सम्पर्क कार्यालय नै खारेज, चालकले पाएनन् तीन महिनादेखि तलब

|

विराटनगर : प्रदेश-१ का पूर्व-मुख्यमन्त्री शेरधन राईले अझै सरकारी गाडी फिर्ता नगरेको पाइएको छ। मुख्यमन्त्रीबाट पदमुक्त भएको चार महिना बितिसक्दा पनि राईले सरकारी सुविधाको गाडी फिर्ता नगरेका हुन्।

राईले २०७८ भदौ १० गते पदबाट राजीनामा दिएपछि प्रदेशमा २ जना नयाँ मुख्यमन्त्री नियुक्त भइसक्दा आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छैनन्।

राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको नाममा रहेको को१झ ५६५ नम्बरको निशान कम्पनीको टेरान गाडी प्रयोग गरिरहेका छन्।

८० लाखको त्यो गाडी

राई मुख्यमन्त्री रहेको बेला उक्त गाडी उनकी श्रीमती ज्याङ्मु इन शेर्पाले प्रयोग गर्दै आएकी थिइन्। तर, मुख्यमन्त्रीबाट पदमुक्त भएपछि पनि राईले उक्त गाडी गैरकानुनी रुपमा प्रयोग गरिरहेका छन्।

आर्थिक मामिला मन्त्रालयले राईले चढिरहेको उक्त गाडी ८० लाख हाराहारी बजेट खर्चेर तीन वर्षअगाडि खरिद गरेको उक्त गाडी सुरुमा तत्कालीन मुख्यमन्त्री राईका जनसम्पर्क सल्लाहकार रहेका रामकुमार बस्नेतका लागि भन्दै मुख्यमन्त्री कार्यालयमा लगिएको थियो। तर, मुख्यमन्त्री कार्यालयमा लैजाना साथ मुख्यमन्त्री राईकी श्रीमती शेर्पाले गाडी प्रयोग गर्न थालेकी थिइन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको स्टोर शाखा प्रमुख फणिन्द्र अधिकारीले गाडी मन्त्रालयमा फिर्ता गर्न मुख्यमन्त्री कार्यालयमा पत्राचार गरे पनि अझैसम्म फिर्ता नभएको जानकारी दिए।

राई चढ्दै आएको उक्त गाडी यसअघि उनले काठमाडौंमा स्थापना गरेको मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा राखिएको थियो। उक्त गाडी चलाउनका लागि सो कार्यालयमा जिन्दल राईलाई चालक नियुक्त गरेकोमा अहिले पनि उनैले सो गाडी चलाइरहेका छन्।

मुख्यमन्त्रीको सम्पर्क कार्यालय

चालक राईले आफूले सम्पर्क कार्यालय स्थापना भएपछि नियमित रूपमा उक्त गाडी चलाइरहेको जानकारी दिँदै सम्पर्क कार्यालय बन्द भएपछि गोल्फुटारस्थित राईको निवासमा गाडी राख्‍ने गरेको बताए।

राईले काठमाडौंमा महँगो मूल्य खर्चेर घर भाडामा लिई स्थापना गरेको मुख्यमन्त्रीको सम्पर्क कार्यालय विवादमा परेपछि हालका मुख्यमन्त्री राजेन्द्र राईले उक्त कार्यालय खारेज गरेका थिए।

चालकले पाएनन् तलब

सम्पर्क कार्यालय खारेज गरेपछि चालक राईले तलबसमेत पाइएका छैनन्। उनले आफूले कात्तिकदेखि तलब नपाएको बताए। यद्यपि, गाडी भने चलाइरहेको उनले सुनाए।

‘कात्तिकदेखि मैले तलब पाएको छैन, तर पनि गाडी चलाइरहेको छु,’ उनले भने, ‘सम्पर्क कार्यालय बन्द भएपछि पूर्व-मुख्यमन्त्री राईको गल्फुटारस्थित निवासमा गाडी राखिएको छ।’ यस विषयमा प्रतिक्रिया लिन खोज्दा पूर्व-मुख्यमन्त्री राईले फोन उठाएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.