काठमाडौं : धनकुटा घर भएका महेश (नाम परिवर्तन) २०७५ मा वैदेशिक रोजगारीको खोजीमा साउदी अरब गए।
गाँस, बास र कपासको जोहो गर्न साउदी पुगेका महेशको कमाइ पनि राम्रो थियो।
होटलमा कुकको काम गर्न थालेका उनले एक वर्षसम्म नियमित पैसा पठाए।
उनले पठाएको पैसाले विदेश जानका लागि लिएको ऋण तिरिसकिएको थियो। उनको कमाइबाट परिवारको आर्थिक अवस्था सुध्रिँदै गएको थियो।
०७२ को भूकम्पले भत्काएको घर फेरि ठड्याउने सपना बोकेर उनी विदेश गएका थिए।
उनले पत्नी रमा (नाम परिवर्तन) लाई घर बनाउने पैसा कमाएर फकिर्ने बताएका थिए।
महेशले पत्नीसँग घर ठड्याउने सपना साटेको केही दिन नबित्दै मृत्युको खबर आयो।
एक दिन ड्युटी सकेर कोठामा पुगेपछि पत्नीसँग फोनमा कुरा गर्दागर्दै उनले थकाइ लागेको छ, पछि फोन गर्छु भनेर फोन काटेका थिए।
रमाका लागि पतिको त्यो फोन नै अन्तिम बन्यो। उनी कहिल्यै नफर्कने गरी निदाए। रमालाई पतिको मृत्युको पीडा त छँदै थियो।
परिवार तथा दुई सन्तानको जिम्मेवारी रमाको काँधमा थपियो। ५ वर्षकी छोरी र ७ वर्षको छोरा उनको साथमा थिए।
रोजगारका लागि विदेश जाँदा उनले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर सम्पूर्ण सरकारी प्रक्रिया पूरा गरी गएका थिए। यसैकारण उनको शव स्वदेश ल्याउन सहज भयो।
सरकारले विदेशमा मृत्यु भएका कामदारको परिवारलाई दिने क्षतिपूर्ति वापतको ७ लाख रूपैयाँ रमाले पाइसकेकी थिइन्।
स्थानीय तहबाट सबै प्रक्रिया पूरा गरी वैदेशिक रोजगार बोर्डको कार्यालयमा पुगेकी थिइन् उनी।
प्रक्रिया पूरा गरेको केही समयपछि वैदेशिक रोजगार बोर्डले उनको खातामा पैसा पठायो।
सरकारले दिने क्षतिपूर्ति त रमाले पाइन् तर, घर परिवारले छोरो खाइस्, पैसा पनि खाइस् भन्दै दिनदिनै उनलाई मानसिक यातना दिन थाले।
...अनि सुरु भयो लाशमाथि हानथाप
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको परिवारलाई सरकारले सान्त्वना रकम दिन्छ।
सान्त्वना रकम बुहारीको खातामा नआउन्जेल परिवारमा कुनै खटपट भएको थिएन।
रमाको खातामा पैसा आयो, त्यसपछि सासु ससुराले ‘मेरो छोरो खाइस्’ भन्दै दुर्व्यवहार गर्न थाले।
पतिले काम गरेको कम्पनीले क्षतिपूर्तिस्वरुप केही रकम दिन्छ भन्ने रमाले सुनिन्।
छोराछोरीको पठनपाठनमा सहयोग पुग्ने भन्दै रमा स्थानीय तहबाट सबै प्रक्रिया पूरा गरेर काठमाडौं आइन्।
कन्सुलर विभागमा सम्पूर्ण विवरण पेस गरिन्। पैसा आउने प्रक्रिया अगाडि बढ्दै थियो।
साउदीमा महेशले काम गरेको कम्पनीले श्रमिकको बिमावापतको रकम थियो त्यो।
छोराको नाममा पैसा आउँछ भन्ने सुनेर उनका सासु ससुरा पैसाको ताकेता गर्न कन्सुलर विभाग पुगे।
कन्सुलर विभागमा छोराको मृत्यु भएपछि बुहारी अर्कैसँग गइसकेकाले पैसा आफूले पाउनुपर्ने दाबीसमेत उनीहरूले गरे।
कन्सुलर विभागका महानिर्देशक धनबहादुर वलीले भने, ‘जबकि बुहारी दुई सन्तानसहित विभागमा आएकी थिइन्।’
मृतकका बुबाआमाको नाममा पैसा पठाइदिनु पर्यो भन्दै कन्सुलर विभागमा नेताहरूको तारन्तार फोन आउन थाल्यो।
वलीले भने, ‘अन्त्यमा सो कम्पनीबाट आएको करिब १ करोड १६ लाख रूपैयाँ रमाको नाममा पठायौं।’
यसरी सरकारी अर्थात कम्पनीले दिएको क्षतिपूर्ति नजिकका हकदार, कानुनी हकदारका आधारमा दिइने विभागले जनाएको छ।
उनले भने, ‘मलाई चाहियो भनेर दाबी गर्दैमा जो पायो उसैलाई दिइँदैन।’
माथि उल्लेखित घटना वैदेशिक रोजगारीमा गएकाको उतै मृत्यु भएपछि परिवारमा आउने द्वन्द्वको एउटा प्रतिनीधि घटना मात्र हो।
क्षतिपूर्ति अर्थात आर्थिक सहायता मलाई दिनु भन्दै दैनिक कार्यालय आउने गरेको कन्सुलर विभागले जनाएको छ।
जो बलियो छ उसकै हुन्छ दाबी
पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको क्षतिपूर्तिमा विवाद देखिन थालेको छ।
कम्पनीले पठाउने पैसा कस्ले पाउने भन्ने समस्या देखिएको छ। यसमा सामान्यतया बुबाआमा र बुहारीमा बेमेल देखिने गरेको विभागले जनाएको छ।
महानिर्देशक वलीका अनुसार यदि बुहारीको माइती पहुँचवाला छ भने सासुससुराको मृत्यु भयो भन्ने र सासुससुरा पहुँचवाला भए बुहारीले बिहे गरिसकेको भन्दै विभाग जाने गरेका छन्।
वैदेशिक रोजगार ऐनअनुसार सबैभन्दा नजिकको हकदार पत्नी नै हुन्छ।
व्यावहारिक रुपमा आफन्त बुबाआमा, दाजुभाइले क्षतिपूर्ति माग्न सक्छन् तर, सबैभन्दा नजिकको हकदार पत्नी नै हुने भएकाले कम्पनीले दिने आर्थिक सहायतामा अन्य व्यक्तिले दाबी गर्न नमिल्ने वैदेशिक रोजगार विज्ञ सोम लुइटेलले बताए।
यस्तो क्षतिपूर्ति हाल जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएको छ जसलाई पालिकाबाट प्राप्त गर्ने सुविधा दिनुपर्ने उनको भनाइ थियो।
कतिले पाए आर्थिक सहायता ?
पछिल्लो समय वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको संख्या बढेको छ।
वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार आव ०७७/७८ मा १ हजार २ सय ४३ जनाले विदेशमा रोजगारीका क्रममा ज्यान गुमाएका थिए।
विदेशमा ज्यान गुमाएकामध्ये ६ सय ६५ मृतक र घाइतेका परिवारले क्षतिपूर्ति पाएको कन्सुलर विभागले जनाएको छ।
यसबापत ८२ करोड ८९ लाख रूपैयाँ आएको थियो। तर, यसरी आउने क्षतिपूर्ति रकमको यकिन हुँदैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।