गायनका विषय समाजकै घटना हुन्

|

काठमाडौं : शहर के हो? भौतिक सुविधाले भरिपूर्ण सम्पन्नताको मानक वा मान्छेको भिड? भौतिक सुविधा शहरको विशेषता हो। तर,कतिपयका लागि सपना हो। कतिका लागि जिउने आधार हो। मान्छेको भिड र उनीहरूको सपनाले घेरिन्छ शहर। अवसर र चुनौतीको सार हो शहर।

अहिलेका चल्तीका दोहोरी गायक वसन्त विश्वकर्मालाई कुनै बेला शहर अवसरै अवसरको मिश्रण हो भन्ने लाग्थ्यो। गायक बन्ने सपना देखेर वि.स २०७२ को शरद ऋतुको समयमा उनी उपत्यका छिरेका थिए।

उपत्यका छिरेकै भोलिपल्टै उनलाई महसुस भयो, 'क्या गज्जबको शहर! क्षमता छ भने यो अवसरै अवसरको शहर रहेछ।' किनभने उपत्यका छिरेकै भोलिपल्ट उनले दोहोरी साँझमा काम पाए।

उनले केही दिन शहरलाई हेरे, पढे, अनुभव गरे। शहर आफ्नो भएर पनि आफ्नो होइन भन्ने कुरा पनि बुझे।  तत्कालीन समयमा उनले बुझेको शहर उनले सारबारे बोल्छन्,'सबै मान्छेले आफ्नै मात्र सुन्छन्। अर्कालाई परेको पीडाबारे सोधी खोजीसमेत गर्दैनन्।'

उनी हुर्किएको गाउँमा कोही कसैको अनुहार मलीन हुँदा पनि के भयो भन्ने थिए। दु:ख अफ्ठ्यारो पर्दा साथ दिने मान्छेको कमि थिएन। 'यहाँ मान्छेहरू मान्छेको स्वरूपमा भए पनि  दिल भने पूरा ढुंगा भरिएका जस्तो लागेको थियो। जहाँ बिनास्वार्थ अरूलाई दिनका निम्ति एकचिम्टी हाँसो पनि छैन जस्तो', उनले सुनाए, 'म मानवता हराएको शहरमा आएँ कि क्या हो? भन्ने लागेको थियो।'

संघर्षका सुरुवाती दिनमा संघर्षको मैदानमा उत्रिएको एउटा युवाले शहरको साथको अपेक्षा गर्नु स्वाभाविक पनि हो। उनी सुनाउँछन्, 'मान्छेले अलिकति भावनात्मक भरोसा खोज्छ। जब उसले नयाँ ठाउँमा नयाँ काम गर्न सुरु गर्छ।'

करिब २ दर्जन गीत गाइसकेका उनी आफू स्टेज पर्फमर कलाकारका रूपमा प्रस्तुत हुन रुचाउँछन्। यो ५-६ वर्षको अवधिमा प्रशस्तै उतारचढाव भोगेका छन्। जीवनमा यस्ता खुसीका क्षणहरू छन्, जसले उनलाई काम गर्न ऊर्जा दियो। जीवनमा दु:खका नाममा ठेस लागे। यसले उनलाई जिउन सिकायो।

जीवनमा कहिलेकाहीँ हातमा केही काम पनि भएन। त्यसबेला आफैँलाई हेरेर आफ्नो मूल्यांकन गर्ने अवसर दियो। उनी सुनाउँछन्, 'जे होस एउटा सामान्य मान्छेले शहरमा पाउनुपर्ने वा शहरसँग पौंठेजोरी गर्दा जे जे अनुभव गर्छ ती सबै अनुभव पाइयो।' 

कलाकार जीवन बाँच्‍न पाएँ

वि.'स २०७१ तिर उनले 'शीतको थोपा मुना मुनामा' भन्ने गीत ल्याएर लोक संगीतको क्षेत्रमा प्रवेश गरेका थिए। त्यस गीतले उनको मन भरिएन। उनी गाउँ छोडेर शहर हिँड्ने निर्क्योलमा पुगे।

तनहुँबाट २०७२ जेठ १ गते उनी स्टेज पर्फमर बन्ने सपना बोकेर पोखरा पुगेका थिए। फेवा दोहोरी साँझमा काम गरे। ६ महिनाको अवधिमा उनले कैयौँ दोहोरी गीत दोहोरीका पारखीलाई चखाए।

मनमा स्टेज पर्फमर हुने उनको रहर त पूरा भयो। त्यसपछि गायक बन्‍ने सपना बोके। जसले आफ्नै गीत रेकर्ड गरेर श्रोतासँग अझ नजिक हुने अवसर प्राप्त होस। एकदिन आफ्नै गीतको गायक बन्‍ने सपना बोकेर उनी पोखरा छोडेर काठमाडौं शहरमा आए।

'जीवनमा सबैभन्दा ठुलो खुशी त मैले कलाकार जीवन बाँच्न पाएँ। चाहे त्यो दोहोरी साँझमा होस् या स्टुडियोमा होस्। अथवा देशमा विभिन्न क्षेत्रमा स्टेजमा किन नहोस्', उनी भन्छन्।

उनको दैनिकी जीवनमा व्यस्तता पनि ह्वात्तै बढेको छ। 'दैनिक रुपमा करिब ३ वटा लाइभ दोहोरी गाउँछु। यो मेरा कुनै बेला लागि सपना थियो। अहिले दैनिकी बनेको छ', उनी मखेला पारामा बोल्छन्। अहिले उनले गाएका लाइभ दोहोरी युट्युबमा मात्र होइन् फेसबुकदेखि टिकटकसम्म हिट छन्।

'दोहोरी साँझमा कलाकारलाई सम्मान गर्नेहरू पनि हुनुहुन्छ'

उमेरसँगै मान्छेलाई सामाजिक तथा पारिवारिक उत्तरदायित्वले घेरिदिन्छ। हरेक मान्छे केही सपना, केही रहर र केही बाध्यताले केही न केही पेशामा लागेको हुन्छ। त्यस्तै विकले लाइभ दोहोरी त गाउँछन् नै दोहोरी साँझमा पनि काम गर्छन्।

कतिपयको अनुभवको आधार मान्ने हो भने दोहोरी साँझमा काम गर्ने कलाकारलाई त्यहाँ आउने ग्राहकले 'मिसविहेभ' गर्ने गर्छन्। कलाकारको कलालाई सम्मान नगर्नुले कलाकारहरू दोहोरी साँझ छोड्न बाध्य भएका कुरा पनि सुनिँदै आएका छन्। के हामीले सुनेजस्तै दोहोरी साँझमा कलाकारको अपमान नै हुन्छ त?

दोहोरी साँझमा समस्या नै छैन भन्नु खोक्रो आदर्श रहेको विकको बुझाइ छ। 'यसको मतलव फेरि दोहोरी साँझमा समस्या नै समस्या छन् भन्नु मैले मेरो पेशाप्रति गरेको अन्याय हुन जान्छ', उनी भन्छन्, 'दोहोरी साँझकै कारण व्यक्तिगत रूपमा भन्नुपर्दा मेरो गायनमा निखार आएको हो। आम मान्छेको मनोविज्ञान पनि मैले त्यहाँ नै थाहा पाउँछु। अर्को कुरा के भने सय राम्रा ग्राहक हुन्छन्। एक-दुईजनाले गलत हर्कत गर्छन्। हामीले सयजनाको सम्मान हेर्ने कि एक-दुईजनाको 'मिसविहेभ'लाई सम्झिने? साना कुराले पनि हाम्रो मन दुख्नु मानवीय गुण हो।'

गायनका विषय समाजकै घटना हुन्

लाइभ दोहोरी रेकर्डेड गीत जस्तो सहज विषय पक्कै होइन। तर, विकले लाइभ दोहोरीलाई विशेष महत्व दिइरहेका छन्। अहिले लाइभ दोहोरी खुबै फस्टाएको पनि छ। युट्युबमा सयौँ लाइभ दोहोरीका च्यानल भएकाले दोहोरी पारखीलाई नयाँ नयाँ गीत सुन्न सजिलो छ भने कलाकारले आयस्रोतको पनि बाटो मिलेको छ।

तर, भ्युज बढाउने नाममा दोहोरीमा भद्दा तथा दुई अर्थी शब्द पनि प्रयोग गरेको आरोप लाग्दै आएको छ। तर, विक एक-दुई गीतलाई लिएर सबै गायक वा गायिकालाई एकै घानमा हाल्न नहुने सुनाउँछन्।

'सामान्य जीवनमा बोलिने वाक्य नै हामीले अनुप्रास मिलाएर गाउने न हो। समाजको चरित्र र सामाजिक परिघटना नै हाम्रो लाइभ दोहोरीका विषय हुन्। जहाँ प्रेम हुन्छ, वियोग हुन्छ, आँशु हुन्छ, खुशी हुन्छ', उनी सुनाउँछन्, 'कतिपय अवस्थामा दुईअर्थी लाग्ने पनि बनिदिन्छन्। यो तत्कालै आवेगमा आउने सवाल जवाफ हुन्। यसले नेपाली लाइभ दोहोरीलाई लाभ भन्ने पक्कै गर्दैनन्।'

मेलापात गर्दा होस् या भैँसी चराउन जाँदा गुनगुनाउँदै हिँड्ने उनी अहिले शहरको नामी दोहोरी गायक बनेका छन्। उनी आफूले चुनेको पेशाप्रति सन्तुष्ट छन्। 'उपलब्धि वा सफलता पैसासँग तुलना गर्ने हो भने आज पनि दैनिक जीवन चलाउन काम गरिरहेको छु। कसैले मेरो बाबुआमाको अगाडि मेरो नाम लिँदा उहाँहरूको शिर झुकेको छैन। मेरो सफलता मेरो परिवारको खुसीसँग जोडिएको विषय हो', उनी उत्साहित हुँदै भन्छन्, 'यदि सफलता स्वाभिमानसँग जोड्ने हो भने कलाकारिता जीवनमा इमानदारीसाथ मिहिनेत जारी नै छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.