|

विराटनगर : सप्तकोशी डेभलपमेन्ट बैंकको उच्च ओहदामा बसेका कर्मचारीको प्रत्यक्ष मिलेमतोमा सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको खुलासा भएको छ।

बैंककै कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि मंसिरको पहिलो साता बैंकको रकम हिनामिना भएको खुलेको हो।

विराटनगरस्थित कर्पोरेट कार्यालय रहेको बैंकमा विगत ६ वर्षदेखि  फर्जी कारोबार बनाएर रेमिट्यान्सको १६ करोडभन्दा माथिको रकम कर्मचारीको मिलेमतोमा हिनामिना भएको खुलासा भएको हो।

करोडौं हिनामिनामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नवीन सुवेदीसहित ५ जना कर्मचारी पनि अनुसन्धानको घेरामा परेका छन्।

बैंकका सिइओ सुवेदी, लेखा बित्त प्रमुख देवीप्रसाद भण्डारी, कर्जा प्रमुख विदुर पोखरेल, आइटी प्रमुख शशांक पोखरेल र अपरेशन प्रमुख अमित थापा मगर अनुसन्धानको घेरामा परेका हुन्।

सिइओ सुवेदी र लेखा प्रमुख भण्डारीले नेरुडे लघुवित्त कम्पनीमा लामो समय सहकार्य गरेको खुल्न आएको छ।

सप्तकोशी बैंकमा उनीहरू आएपछि बैंकको अनियमितता गर्न कानुनी, नीति, नियम र प्रक्रिया विधि मिलाउन भण्डारी सिइओ सुवेदीका विश्वासपात्र भएको बैंकमाथिको उजुरीमा उल्लेख छ।

बैंकका कर्जा प्रमुख विदुर पोखरेल र आइटी प्रमुख शशांक पोखरेल सिइओ सुवेदीका मामाका छोरा रहेको खुल्न आएको छ। अपरेशन प्रमुख अमित थापा मगर पक्राउ परेका भट्टराईका साथी हुन्।

मगरको खातामा पनि सन् २०१६ देखि २०१७ मा दुईवटा फर्जी कारोबार भएको उजुरीमा उल्लेख छ। नियामक निकायले हिमाल भट्टराई, देवीप्रसाद भण्डारी, विदुर पोखरेल, नवीन सुवेदी र अमित थापा मगर शंकास्पद व्यक्ति भएकाले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिनुपर्ने राष्ट्र बैंकमा गरेको उजुरी पत्रमा उल्लेख छ।

यता सिइओ सुवेदी भने अनुसन्धान जारी भएकाले सबै विषय केही दिनमा बाहिर आउने बताउँछन्।

४ अर्ब ३० करोड रुपैयाँ निक्षेप

प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको उक्त बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ।

साविकको काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जर भएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक लि. बनेको हो। उक्त संस्था राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो।

यता बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष अर्जुन बराल बताउँछन्। आर्थिक हिनामिनाले तत्काल बैंकको नाफा घट्ने तर पछि कर्मचारीबाट असुलउपर गरेपछि त्यो परिपूर्ति हुने उनको भनाइ छ।

बैंकका एक कर्मचारी प्रहरी नियन्त्रणमा

बैंकको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

प्रहरी नियन्त्रणमा रहेका आरोपित भट्टराईका आफन्तले सिइओ नवीन सुवेदीको योजनामा बैंक घोटाला भएको दावी गरेका छन्।

विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरेर आरोपित भट्टराईका परिवारले सिइओ सुवेदीकै योजनामा बैंकको रकम हिनामिना भएको आरोप लगाएका छन्। रेमिट शाखामा कार्यरत भट्टराई र सिइओ सुवेदी नाता सम्बन्धभित्रका रहेका कारण मिलेमतोमा काम भएको खुलेको छ।

१४ करोडभन्दा बढी रकम ट्रान्सफर

रेमिट शाखाबाट भएको अपचलनमा बबिता सुवेदीको नाममा १४ करोडभन्दा बढी रकम ट्रान्सफर भएको राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ। बबिता सिइओ सुवेदीकी फुपू दिदीकी छोरी रहेको अनुसन्धानबाट खुल्न आएको छ।

सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्म बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं. ९९९००००१५००१५ बाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको राष्ट्र बैंकमा परेको उजुरी पत्रमा उल्लेख छ।

बबिताको नाममा सिइओ सुवेदी र भट्टराई मिलेर फर्जी खाता खोलेको आरोप लागेको छ। यस्तै हिमाल भट्टराईका विभिन्न पाँचवटा बैंकका खातामा एक करोड रुपैयाँ जम्मा भएको उल्लेख छ।

भटराईले कर्सिया, टंकी, केराबारी, शनिश्चरे, सौठा, गछिया शाखा कार्यालयका रेमिट्यान्स बैंक खाताबाट आफ्नो युजर आइडीबाटै नै ‘टान्जेक्सन पोष्ट’ गरी आफ्नै बचत खाता र चल्ती खातामा जर्नल टान्जेक्सनलाई ‘क्यास डिप सेल्फ’ भनी लेख्ने गरेका थिए।

‘भट्टराईले बैंकले दिएको कर्मचारी सापटी कर्जा आफ्नो खातामा सापटी कर्जा री पेमेन्ट गरेको भनी नक्कली टान्जेक्सन देखाएर मोबाइल बैंकिङमार्फत सोझै अरूको खातामा रकम पठाएर अहिलेसम्म १ करोडभन्दा बढी गैरकानुनी ढंगबाट निकालेका छन्’, राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ।

यसैगरी भगवती सुवेदी (सिइओ सुवेदीकी भाउजू), साजन पोखरेल (सिइओ सालो), बानी पोखरेल (सिइओ जेठी सासु) लगायतका खातामा रकम पठाएको दाबी गरिएको छ।

‘उक्त खाता पनि अरू नै व्यक्तिबाट सञ्चालन गरी कारोबार भएकाले सूक्ष्म अनुसन्धान गरिनुपर्ने देखिन्छ’, उजुरीमा उल्लेख छ।

राष्ट्र बैंकले उक्त आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेपछि जानकारी पाएको बैंकका सञ्चालक समितिका अध्यक्ष अर्जुन बरालले बताए।

‘नेपाल राष्ट्र बैंकले पत्राचार गरेपछि तत्काल आन्तरिक छानबिन गर्दा जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईको आर्थिक हिनामिनामा संलग्नता देखिएपछि राष्ट्र बैंक र जिल्ला प्रहरी मोरङमा उजुरी दियौं’, उनले भने, ‘अहिले प्रहरी र राष्ट्र बैंकले छानबिन गरिरहेकाले छानबिनपछि मात्रै के कति रकम कसरी हिनामिना भएको हो, वास्तविकता बाहिर आउँछ।’

बैंकले उजुरी दिएपछि जिल्ला प्रहरी मोरङले भट्टराईलाई मंसिर १९ मा नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ। पक्राउ परेका भट्टराई ६ वर्षदेखि उक्त बैंकमा कार्यरत छन्।

उनले बैंकमा २०७१ सालदेखि रेमिट्यान्सतर्फ जिएसडी प्रमुखको जिम्मेवारी पाएर काम गर्दै आएका थिए।

बैंकभित्रको ठूलो रकम हिनामिना भएकाले यस घटनामा जीएसडी प्रमुख भट्टराईको मात्र एकल संलग्नतामा यत्रो ठूलो रकम घोटला हुन नसक्ने भएकाले प्रहरीले गहन रूपमा अनुसन्धान सुरु गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.