|

काठमाडौं : ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा रहेको पर्यटकीयस्थल तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक बढ्दै गएका छन्। धार्मिक दृष्टिकोणले समेत प्रख्यात सिदिङ्वा गाउँपालिका–१ कालीखोलास्थित तिम्बुङ पोखरीमा यसवर्षदेखि पर्यटक बढ्दै गएका हुन्।

त्यहाँ रहेको पोखरी लगायत अन्य दृश्यले मनै लोभ्याउँछ। ताप्लेजुङ र पाँचथरको सीमावर्ती क्षेत्र तथा छिमेकी देश भारतको सिक्किमसँग सीमा नजिक रहेको तिम्बुङ पोखरीमा विगतका वर्षमा पर्यटक जाने गरेका थिए। विगतको तुलनामा यसवर्ष उल्लेख्य तीर्थालु तथा पर्यटक तिम्बुङ पोखरीमा गएका बताइएको छ।

पछिल्लो समय प्रचार–प्रसारको पहुँच वृद्धि साथै पदमार्ग स्तरोन्नति लगायतका पूर्वाधार निर्माण गर्न थालिएकाले तिम्बुङ पोखरी भ्रमणमा जाने पर्यटकको सङ्ख्या बढ्दै गएका सिदिङ्वा गाउँपालिकाका प्रवक्ता प्रकाश राई (कैलास) ले जानकारी दिए। 

समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइ रहेको तिम्बुङ पोखरीको दर्शन साथै यस क्षेत्रको अवलोकन भ्रमणमा जाने पर्यटकको सङ्ख्या ह्वात्तै वृद्धि भएका प्रवक्ता राईको भनाई छ। उनका अनुसार  स्थानीय तहसहित प्रदेश तथा सङ्घीय सरकारको पर्यटन लक्षित योजनामार्फत तिम्बुङ पोखरीको पदमार्ग स्तरोन्नति गरिएको छ।

यसवर्ष काठमाडौं, पश्चिम नेपालको पोखरा लगायतबाट आन्तरिक पर्यटक आएका छन् भने भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट समेत उल्लेख्य रुपमा पर्यटक आएको स्थानीयहरु बताउँछन्। 

फोटो : गोरखापत्र 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.