बाटो बिराएको 'राजनीति'ले टाट पल्टाएको देशमा कुराकानीको विषयवस्तु के नै हुन सक्छ र? गाउँमा सप्ताह लगाएका बेला सहभागीहरूले यन्त्रवत् रूपमा पण्डितजीको आदेश बमोजिम बेलाबेलामा प्रभुको जयजय भन्ने र फूल चढाउने र मत नमिल्नेहरूलाई गाली वर्षाउने किसिमका अभ्यासहरूबाट माथि उठ्न सकेका छैनन् हाम्रा बहसहरू।
चाहे ती कोठे बहस हुन् वा अरु नै किन नहुन्। अनि यस्ता छिपछिपे 'बौद्धिक अभ्यासहरू'मा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहभागी हातमुख जोर्ने समस्याबाट माथि उठ्न नसकेका बहुसंख्यक सामु कुहिरोको काग हुनुबाहेक अरू के नै विकल्प उपलब्ध हुन्छ र?
स्पष्ट छ, ती अवसरहरूमा राष्ट्रिय राजनीति केन्द्रमा रहन्छ। वास्तवमा नीतिहरूमध्ये सर्वोपरि भनिने तर पथभ्रष्ट राष्ट्रिय राजनीति सम्बन्धमा संघीय लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्रमा बहस वर्जित नहुनु यस व्यवस्थाका पक्षधरहरूका लागि समेत कम खुशीको विषय होइन।
बाटो बिराएको राजनीतिबारे यत्रतत्रसर्वत्र बहस गर्न पाउँदा आमजनताको वितृष्णा, आक्रोश अलिकति भए पनि कम भएको छ। राजनीतिले बाटो बिराउँदा घरघरमा नेता, चोकचोकमा राजनेता उत्पादन हुने बडो रोचक लोकतान्त्रिक परिस्थिति उत्पन्न भएको छ हाम्रो देशमा। कुकरभित्र 'प्रेसर'ले सीमा नाघ्नेबित्तिकै हावा फाल्ने व्यवस्था भएजस्तै यस्ता खुला बहसहरूले पनि परिवर्तनको अर्को लहरलाई अलि पर धकेलेका छन्।
राजतन्त्रको बिदाइ र लोकतन्त्रको आगमनपछि एक विद्वान राजदूतले ठट्टाको भाषामा बडो मननयोग्य प्रस्ताव गर्नुभएको पंक्तिकारलाई सम्झना छ। उहाँले अब राजखानीलाई लोकखानी भनौँ भन्नुभएको थियो। हुन पनि हो, मुलुक नयाँ शासन प्रणालीअन्तर्गत सञ्चालन हुन थालिसकेको, 'लोकतन्त्रको लोकमार्गमा' दौडन थालिसकेको‚ भीरतिर नै किन नहोस्‚ अवस्थामा 'राजनीति'मा मात्रै कति कालो पोतिरहने, अब जति गाली गर्ने हो लोकनीतिलाई गरे भयो नि त!
तर‚ अब राजनीतिलाई लाजनीति नभनेर लोकनीति नै भन्न थालिएछ भने पनि राजनीतिका नाममा विक्रम संवत् २०६२-२०६३ को परिवर्तनपछि कतिपय कुपात्रहरूले गरेका पापहरू पखालिने छैनन्। नेपाल र नेपालीविरूद्ध उनीहरूले गरेका अन्यायहरू इतिहासका पानाहरूबाट मेटिने छैनन्। शासकहरूले जति उद्भट चाटुकारहरूलाई विरूदावली लेख्न लगाए पनि उनीहरूको निधारमा लागेको कलंकको टिका मेटिने किसिमको छैन।
उल्लिखित बहसहरूमा सहभागी केही लाउकेहरू/लठैतहरू, प्रायोजित पात्रहरू नानाथरी राजनीतिक नेतृत्वले 'खाएको', देश र देशवासीको स्वार्थ दाउमा राखेर दलगत, गूटगत, पारिवारिक र व्यक्तिगत लाभले प्रेरित भइ गरेका कुकृत्यहरूको, भ्रष्टाचारहरूको, देश र जनताविरोधी गतिविधिहरूको पक्षमा उभिनु त्यति अस्वाभाविक नठानिएला।
तर‚ जब भ्रष्टाचार, सुशासन तथा कानुनको शासनको अभावका कारण प्रत्यक्षत: मारमा परेका जनसाधारणले पनि नेताहरूले लाएखाएको, पुस्तौँपुस्तालाई पुग्ने गरी कमाएको सदर गरिदिन्छन् अनि त निस्कर्षमा पुग्न करै लाग्छ। नेतामात्र किन, हाम्रो समाज नै भ्रष्टाचारमा घाँटीसम्मै डुब्नै लागिसकेको रहेछ भनेर।
अहिले स्थानीय, प्रदेश वा केन्द्र तहको निर्वाचनको त कुरै छोडौँ, दल विशेषको आन्तरिक निर्वाचनमा सहभागी हुन पनि नोट बिछ्याउनुपर्ने अवस्था छ। कार्यकर्ताहरूलाई तेल खर्च, खाजा खर्चदेखि खाना खर्च समेत दिई परिचालन गर्नुपर्ने अवस्था छ, भोट किन्नुपर्नेसम्मको अवस्था छ भनेको सुनिन्छ, पढिन्छ। यस्तो परिस्थितिमा दशकौँ शासनसत्तामा रहेर करोडौँ/अर्बौँ रूपैयाँ कमाएको नेतृत्व निर्वाचित नभएर के 'शुद्ध शाकाहारी' प्रकृतिको नेतृत्व निर्वाचित हुन्छ त?
बहसका क्रममा 'फलानाका सन्ततिले यस्तो पुरुषार्थ गरे, यति जग्गाजमिन जोडे, यति धन कमाए, तैँले के गरिस त खै?' भन्ने किसिमका व्यक्तिगत/समूहगत प्रश्नहरू त सोझिन्छन् नै। यस्ता प्रश्नहरू सम्झीसम्झी मन दुखाउनु निरर्थक छ।
स्पष्ट छ: नेपाली समाज सत्ता-शक्तिको अन्धभक्त हुँदै गएको छ, यसले आलोचनात्मक चेत गुमाउँदै गएको छ। यसले अनेक कुकृत्य, भ्रष्टाचार, अनियमितता गरेर कमाउनेहरूलाई नायक मान्न थालेको छ।
खास गरी युरोप, अमेरिकालगायत 'पहिलो विश्व'तिर बसाइँ सरेका दाजुभाइ, दिदीबहिनी, साथीभाइहरूलाई असाध्यै योग्य देखाउने, नेपालमै बसेर राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरूमा स-सानै भए पनि योगदान गरेकाहरूको मानमर्दन गर्ने प्रवृत्ति व्याप्त छँदैछ।
अब लाहुरे संस्कृति फौजमा मात्र सीमित भएन, यस संस्कृतिको नयाँ संस्करण‚ बौद्धिक लाहुरे संस्कृति‚ले नेपाली समाजलाई अँठ्याउँदै लागेको छ। यस्तो अवस्थामा सुयोग्य विदेशवासी सन्ततिहरूका सुयोग्य मातापिताहरूलाई खोजीखोजी सम्मानित गरे भो नि त राज्यले।
सुयोग्यहरू जति युरोप, अमेरिका जाने भए, बलियाबांगा मुलत: खाडी, मलेसिया, दक्षिण कोरिया आदि देशहरूतिर लाग्ने भइगए। भनेपछि ज्यादै थोरै संख्यामा मात्रै नेपालीहरू नेपालमा बाँकी राख्न पो हो कि? किन यसरी नेपाल खालि गरिँदै छ, नेपालीबिनाको नयाँ नेपाल निर्माण गर्न खोजिँदै छ? विश्वभरिका विस्थापितहरूको साझा मुलुक बनाउन खोजिएको त होइन? कसले उत्तर देला? कोसँग उत्तर होला खै?
यस्ता बहसहरूमा यदाकदा अझ गम्भीर प्रकृतिका विषयहरू पनि ज्यादै हल्का किसिमले उठाउने गरिएको पाइन्छ। हामी आदिवासी, अनादिवासी जे भने पनि पितापुर्खाले रगत-पसिना-आँसु बगाएर कमाएको यो देश हामीलाई विरासतमा प्राप्त भयो। त्यसैले हामी यो देशलाई उपहारमा पाएको कुनै वस्तु जस्तो मान्छौँ सायद।
हामी स्वतन्त्र भएर के भो त, फलानो/ढिस्कानो देश उपनिवेश त थियो नि, अहिले त्यस देशले गरेको प्रगति हेर्नुस् त! हामीलाई पनि फलानो देशले लिइदिएको भए कति 'विकास' भइसक्ने रहेछ। यहाँ बसेर मलाई यस देशले के दिन्छ? युवाहरूको अनुभव यसरी निस्कन्छ।
राज्यविहीन भएर २ हजार वर्षसम्म युरोपमा शरणार्थी जीवन बिताउन बाध्य यहुदीहरूबारे पढ्नस्, राज्य प्राप्तिका लागि प्यालेस्टिनीहरूको संघर्ष पढ्नुस्। घाम नअस्ताउने साम्राज्यले स्थापना गरेको 'रामराज्य'मा वर्तमान भारतको अवस्था कस्तो थियो पढ्नुस्।
हातमा धर्मग्रन्थ लिएर आउनेहरूले कालान्तरमा आदिवासीहरूको कसरी 'कल्याण' गरे, संयुक्त राज्य अमेरिकामा थरीथरी आदिवासी इण्डियनहरूको के हविगत भयो पढ्नुस्। वामनअवतार भगवान विष्णुले बलि राजासँग ३ पाइला जमिन मागेर केसम्म गरे पढ्नुस्।
त्यतिले पुगेन भने हाम्रै नालापानी, किल्ला, काँगडा, सतलज, कालापानी-लिपुलेक-लिम्पियाधुरा, सुस्ता, महेशपुरका घाउहरू कोट्याउनुस्, सिमांचलका नेपालीहरूका पीडाका दैनिकीहरू पढ्नुस्।
किन भ्रष्टाचारको आरोप लागेका जापानी नेताहरूले आत्महत्या गर्छन्, सोच्नुस्। किन हाम्रो समाजमा भ्रष्टाचार सदाचारभन्दा बढी पूजित छ, सोच्दै जानुभयो भने यो ज्ञानभूमि, तपोभूमि, मातृभूमिको हबिगतको कारण थाहा पाइएला कि?
आउनुस्, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसीको मर्म बुझ्न खोजौँ। वयं रक्षाम: को अर्थ बुझ्न खोजौँ। ज्यादै कठिन परिस्थितिमा पनि तपाईं-हाम्रा पितापुर्खाले यो देश कसरी जोगाए, आउनुस् पढौँ। चित्त परेन? एलर्जी भयो? त्यसो भए जन एफ केनेडीले आस्क नट व्हट योर कन्ट्री क्यान डु फर यु‚ आस्क व्हट यु क्यान डु फर योर कन्ट्री किन भने होलान् सोचौँ। किन तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीले अमेरिकी नागरिकहरूलाई 'लाहुर' जान भनेनन् होला, हाम्रोजस्तो सुयोग्य राजनीतिक नेतृत्व नभएर पो हो कि?
पढ्न, सोच्न लोकसेवाको प्रमाणपत्र नभए पनि फरक पर्दैन। तपाईंमा प्रज्ञाबिनाको, दम्भयुक्त ज्ञानको काँचो वायु र राज्यशक्ति दुवै छ भने चाहिँ बडो सावधानीपूर्वक पाइला चाल्नुहोला, किनभने यी दुई तत्वको मिश्रण नेपाल र नेपालीको लागि घातक हुनसक्छ। यस देशको विगत पल्टाउने हो भने यस्ता दृष्टान्तहरू थुप्रै भेटिन्छन्।
आलेख उपदेशात्मक भएको भए क्षमाप्रार्थी छु, प्रिय पाठकहरू।
तपाईंको ईमेल गोप्य राखिनेछ ।