पेटीमा सुत्‍ने भन्छन् : 'खाना र नाना पाए अलिक धेरै बाँचिन्थ्यो'

|

काठमाडौं : गोकर्णेश्वर महादेव मन्दिर अगाडि एउटा सत्तल  छ। त्यही सत्तल पेटीमा पाँच जना बस्थे। उनीहरू त्यही सडकमा खाना पकाउँथे, खान्थे। तर, त्यसैमध्येका एक वृद्धा मंगलबारबाट बिरामी भइन्।

उनी केही बोल्न र हलचल नै गर्न नसकेपछि ती वृद्धालाई स्थानीयले एम्बुलेन्समार्फत वीर अस्पताल लगे। तर, अस्पतालले उनलाई भर्ना गरेर उपचार नगर्ने बतायो।  त्यसपछि उनलाई फेरि त्यही सत्तल पेटीमै ल्याएर राखियो। तर,बुधबार ती वृद्धाको मृत्यु भयो।

प्रहरी प्रभाग गोकर्णका अनुसार अन्दाजी ६० वर्षीय ती मृतक महिलाको पहिचान भने अझै खुलेको छैन। चिसोले कठ्यांग्रिएकै कारण र लामो समयदेखि भोकै बस्नुपरेकाले उनको मृत्यु भएको प्रहरी बताउँछ। अहिले उनको शव टिचिङ अस्पतालमा राखिएको छ।

सत्तल नजिकैका स्थानीय बिजेश श्रेष्ठका अनुसार ती पाँचजना त्यहाँ बस्दै आएको करिब दुई महिना भएको थियो। उनले पनि चिसोकै कारण ती वृद्धा आमाको मृत्यु भएको बताए।

‘उहाँ आमामा जन्डिस पनि देखिएको थियो रे,तर पैसा नभएका कारणले होला वीर अस्पतालले राखेर उपचार गर्न मानेन, चिसोले झनै समस्या बनायो,अस्पतालले उपचार गराएको भए सायद बच्नुहुथ्यो होला,’उनले भने।

देशका विभिन्न ठाउँमा घटना 

बझाङमा गत बिहीबार २ जना पुरुष मृत अवस्थामा फेला परे। छबिसपाथीभेरा गाउँपालिका–७ बुड्खोरीका ४३ वर्षीय जंग धामी घरनजिकै नौपाते भन्ने ठाउँमा र अर्का सुर्मा गाउँपालिका – १ दौलीचौरका ४४ वर्षीय किट्टु बोहरा पदाली भन्ने ठाउँमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले धामी र बोहरा दुवैजनाको चिसोले कठ्यांग्रीएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको बताए।

त्यस्तै, जुम्लाको चन्दननाथ नगरपालिका–१ कुलालवाडास्थित एउटा ओडारमा  ४६ वर्षीय चेते कुलाल बस्दै आएका थिए। १५ वर्षदेखि ओडारमा बस्दै आए पनि उनको समयमा उद्धार हुन नसक्दा जुम्लाको अत्यधिक चिसोले उनको ज्यानै लियो। ​

उनी सोमबार राति मृत अवस्थामा भेटिए। उनको पनि चिसोकै कारण मृत्यु भएको बताइए पनि टाउकोमा चोट देखिएकाले रहस्यमय ढंगले मृत्यु भएको स्थानीय रवीन कुलालको भनाइ छ। 

                                                                        गोकर्णको सत्तलमा सुतिरहेका एक पुरुष

सडकमै मर्नुपर्ने कस्तो विडम्बना?

गत मंगलबार रातिबाट परेको वर्षा बुधबार दिनभरि देशैभर नै पर्‍याे। अहिले पनि विभिन्न जिल्लामा हिमपात भइरहेको छ। त्यसो त काठमाडौं उपत्यकासहित देशभर अत्यधिक चिसो बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको शुक्रबार बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको जनाएको छ। 

चिसोका कारण जो कोहीको जनजीवन प्रभावित भइरहेका बेला चिसो सडकमा सुत्नेहरूको कथा-व्‍यथा बेग्लै छ। न उनीहरूमा ओढ्ने लुगा छ न खाना नै पाएका छन्। तर,सरकारले ध्यान कहिल्यै यतातिर परेन।

गोकर्णका स्थानीय श्रेष्ठ भन्छन्,‘हामी त कतिखेर घर गएर तातो लुगामा सुतौँ जस्तो लाग्छ,झनै सडकमा बसेकाहरू कसरी यस्तो चिसोमा रात कटाउँछन् होला?,चिसोकै कारणले देशकै नागरिक मरेको देखियो,कस्तो विडम्बना !,सबै नागरिक बाँच्ने यहाँ वातावरण छैन।’ हुम्लाका स्थानीय कुलालले पनि मृतक चेतेको लागि सुरक्षित आवास पाएको भए अहिले उनी सुरक्षित रहने बताउँछन्।

यसअघिका चिसो महिनामा पनि यसैगरी चिसोका कारण कठ्यांग्रिएर फुटपाथमा बसेकाहरूको मृत्यु हुने गरेको छ। २०७५ पुस २६ गते क्षेत्रपाटीको फुटपाथबाट प्रहरीले गम्भीर अवस्थामा लक्ष्मी लामाको उद्धार गरी उपचारका लागि थापाथलीस्थित प्रसूतिगृहमा पुर्‍याएकाे थियो। तर, उपचारको क्रममा उनको मृत्यु भयो। चिसोकै कारणले उनको मृत्यु भएको चिकित्सक बताएका थिए। 

खाना-नाना केही छैन, रातमा निद्रा पर्दैन

गोकर्णको सत्तलमा वृद्धा आमाको मृत्यु भएपनि अझै दुई जना त्यही बसिरहेका छन्। चिसो बढ्दै गएकाले उनीहरू रातमा निदाउनै सक्दैनन्। ‘जाडो छ,एउटा पातलो ब्ल्याङ्केट छ,तातै हुन्न,रात कटाउनै गाह्रो छ,’अर्जुन नाम मात्रै बताउने ती पुरुषले यति मात्रै भन्न सके। 

सोही ठाउँका स्थानीय श्रेष्ठले एक बच्चाकी आमालाई भने उद्धार गरी जागिर दिलाएको बताए। उनले भने,‘यहाँ बस्नेहरू सबै राम्रा थिए,चामल माग्न आउँदा दिन्थे,तर आमा भने रहिनन्,अहिले दुई जना यहीँ बस्छन्,दिउँसो कहाँ जान्छन्,थाहा छैन,साँझ परेपछि यहीँ आएर सुत्छन्।’

उपत्यकामा अझै ५० बढी सडक आश्रित

उपत्यकाका सडकमा देखिएकाहरू अधिकांश मागेर दैनिक गुजारा चलाउँछन्। कोही दिनभरी फोहोर प्लास्टिक टिपेर भोको पेट भर्न दु:ख गर्छन्। जब साँझ पर्छ शहरवासी आ-आफ्नो घर कोठा फर्किन्छन्।

                                                                                         मृतक वृद्धा महिलाले सुत्ने गरेको ठाउँ

रातको ८,९ बज्छ, तब होटल,पसलको सटर बन्द हुन्छ र त्यही सटर अगाडि सुत्छन् उनीहरू। मानव सेवा आश्रम समितिका संस्थापक अध्यक्ष रामजी अधिकारी काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाभित्र वास्तविक सहराविहीन बालबालिका,वृद्धवृद्धा गरी ६० भन्दा बढी छन् भने काठमाडौंभित्र मात्रै कुलतमा फसेर सडकमा आएका २ सय बढी व्यक्ति रहेको अनुमान गर्छन्।

किन आउँछन् सडकमा?

समितिका अध्यक्ष अधिकारीका अनुसार ती व्यक्तिहरु सडकपेटीमा आउनुको कारण छ। उनी भन्छन्,‘चरम गरिबी, मानिसमा आएको चरित्र अर्थात् मानसिक समस्या,शारिरीक कमजोरी,स्वच्छन्द जीवनयापन गर्न चाहने कारणमा सडकमा मानिसहरु आएको पाएका छौँ।’

उनका अनुसार पछिल्लो समय मानिसमा स्वार्थ बढेको छ। स्वार्थसँगै घरपरिवारमा फरक फरक सोचका हुन्छन्। कतिपय वृद्धवृद्धाहरू हुँदै जाँदा उनीहरूलाई स्याहार्नुपर्ने हुँदा ती आमा बुबालाई आश्रममा लाने गर्छन् त कतिपयले माया ममता नभएका कारण उनीहरू छोराछोरीबाट अलगिन्छन् र सडकमा आउँछन्। त्यसैले उनीहरूलाई जाडो महिनामा समस्या पर्छ।

सहारा दिने सरकारको आशा निराशामा बदलियाे

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ वैशाखमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा भनेका थिए,‘सडकमा बाध्यतावश मागेर हिँडेको मान्छे देखे तुरुन्त फोन गर्नुस्। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ।’ 

उनै ओलीले २०७६ कात्तिक ४ गते सोमबार नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दै भने,‘अब सडकमा कोही पनि सुतेको, जिङ्ग्रिङ्ग भएर बसेको देख्नुपर्दैन। सडकमा मान्छे हुनै सक्दैन। हरेकको व्यवस्था गरेर आवास दिइन्छ। अब नो स्ट्रिट पिपुल।’

उनले अरू सार्वजनिक कार्यक्रमहरुमा पनि हिजो झैँ आज न सडक बालबालिका छन्, न सहयोगापेक्षी मानव छन्, न भिख मागुवाहरू छन्, भनेका थिए। 
उनका कुरालाई आधार मान्ने हो भने अहिले सडकमा छैनन् सडक आश्रित व्यक्ति।

तर, पशुपति,बौद्ध,जोरपाटीलगायत क्षेत्रमा कोही मागिरहेका त कोही सडक पेटीमा खाना र नानाबिनाका व्यक्ति भेटिन्छन्। त्यति मात्र होइन चिसोले कठ्यांग्रिएर मर्छन् नागरिक तर अहिलेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले पनि केही उद्धार गरेको पाइन्न।

काठमाडौं महानगरपालिकाले  ‘भोकै कोही पर्दैन,भोकले कोही मर्दैन’ भन्ने नारा ल्याएर सडक आश्रित मानव उद्धार कार्य गर्ने भनी नीति ल्याए पनि प्रभावकारी छैन। सरकारको मात्र नभई सामाजिक अभियन्ता ठान्नेहरू समेत हराएका छन्। कोभिड-१९ महामारीको बेला ती अभियन्तामा ठान्नेहरू निःशुल्क खाना बाँडेका थिए।

खाना वितरण गरेको भिडियो तथा फोटो सामाजिक सञ्जालमा हाल्ने गर्थे। तर,यो जाडो मौसममा लुगा वितरण गर्नेलगायत सेवा गरेको देखिँदैन।

‘निरन्तर उद्धार जारी राखेका छौँ’

काठमाडौं,ललितपुर महानगरपालिका र नागार्जुन नगरपालिकालगायत स्थानीय तहले सडक आश्रित व्यक्तिको उद्धार गर्न सेवा आश्रमसँग सहकार्य गरेको छ।
सेवा आश्रम समितिका अध्यक्ष अधिकारीले निरन्तर सडक आश्रित व्यक्तिहरूको उद्धार गरेको बताए।

उनले भने,‘७ वटै प्रदेशको १७ जिल्लामा सेवा केन्द्र विस्तार गरेका छौँ,सामर्थ्यले भ्याएसम्म उद्धार भइरहेको छ।’ उनले १५ गतेबाट सडक आश्रित व्यक्तिको उद्धारकै लागि ‘महाकाली मेची यात्रा अभियान’ सुरुवात गरेको बताए। सुर्खेतबाट सुरु भएको यो अभियान १५ दिनसम्म चल्नेछ।

उनले समिति स्थापनादेखि हालसम्म देशभरका ६ हजार बढीको उद्धार गरेको बताए।  ‘स्थानीय तह र प्रहरीसँगको सहकार्यमा उद्धार गर्ने गरेका छौँ,हामी  जानकारी पाउनेबित्तिकै उद्धार गछौँ,आवश्यक खाना,लुगाको व्यवस्था गर्छौं,’उनले भने। उनले उपत्यकाभित्र मात्रै प्रत्येक दिन १० जना सडक आश्रितको उद्धार गर्ने गरेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.