसमस इभ मनाउने तयारी महिनौं अगाडि भएको हुनुपर्दछ। किनकी विदेशमा क्रिसमसदेखि अंग्रेजी नयाँवर्षको समय पारेर धेरै कार्यालयहरू बिदा हुने गर्दछन्।

विदेशमा बिदा मनाउने बाध्यताले हामी कहाँ आएका विदेशीले दशै तिहार मनाए जस्तो क्रिसमस पनि मनाउने गरेका हुन् नेपालीहरूले या यो आफैंमा रंगीचंगी सजावटको पर्व, मनै दंग हुने हुँदा सरिक भएका होलान्। जसरी होस् एकछिन भए पनि रमाउछन् र आनन्द लिन्छन्।

विदेशमा मात्र होइन नेपालको राजधानी र अन्य सहरमा समेत क्रिसमसको तयारी, सजावट र छुट्टी मनाउने, क्रिसमस इभ मनाउने तयारी हुन थालेको छ। मित्रजनबाट शुभकानाका कार्ड, उपहार र सन्देश ओइरिन्छन्। यसो हेर्दा युवा जमात यसमा उत्साहित भइरहेको देखिए पनि परिवारजन नै मिलेर रेस्टुराँ जाने,क्रिसमस केक खाने, रमाइलो गर्ने क्रम बढेको छ।

अन्धविश्वासबाट मुक्त गरेर अन्तर्चेतना, अन्तराकाश, निराकारलाई अनुभूतिबाट जान्ने कला प्रदान गर्ने जिशस जस्ता महान आत्माहरूको जन्म दिवसले जीवनमा एकपटक अन्तर्मुखी हुने प्रेरणा दिन्छ। अर्धज्ञान र अर्ध चेतनाबाट पूर्ण चेतना र प्रेममा स्थित रहन प्रेरणा दिन्छ।

जिशसको जन्मदिन मात्र होइन, इशाई धर्मावलम्बी मात्र होइन सबै समुदाय, सबै वर्ग र उमेरका व्यक्तिहरूलाई उत्साह र खुसी दिन सफल भएको छ क्रिसमस पर्व।

हिउँ पर्ने मौसम अनि सान्टाको मूर्ति

धेरैजसो पश्चिमा मुलुकमा क्रिसमसको समय हिँउ पर्न थालिसकेको हुन्छ। हिउँको डल्लो जम्मा गरेर सान्टाको मूर्ति बनाउने त्यसमा रातो लुगा र अनेक चिजले सिंगारीदिने, नाकको ठाउँमा गाँजर, रातो मफलर र अँग्रेजी ह्याट पहरिएको हिउँ जम्मा पारेर बनाएको स्नो म्यान बनाएर सजाउने चलन छ। विदेशमा कयौं दिनसम्म स्नोम्यान सान्टाको प्रतिमूर्तिलाई सजाएर राख्ने प्रचलन लोकप्रिय छ।

त्यस बाहेक हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने गरिन्छ। मानौं कि हिउँ सान्टाकै लागि परेको हुन्छ। क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन् किनकी उन्म धेरै विश्वास छ केटाकेटीलाई।

रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरिरको सान्टा अर्थात् सन्तले सबैलाई उपहार दिने र खुसी बाँड्नेछन् भन्ने विश्वास हुन्छ। सान्टा क्लसको प्रतिक्षामा क्रिसमस इभको रात धेरै केटाकेटीहरु रातीअबेरसम्म सुत्दैनन्। अनि बाआमाले सान्टाले पठाइदिनु भएको भनेर केटाकेटीको सिरानीमा सजाएको उपहारको बट्टा सुटुक्क राखिदिने गर्दछन्।

कतिले आफैं सान्टा क्लसको भेषमा सडक सडकमा उपहार र कोसेली बाँडदै र साँट्दै हिँड्दछन्। रमाइलो गर्ने एउटा कला क्रिसमस पर्वले दिएको आभाष हुन्छ।

जिशसको कथा

डिसेम्बर २५ मा जिसस क्राइस्टको जन्म भएको मानिन्छ। त्यही आधारमा क्रिसमस मनाउने गरिएको हो अर्थात क्रिसमस भनेकै जिससको जन्मदिन हो। आजभन्दा करिब २ हजार बर्षअघिरोम शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेको इसाईहरु विश्वास गर्छन्।

बाइबलमा उल्लेख भए अनुसार जिससले जन्मका लागि एक कुमारी कन्या मेरी छनौट गरे। मेरीकहाँ एक देवदुत पठाइयो र भनियो– तिमीले प्रभूको पुत्र जिशसलाई जन्म दिनुपर्नेछ। जिशस पछि राजा हुने छन्।

जुन दिन जिससको जन्म हुनेवाला थियो त्यसबेला मेरी र जोसेफ बेथलेहतिर जाँदै थिए। त्यसबेला बेथलेहम निकै भिड हुन्थ्यो। उनीहरुले बस्ने ठाउँ पाएनन्। त्यसैले त्यस रातका लागि घोडाको तबलामा बसे। त्यहिं जिससको जन्म भयो।

भनिन्छ जिशस जन्मनासाथ सबैतिर झलमल्ल उज्यालो भयोयहि कथालाई आधार मानेर क्रिसमस मनाइन्छ।

 यसकै आधारमा घर घरमा क्रिसमस ट्री सजाउने, त्यसमा रंगीचंगी बिजुली बाल्ने, खेलौनाहरु सजाउने जस्ता विधीहरु गर्ने प्रचलन बढ्दै गयो। भनाइ नै हो सान्टा क्लज, क्रिसमसको पिता जिशस जन्मेको समय पारेर राती हरेकको ढोकामा आउँछन्। त्यही कारण पनि घरलाई झिलिमिली बनाइन्छ।

सान्टा क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ। यस पर्वको खास विशेषता भनेको क्रिसमस ट्री सजाउने, सान्टा क्लज सजाउने र उपहारको व्यवस्था नै हो। यतिबेला रातो पृष्टभूमीमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ। क्रिसमस सिजनमा धेरै व्यापारिक क्षेत्रमा क्रिसमसको लुगामा सजिएर ग्राहकलाई सेवा गर्ने प्रचलन बढेको छ।

बच्चाका लागि उपहार

क्रिसमससँग जोडिएको रोचक कथा पश्चिमा समाजमा प्रचलित छ, खासगरी बच्चाहरुका निम्ति। पाठ्य पुस्तकमै यस्ता कुरा उल्लेख छन् त्यसैले  भनिन्छ– सान्टा क्लजले आकासमा बसेर बच्चाहरुले गर्ने गतिविधि नियालीरहेका हुन्छन्। बच्चाले के राम्रो गरेको छ, के नराम्रो गरेको छ, सबै लेखाजोखा गर्छन्।

सुनको मृगले तानेको रथमा चढेर आकाशको बाटो हुँदै हरेकका घरघरमा आउँछन्। राम्रो काम गर्ने बच्चाका लागि खास उपहार ल्याएर छाडिदिन्छन्। यो कथाकै आधारमा केटाकेटीहरु उत्साहित हुन्छन्, प्रतिक्षामा बस्छन् र उपहारको कल्पना गर्न थाल्दछन्। बच्चाहरूलाई अनुशासन, नैतिक शिक्षा, धर्म, सत्मार्ग धेरै कुराहरूको शिक्षा दिन खोजिएको प्रसंग बुझ्न सकिन्छ यसबाट।

क्रिसमसको किनमेल

क्रिसमसको किनमेल अर्थात सपिंग, उपहार यस्तै प्रचलनले व्यक्ति र परिवारमा खुसी मात्र होइन क्रिसमसले विश्व अर्थतन्त्रमै प्रभाव परेको हुन्छ। त्यसैले अर्थतन्त्र र बजारको चहलपहलले पनि अनुमान गर्न सकिन्छ क्रिसमसले अर्थतन्त्र र उद्धोगलाई समेत लाभ पुर्याएको हुन्छ।

अन्धविश्वासबाट मुक्त गरेर अन्तर्चेतना, अन्तराकाश, निराकारलाई अनुभूतिबाट जान्ने कला प्रदान गर्ने जिशस जस्ता महान आत्माहरूको जन्म दिवसले जीवनमा एकपटक अन्तर्मुखी हुने प्रेरणा दिन्छ। अर्धज्ञान र अर्ध चेतनाबाट पूर्ण चेतना र प्रेममा स्थित रहन प्रेरणा दिन्छ।

बजारमा नयाँ नयाँ सामग्री, खाद्यान्न, लताकपडा, सजावटको सामाग्री, उपहारको खरिद धेरै बिक्री हुनेगर्छ। प्रायजसो देशमा क्रिसमसको लागि किनमेलको मौसम नै मानिन्छर धेरै छुट पनि हुने गर्दछ। मनोरञ्जनदेखि ठूलठूला उद्योगले आफ्नो उत्पादनका लागि विशेष मौकाको रुपमा क्रिसमसलाई उपयोग गर्ने गरेका छन्।

उद्धोगधन्दा र व्यापारलाई वृद्धि गर्नेले बिभिन्न छुट दिएर क्रिसमसलाई अर्थोपार्जनको एउटा पर्वको रूपमा विकास गरेका हुन्छन्।

क्रिसमस, जिशस र मानव चेतनाको स्तर

हरेक देश, धर्म र परम्परामा मानव समूदायले आफ्ना देवता, सन्त, गुरू, अग्रज अनि सम्माननीय व्यक्तित्वहरुको जन्मदिन उत्साह र उल्लासअनि सदभावका साथ मनाउने गर्दछन्। भगवान राम या कृष्ण हुन् या बुद्ध, गुरु नानक हुन या पैगम्बर मोहम्मद या ओशो सबै व्यक्ति मात्र नभएर चेतनाका दृष्टिले उच्च जागरण हुन्। व्यक्ति नै भगवान बन्न सक्छ यदि ऊ संसारिक रिपुहरुबाट टाढा रहेर आफ्नो आत्मसम्मानमा स्थित रहन सक्छ।

बुद्ध, ओशो देखि लिएर जिशस सबैले अज्ञानतामा भट्किएकालाई आफ्नो मानवियताको मार्गमा, करुणाको मार्गमा लाग्न प्रेरित गरे। बाहिरको ज्ञान त शिक्षक र किताबले पनि दिन्छन् तर सन्त पुरुषहरूले आन्तरिक ज्ञान अर्थात् अध्यात्म यात्रामा मार्ग निर्देशन गर्छन्।

जीवनको अन्धकारबाट उज्यालोको यात्रामा मार्गनिर्देशन गर्ने गुणवत्ता जसमा छ तिनै भगवान हुन्। तिनको देशना र जीवन दर्शनले जीवनको विकासमा, जीवन रूपान्तरणमा ठूलो योगदान रहेको हुन्छ। 

अन्धविश्वासबाट मुक्त गरेर अन्तर्चेतना, अन्तराकाश, निराकारलाई अनुभूतिबाट जान्ने कला प्रदान गर्ने जिशस जस्ता महान आत्माहरूको जन्म दिवसले जीवनमा एकपटक अन्तर्मुखी हुने प्रेरणा दिन्छ अर्धज्ञान र अर्ध चेतनाबाट पूर्ण चेतना र प्रेममा स्थित रहन प्रेरणा दिन्छ।

क्रिसमसमा जतिसुकै बाहिर खुसी भए पनि भित्रको चिर स्थायी आनन्द भेटिन्छ भन्ने जरूरी छैन। संसारको सुख, खुसी, सम्पन्नता मिलन कुनै कारण चाहिन्छ त्यसको लागि क्रिसमस पर्वको रूपमा ठिक छ तर जिशसको सन्देश बाहिरी सुख र प्रेममा मात्र सिमित छैन बाहिर त क्षणभंगुरता मात्र हुन्छ।

संसारका भौतिक सम्पत्तिमा क्षणिक सुख होला तर प्रकृति, अस्तित्व, सृष्टिका सबै संरचना र उपहारबाट खुसी हुन जान्यो भने सधैं पूर्णता महसुस हुन्छ। पूर्ण र स्वतन्त्र व्यक्तिमा मात्र दिव्य प्रेमको विकास हुन थाल्छ। सृष्टिका हरेक सिर्जनाप्रति प्रेम बस्न थाल्छ।

दिव्य प्रेममा आफूले आफैंलाई प्रेम गर्न जानेपछि व्यक्ति मोक्ष प्राप्ति, ब्रह्मज्ञानमा समेत उपलब्ध हुन सक्छ। यसका लागि सांसारिक ज्ञान र सुख अनि आत्मज्ञान के हो छुट्ट्याउन सक्नुपर्छ।

संसारसँगै अध्यात्म, आन्तरिक शान्ति, सम्पन्नता र आनन्द के हो, त्यो ज्ञानलाई पहिचान गराउन क्रिसमसले पनि एकपटक फेरि सबैलाई झकझक्याएर गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.