तयारी कक्षाका नाममा चर्को असुली, प्रतिविद्यार्थी २५ हजार शुल्क

|

काठमाडौं : सरस्वती पूजा नजिकिँदै गर्दा काठमाडौं उपत्यकाभित्रका निजी विद्यालयहरूले अहिले नै भर्ना अभियान चलाइरहेका छन्। यस वर्षको सरस्वती पूजा माघ २३ गते परेको छ।

सरस्वती पूजामा विशेषगरी बालबालिकालाई अक्षरारम्भ गराउने प्रचलन छ। त्यसैलाई लक्षित गरी निजी विद्यालयहरूले भर्नाको प्रचार थालिसकेका छन्। कतिपय विद्यालयमा एक कक्षामा भर्ना हुन पनि बालबालिकाले इन्ट्रान्स (प्रवेश परीक्षा) दिनुपर्छ । 

त्यतिमात्र होइन त्यहि इन्ट्रान्सका नाममा अर्को लुटधन्धा छ तयारी कक्षाको । सुन्दा पनि अनौठो, एक कक्षामा भर्ना हुने बालबालिकाका लागि 'इन्ट्रान्स तयारी कक्षा'। त्यो पनि इन्ट्रान्स उत्तिर्ण गराउने आश्वासनसहित।  महँगा र चर्चित कहलिएका केही विद्यालयमा भर्ना हुनका लागि भन्दै यस्ता विज्ञापन सामाजिक सञ्जाल र संचारमाध्याममा छाउन थालिसकेका छन्।​

ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा आगामी चैतबाट नयाँ भर्ना सुरु हुँदै छ। स्कुलका अनुसार कक्षा १ मा भर्ना हुन प्रवेश परीक्षा दिनैपर्छ। त्यो परीक्षा पास गरेपछि मात्रै विद्यार्थी त्यहाँ पढ्न पाउँछन्। यसैका लागि अहिलेबाटै परीक्षा तयारी थाल्ने भन्दै करियर एकेडेमी प्राइभेट लिमिटेडले प्रवेश परीक्षाको विज्ञापन थालिसकेको छ। 

यो तयारी कक्षा पनि कहाँ सस्तो छ र ! एक जना विद्यार्थीको शुल्क २५ हजार रुपैयाँ लाग्छ। 'एक कक्षामा भर्ना हुने तयारी कक्षाका लागि २५ हजार रुपैयाँ लाग्छ', उक्त  एकेडेमीका एक कर्मचारीले भनिन्,‘यहाँ अनुभवी शिक्षकबाट परीक्षा तयारी गराउँछौँ, हामीकहाँ तयारी गर्ने ९८ प्रतिशत विद्यार्थी पास हुन्छन्।’

एकेडमीले फेसबुकमा समेत सेन्ट जेभियर्स तथा सेन्ट म्यारिज स्कुलको कक्षा १ र एनपीएस,बीएनकेएस/बिएसएमभी)को कक्षा ४,५,६ तथा ७ को प्रवेश परीक्षा शिक्षकले विगत २१ वर्षदेखि ९८ प्रतिशत बालबालिकालाई भर्ना सफल बनाएको दाबी गरिएको छ। पत्रपत्रिकामा पनि विज्ञापन गर्ने गरिएको छ।

प्रवेश परीक्षा खारेजीको माग, तर भएन

निजी स्कुलले कक्षा १ मा भर्ना गर्न प्रवेश परीक्षा लिन थालेपछि विद्यार्थी बालबालिकासँगै अभिभावक समेत मारमा पर्ने गरेका छन्। अझ चलेका स्कुलमा पढाउनु परेमा सोर्सफोर्स नै लगाउनुपर्छ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार सेन्ट जेभियर्स, बूढानीलकण्ठ स्कुल, रातो बंगला, पाठशालालगायत चलेका स्कुलमा कक्षा १ मा भर्ना गर्न परे पहिला प्रवेश परीक्षा लिइन्छ।

ती परीक्षा पास गरेपश्चात् मात्र बालबालिका पढ्न पाउँछन। ‘यी चलेकाले स्कुल मात्रै नभई पछिल्लो समय प्रायः सबै निजी स्कुलले प्रवेश परीक्षा लिने गरेका छन,’उनले भने।

अभिभावकहरूले सात वर्षदेखि कक्षा १ को प्रवेश परीक्षा खारेज गर्नुपर्ने माग गरेपनि हालसम्म सरकारले कार्यान्वयन नगरेको उनले बताए। उनले भने,‘स्कुलले कक्षा १ मै प्रवेश परीक्षा लिनु सरासर गलत छ,यही कारण बालबालिकालाई समेत नकरात्मक असर पुग्छ,त्यसैले माथिल्ला कक्षाको प्रवेश परीक्षा भएपनि कक्षा १ को भने खारेज गरौँ भनी माग उठायौँ,सरकारलाई ध्यानाकर्षण गराए पनि काम भएन।’

तयारी कक्षाका नाममा समेत पैसा असुल्ने कार्य स्कुलको ठगी धन्धा भएको उनको भनाई छ।

‘परीक्षा लिन हुँदैन,बरु गोलाप्रथाबाट भर्ना गराउनुपर्छ,परीक्षा गराउँदा फेल भएका विद्यार्थीमा पछिसम्म पनि म त फेल हुने रहेछु भन्ने मानसिकतामा बसेको हुन्छ,’ उनले भने। सबै अभिभावकहरु पनि चेतनशील हुनुपर्ने उनको भनाई छ।

‘प्रवेश परीक्षा लिनु अपराध हो, इन-आउट गर्न मिल्दैन’

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला बालबालिका उमेरमै त्यसरी प्रवेश परीक्षा लिनु अपराध रहेको बताउँछन्।

‘कक्षा १ मै भर्ना हुन प्रवेश परीक्षा लिनु अपराध हो,बालबालिकालाई सुरुमै तर्साइएको हो,’उनले थाहाखबरसँग भने। उनका अनुसार सरकारले नै निजी स्कुलमा अध्यापन गर्नको लागि प्लेसमेन्ट र विषयगत आधारमा पढ्न पाउनुपर्ने व्यवस्था गर्नुपर्छ। तर कहिल्यै फेल गराउनु हुँदैन।

​‘प्लेसमेन्ट भनेको विद्यार्थीले छानेर जहाँ स्कुलमा पढ्छु भन्छ,त्यहाँ पढ्न पाउनुपर्छ,’उनले थपे,‘विषयगतमा विद्यार्थीले जुन विषय पढ्छु भन्छन्, त्यो विषय पढ्न पाउनुपर्छ, सुरुमा विद्यार्थीमा कमजोरी भए पनि भर्ना गर्ने वा कक्षा माथिल्लो तहमा चढाउनुपर्छ,बरु केही समय पढाएर उसको कमजोरीलाई सच्याउनुपर्छ।’

यसका लागि उनले केन्द्र,प्रदेश र स्थानीय तह नै सक्रिय भएर व्यवस्था गर्नुपर्ने बताए। ‘यसो गरेमा अभिभावकलाई तनाव पनि हुँदैन,साथी पास भए,म चाहिँ फेल भएँ भनेर बालबालिका पढ्नबाट पछि पनि हट्दैनन्,’उनले भने।

अर्का शिक्षाविद् डा.टंकनाथ शर्मा पनि प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्न नमिल्ने बताउँछन्। उनले थाहाखबरसँग भने,‘नेपालको ऐन कानुन अनुसार विद्यार्थीले कक्षा १ देखि ८ सम्म निजी र सामुदायिक विद्यालयले शुल्क नतिरी स्वतन्त्र ढंगले पढ्न पाउने हो,तर चर्को शुल्क लिइन्छ,यो परम्परा गलत छ,स्कुलमा इन-आउट गर्न मिल्दैन।’ 

उनका अनुसार भर्ना भइसकेपछि निकाल्ने भन्दा पनि स्कुलले स्वागत गरी गुणस्तरीय शिक्षा बालबालिकालाई प्रदान गर्नुपर्छ। उनी भन्छन,‘निजी विद्यालयमा जान्ने विद्यार्थीबाट पैसा लिने,कमाउने र बाहिर चर्चामा आउन खोज्ने प्रवृत्ति छ,तर त्यस्तो होइन बालबालिका जन्मेपछि पढ्न पाउनुपर्ने उसको नैशर्गिक अधिकार हो।’   

मनोविश्लेषक भन्छन् : प्रतिष्पर्धा गराउनु नै गलत

मनोविश्लेषक बासु आचार्य कक्षा १ बाट नै बालबालिकालाई परीक्षा गराउँदा र तयारी गराउँदा पछिसम्म पनि उनीहरुको मनस्थितिमा असर पुग्ने बताउँछन्। 

उनका अनुसार कक्षा १ मा भर्ना हुँदै गर्दा भर्खरै उनीहरुमा बुद्धिको विकास हुँदै जान्छ। १५ वर्षपछि मात्रै विवेकको विकास हुन्छ। त्यसैले बालबालिकामै प्रतिस्पर्धा गराउनु राम्रो हुँदैन।

‘स्कुलले प्रवेश परीक्षा पास गरेमात्र भर्ना गर्ने भएपछि अभिभावकले पनि सानैमा पढ्न र लेख्नलाई केही न केही प्रेसर दिएको हुन्छ,’उनी भन्छन्,‘फेरि परीक्षामा फेल भए पनि नभएपनि सधैं पछिसम्म तनाव लिएका हुन्छन्,मेरो जिन्दगी भर नै अरूसँग प्रतिस्पर्धा नगरे केही गर्न नसक्ने रहेछु भन्ने भाव हुन्छ,यसैले प्रतिस्पर्धा नै गराउन हुँदैन।’ 

उनका अनुसार स्कुलले योग्य बालबालिकालाई मात्रै छान्दा पैसा आर्जन पनि गर्न सकिने र पढाई गुणस्तरीय छ भन्दै नाम चल्छ भन्ने हिसाबले यसरी प्रतिस्पर्धा गराइरहेका छन। तर,यही प्रतिस्पर्धामा नसक्ने बालबालिका सानो कुरामा पनि हरेस खाने गर्छन्।

‘पहिला प्रवेश परीक्षा दिने लिने व्यवस्था नै थिएन, पछिल्लो समय अर्कै संस्कारमा हुर्कियौँ, यसले समस्या निम्त्याउँदै छ, यस्तो व्यवस्थालाई सरकारले तोडनुपर्‍याे', उनले भने।

प्रवेश परीक्षा लिन पाइन्छ?

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सहायक प्रवक्ता धनबहादुर श्रेष्ठ निजी होस् या सामुदायिक विद्यालयले प्रवेश परीक्षा लिन नपाउने बताउँछन्।

‘कक्षा १ मा भर्ना हुन र अरु कक्षा तहमा भर्ना हुन इन्ट्रान्स परीक्षा लिन पाउने भनी कहिँ पनि लेखिएको छैन,’उनले भने,‘तर निजी र सामुदायिक दुवैले परीक्षा लिने गरेको पाइन्छ,यसो गर्दा प्रत्यक्ष बालबालिकालाई मानसिक असर त पुग्छ नै।’

सहायक प्रवक्ता श्रेष्ठले भने प्रवेश परीक्षाका विषयमा अब हुने मन्त्रालयको बैठकमा एजेण्डा उठाउने बताए। 

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)का केन्द्रीय सचिव आरबी कटुवाल पनि  प्रवेश परीक्षा लिन पाउने कानुनी व्यवस्था नरहेको स्वीकार्छन्। तर गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि केही विद्यालयले विद्यार्थी भर्नाका लागि त्यस्तो विधि अपनाउने गरेको उनको तर्क छ। 

‘कानुनी रुपमा प्रवेश परीक्षा लिन पाइने भन्ने त छैन, उनले भने,'तै पनि राम्रो शिक्षा प्रदान गर्ने स्कुलले लिने गरेका छन्।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.